Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसामाजिक सुरक्षा कोषमा करिब ३१ अर्ब

सामाजिक सुरक्षा कोषमा करिब ३१ अर्ब


काठमाडौं । सामाजिक सुरक्षा कोषमा करिब ३१ अर्ब रुपैयाँ योगदान रकम संकलन भएको छ । कोषमा सूचीकृत हुने योगदानकर्ताको संख्यामा वृद्धि भएपछि चालू आर्थिक वर्षको चैत पहिलो सातासम्म ३० अर्ब ८७ करोड रुपैयाँ योगदान रकम संकलन भएको कोषले जानकारी दिएको छ ।

चैतको पहिलो सातासम्म तीन लाख ९९ हजार पाँच सय ६६ जना योगदानकर्ताहरु कोषमा सूचीकृत भएको प्रवक्ता विवेक पन्थीले आर्थिक दैनिकलाई जानकारी दिए । कोषमा योगदानकर्ताको आकर्षण बढेको कारण रकम र योगदानकर्ता दुवैमा वृद्धि भएको उनले बताए । ‘पछिल्लो समय कोषले विभिन्न सुविधा प्रदान गरेको छ’, उनले भने, ‘औपचारिक र अनौपचारिक तथा स्वदेश र विदेशमा रहेका दुवैलाई कोषमा आबद्ध गराउने रणनीतिका कारण पनि कोष सफल हुँदै गएको हो ।’

समीक्षा अवधिका कोषमा सूचीकृत हुने रोजगारदाताको संख्या १७ हजार सात सय ३७ जना छन् । कोषले स्थापनाकालदेखि सामाजिक सुरक्षा करको व्यवस्थापन गर्दै आएकोमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ जारी भएपछि सो ऐनबमोजिम कार्य गर्दै आएको छ ।

सोही ऐनको दफा १० मा औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजना, अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, बेरोजगार सहायता योजनाका अतिरिक्त कोषले तोकेका अन्य सामाजिक सुरक्षा योजना सञ्चालन गर्नेछ भनी कोषले सञ्चालन गर्नसक्ने सामाजिक सुरक्षा योजनाहरूको दायरा किटान गरिएको हुँदा सोहीअनुरुप काम गर्दै समेत आएको छ । सोही क्रममा कोषले समीक्षा अवधिमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत ४४ करोड ९७ लाख रुपैयाँ, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत पाँच करोड ५२ लाख रुपैयाँ, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत छ करोड ७५ लाख रुपैयाँ र अवकाश दाबी रकम तीन अर्ब २४ करोड २५ लाख रुपैयाँ दाबी भुक्तानीको लागि प्रक्रिया अघि बढाएको छ । समीक्षा अवधिमा तीन अर्ब ८१ करोड ४९ लाख रुपैयाँ कुल दाबी भुक्तानी परेको कोषले जनाएको छ । दाबी गरिएको रकम प्रक्रिया बुझेर सहज ढंगले भुक्तानी गर्ने कोषले जनाएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअनुसार मासिक पारिश्रमिक भुक्तानी गर्दा आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकममध्ये रोजगारदाताको तर्फबाट २० प्रतिशत र श्रमिकको तर्फबाट ११ प्रतिशत योगदान गर्नुपर्ने व्यवस्था छ ।

समीक्षा अवधिमा तीन लाख ९९ हजार पाँच सय ६६ जना योगदानकर्ताहरु कोषमा आबद्ध भए भने अघिल्ला आर्थिक वर्षमा सो संख्या क्रमशः आर्थिक वर्ष २०७५/०७६ मा २४ हजार तीन सय ३० जना, आर्थिक वर्ष २०७६/०७७ मा एक लाख ३२ हजार सात सय २२ जना, आर्थिक वर्ष २०७७/०७८ मा ३६ हजार २० जना र आर्थिक वर्ष २०७८/०७९ मा एक लाख २७ हजार एक हजार १६ जना योगदानकर्ता सूचीकृत भएका थिए । कोषले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउन रोजगारदाता तथा श्रमिकको सूचीकरण गर्ने, योगदान रकम संकलन गर्ने, कोषमा जम्मा भएको रकम परिचालन गर्ने, सुविधा योजनाहरूको दाबी भुक्तानी व्यवस्थापन गर्ने, कोषमा आबद्ध स्वास्थ्य संस्थाहरूको सञ्जाल विस्तार गरी गुणस्तरीय र प्रभावकारी स्वास्थ्य उपचार पद्धतिमा पहुँच स्थापित गर्नेजस्ता कार्यहरू गर्दै आएको छ ।

कोषले गर्ने कार्यसम्पादनलाई प्रविधिमैत्री बनाई छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाहमा जोड दिने समेत बताएको छ । बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरणका लागि ३९८ स्थानीयतहले बैंकसँग सम्झौता गरी बैंक खातामा भुक्तानी समेत गर्दै आएको पाइन्छ । त्यस्तै सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन सामाजिक सुरक्षा सूचना प्रणाली सफ्टवयेर तयार गरी कार्यान्वयनमा ल्याइएको छ । प्रविधिमैत्री हुने क्रममा चालू आर्थिक वर्षको पहिलो महिनादेखि कोषमा ३६ महिना नियमित योगदान गरेका योगदानकर्तालाई अनलाइन विधिबाट सेवा प्रदान गर्ने तयारी गरेको थियो ।

कोषले पछिल्लो समय भने ‘योगदानकर्ता सापटी निर्देशिका २०७९’ स्वीकृत गरी रकम सापटी लिनसक्ने सुविधा प्रदान गरेको थियो । सो निर्देशिकाअनुरुप योगदानकर्ताहरुले योगदानकर्ता घर र शैक्षिक सापटी’को व्यवस्था गरिएको थियो । ‘योगदानकर्ता घर सापटी’अन्तर्गत नयाँ घर निर्माण, आफ्नो स्वामित्वमा रहेको घरको तला थप्न, मर्मत गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न र घर खरिद गर्ने कार्यमा कोषले सापटी दिने व्यवस्था गरेको छ ।

शैक्षिक सापटीअन्तर्गत भने कोषमा कम्तीमा ३६ महिना योगदान रकम जम्मा गरेका र उमेर वा सेवा अवधिको आधारमा अनिवार्य अवकाश हुन कम्तीमा दुई वर्ष बाँकी रहेका योगदानकर्ताको हकमा शैक्षिक सापटीको व्यवस्था गरिएको छ । सुविधा दिने क्रममा कोषले योगदान रकममा आठ प्रतिशत ब्याज दिने समेत थालेको छ । कोषमा संकलन भएको रकमलाई सुरक्षित लगानी गरी प्रतिफल निकाल्नेमा विश्वस्त रहेको भन्दै ब्याजदर तोकिएको कोषका अधिकारीहरुले बताएका छन् । कोषबाट चालू आर्थिक वर्षको लागि योगदान रकममा आठ प्रतिशत ब्याजदर स्वीकृत गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया