Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकञ्चनपरका सबै नाका बन्द

कञ्चनपरका सबै नाका बन्द


धनबहादुर जप्रेल
कञ्चनपुर, चैत १०
विश्वभरमा माहामारीका रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमण जोखिम बढ्नसक्ने संकेत देखिएको भन्दै कञ्चनपुर सबै नाका बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय कन्चनपूरले खुल्ला रहेको गड्डाचौकी नाका पनि बन्द गर्ने निर्णय गरेको हो । आइतबार प्रशासन कार्यालयमा बसेको बैठकले नाका बन्द गर्नुका साथै आइतबार रातिबाट नै जिल्लालाई ‘लकडाउन’ समेत गरेको छ ।

आइतबार रातिदेखि अनिश्चितकालका लागि लकडाउन गर्ने निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए । दैनिक उपभोगका सामान खाद्य, दूध, औषधि, पानी, पेट्रोल पदार्थ र उद्धार तथा राहतको कार्यमा संलग्न यातायातबाहेक अरु सबै प्रकारका पसल, व्यवसाय, उद्योग कलकारखाना आइतबार रातिदेखि बन्द हुनेछन् । जिल्ला प्रशासनले आमनागरिकलाई घरबाहिर ननिस्किन आग्रह गरेको छ ।

सूचनाको अवज्ञा गर्दै घरबाहिर निस्किएको पाइएमा सुरक्षाकर्मी तथा अधिकारप्राप्त निकायले आवश्यक जाँचबुझ गरी कानुनबमोजिम कारबाही समेत गरिने प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए । बैठकले गड्डाचौकी नाकाबाट भित्रिएका सबै यात्रुहरुको विवरण संकलन गरी सो विवरणलाई कम्प्युटर प्रणालीमा प्रविष्ट गराई इन्टरनेट वेबसाइटमा राख्ने समेत निर्णय गरेको छ ।

१६ दिनमा ६३ हजार यात्रु भित्रिए : यस्तै पश्चिमी नाका गड्डाचौकीबाट गत फागुन २३ गतेदेखि हालसम्म जम्मा ६३ हजार २ सय ८८ जना नेपाली भारतबाट नेपाल भित्रिएका छन् । भीमदत्त नगरपालिकाकाद्वारा सञ्चालित हेल्थडेस्कले गत फागुन २३ गतेदेखि कार्य थालेको छ । शनिबार एकै दिन १७ हजारभन्दा बढी नेपाली भित्रिएका थिए ।

वेदकोट नगरमा आइसोलेसन केन्द्र स्थापना : कोरोना संक्रमणको शंका लागेका बिरामीको चेकजाँचका लागि कञ्चनपुरको वेदकोट नगरपालिकाले आइसोलेसन केन्द्र स्थापना गरेको छ । नगरपालिकाले आइतबारबाट आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको हो । वेदकोट नगरपालिका नगर प्रमुख अशोक कुमार चन्दले पछिल्लो समयमा महामारीको व्यापक रुप लिइरहेको कोरोना भाइरस संक्रमितका लागि आइसोलेसन केन्द्र निर्माण गरिएको बताए । उनका अनुसार नगरपालिकाले हाल ६ बेडको आइसोलेसन केन्द्र स्थापना गरिएको छ ।

यसैगरी वेदकोट नगर कार्यपालिकाको बैठकले हालका लागि ३ स्थानमा क्वारेन्टाइन स्थापना गर्ने र पछि सबै वडामा स्थापना गर्ने तथा ज्वरो, रुघाखोकीका बिरामीलाई तुरुन्त उपचारका लागि अस्पताल पठाउने व्यवस्था मिलाई स्वयंसेवक परिचालन गर्न स्वास्थकर्मीबाट तालिमको व्यवस्था गर्ने निर्णय गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया