Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचाँदी आयातमा मनलागी

चाँदी आयातमा मनलागी


काठमाडौं । नेपाल राष्ट्र बैंकको कारण अब चाँदी आयात निर्बाध रुपमा हुने भएको छ । राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७८ मा संशोधन/परिमार्जन/थप गरेर त्यस्तो व्यवस्था गरेको हो । विदेशी विनिमय कारोबार गर्ने अनुुमतिप्राप्त सबै निकायहरुको नाउँमा परिपत्र जारी गर्दै राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७८ मा संशोधन/परिमार्जन/थप गरी चाँदी आयातमा सहजता दिएको हो ।

संशोधित व्यवस्थाअनुसार वाणिज्य बैंकहरुको लागि चाँदी आयातको लागि प्रतिपटक ६० हजार अमेरिकी डलरसम्मको सटही सुविधा तोकिएको छ । चाँदी आयातमा भुक्तानीको सीमाअन्तर्गत राष्ट्र बैंकले चाँदी आयात गर्दा प्रतिपटक अमेरिकी डलर ६० हजार वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था गरेको हो ।

चाँदीको गरगहना, कलात्मक वस्तु आदि निकासी गर्ने चाँदी व्यवसायीलाई निकासी आदेश पुष्टि हुने अग्रिम भुक्तानी वा प्रतीतपत्र वा विदेशबाट खरिद आदेश, कागजातमा उल्लिखित मूल्यसम्मको चाँदी आयातको लागि सटही सुविधा प्रदान गर्न सकिने परिपत्रमा उल्लेख छ । यसको लागि भने प्रतिपटक अमेरिकी डलर ६० हजारको सटही सीमा लागू नहुने परिपत्रमा भनिएको छ । यसअघि भने चाँदी आयातमा भुक्तानीको सीमा प्रतिपटक अमेरिकी डलर ३५ हजार वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्मको सीमा निर्धारण गरिएको थियो ।

सटही सुविधा दिने सम्बन्धित वाणिज्य बैंकले प्रत्येक पटक सटही सुविधा प्रदान गर्दा सो पूर्व सटही सुविधा प्रदान भएको भए सो अन्तर्गत चाँदी आयात भई तोकिएबमोजिम निर्यात भए/नभएको एकीन गर्नुपर्नेछ । सम्बन्धित वाणिज्य बैंकबाहेक अन्य वाणिज्य बैंकबाट चाँदी आयातको सटही सुविधा लिई निर्यातको भुक्तानी लिन बक्यौता नरहेको सम्बन्धी स्वघोषणा चाँदी व्यवसायीसँग लिनुपर्नेछ । सुनचाँदीको कारोबारमा संलग्न स–साना व्यवसायीले गरगहना, हस्तकलालगायतका सामान बनाउन आफूलाई आवश्यक पर्ने चाँदी बैंकहरूबाट मासिक एक किलोग्रामसम्म खरिद गर्न सक्नेछन् ।

वाणिज्य बैंकहरूले यसरी व्यवसायीलाई चाँदी बिक्री गर्दा सम्बन्धित सुनचाँदी व्यवसायीको व्यवसाय दर्ता प्रमाणपत्र, कर दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र लिई बैंक खातामार्फत कारोबार गर्नुपर्नेछ । साथै, बैंकले यसरी चाँदी बिक्री गर्दा व्यवसायीबाट खरिद गरिएको चाँदी गरगहना तथा हस्तकला लगायतका अन्य सरसामान बनाई बिक्री गर्न वा त्यस्ता सामान बनाई निर्यात गर्नबाहेक अन्य प्रयोजनको लागि प्रयोग वा बिक्री गर्नेछैन भन्ने स्वघोषणा समेत लिनुपर्नेछ । तर, निर्यात गर्ने चाँदी व्यवसायीलाई चाँदी बिक्री गर्दा उक्त मासिक एक किलोग्रामको सीमा लागू नहुने परिपत्रमा भनिएको छ ।

यसैगरी राष्ट्र बैंकले सम्बन्धित बैंक/वित्तीय संस्थाले नगद विदेशी मुद्रा/ड्राफ्ट/टी.टी. जारी हुँंदाकै बखत आयातकर्ताबाट माग भएको सटही रकमको १० प्रतिशत (उद्योगको हकमा दुई प्रतिशत) बराबरको रकम धरौटीको रूपमा अनिवार्यरूपमा लिनुपर्ने व्यवस्था पनि कार्यान्वयनमा ल्याएको छ । भन्सार महशुल प्रयोजनका लागि सो धरौटी रकमबराबरको चेक जारी गर्ने र चेकको पछाडि विवरण लेख्ने व्यवस्था गरेको छ । तर, विद्युतीय भुक्तानी प्रणाली लागू भई विद्युतीय माध्यमबाट मात्र भन्सार राजस्व लिने व्यवस्था भएका भन्सार कार्यालयहरुमार्फत हुने आयातको हकमा चेक जारी गर्न पाइनेछैन । उल्लिखित धरौटी रकम भने लिनुपर्ने परिपत्रमा उल्लेख छ । राष्ट्र बैंकका अनुसार कच्चा ऊन आयातको लागि जारी हुने प्रतीतपत्र तथा ड्राफ्ट/टी.टी. र कलेक्सनमा समेत दुई प्रतिशत (व्यापारिक प्रयोजनको हकमा १० प्रतिशत) भन्सार धरौटी लिनुपर्नेछ । यसअघि भने कच्चा ऊन आयातको लागि जारी हुने प्रतीतपत्र तथा ड्राफ्ट/टी.टी. र कलेक्सनमा समेत दुई प्रतिशत भन्सार धरौटी लिनुपर्ने व्यवस्था थियो ।

सार्वजनिक खरिद कानुन लागू हुने सार्वजनिक निकायहरूले आफूलाई आवश्यक पर्ने वस्तु, सेवा, निर्माण, परामर्श आदि खरिद ग्लोवल टेण्डरमार्फत भारतबाट आयात गर्दा प्रचलित व्यवस्थाहरूअन्तर्गत रही परिवत्र्य विदेशी मुद्रामा समेत भुक्तानी गर्न सकिने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ । यो व्यवस्थाअन्तर्गत एउटा बेनिफिसरीले भुक्तानी पाउने गरी एउटै एप्लिकेन्टद्वारा अमेरिकी डलर ३५ हजार वा सो बराबरको परिवत्र्य विदेशी मुद्राभन्दा बढी हुने गरी यस्तो सुविधा प्रदान गर्न पाइनेछैन । सामान एकमुष्ट शिपमेन्ट हुने प्रतिबद्धता प्राप्त भएमा एउटै बेनिफिसरीलाई एकै पटक वा पटक–पटक गरी अमेरिकी डलर ३५ हजारसम्म भुक्तानी दिन सकिने परिपत्रमा उल्लेख छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया