Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपर्यटन उधोगश्रम१९ हजार गैरनेपाली नागरिकले लिए श्रम इजाजत

१९ हजार गैरनेपाली नागरिकले लिए श्रम इजाजत


काठमाडौं । नेपालमा काम गर्नका लागि हालसम्म १९ हजार बढी गैरनेपाली नागरिकले श्रम इजाजत लिएका छन् । जसमा पुरुष १६ हजार सात सय ४१ जना र महिला दुई हजार तीन सय १० जना छन् । नेपाल श्रम गन्तव्य मुलुक नभए पनि विभिन्न मुलुकबाट नेपालमा काम गर्न आउनेको संख्या ठूलो रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ ।

खासगरी ठूला र विदेशी लगानीका आयोजनाका लागि आवश्यक प्राविधिक जनशक्ति विदेशबाट ल्याइने भएकाले नेपालमा श्रम गर्न आउने गैरनेपाली नागरिकको संख्यामा वृद्धि भएको विभागका प्रवक्ता इन्जिनियर मणिनाथ गोपले बताए । श्रम ऐन, २०४८ मा दक्ष गैरनेपाली नागरिक मात्र काम गर्नका लागि नेपाल आउन पाउने व्यवस्था छ । सोही व्यवस्थाअनुरुप नै गैरनेपाली नागरिकहरुलाई विभागले श्रम स्वीकृति दिने गरेको छ ।

यसैबीच पछिल्ला वर्षहरुमा पनि गैरनेपाली नागरिक वा दक्ष विदेशी श्रमिकहरु नेपाल आउने क्रमले निरन्तरता पाएको देखिन्छ । विभागका अनुसार पछिल्लो छ वर्ष (सन् २०१७ देखि २०२३ सम्म )मा मात्र १० हजार पाँच सय ७६ जना दक्ष विदेशी श्रमिक नेपाल आएका छन् । सो संख्या नयाँ श्रम स्वीकृति लिने र श्रम स्वीकृति नवीकरण गर्नेको हो । विभागको तथ्यांकलाई हेर्दा श्रम स्वीकृति नवीकरण गर्नेभन्दा नयाँ श्रम स्वीकृति लिई नेपाल आउने विदेशी दक्ष कामदारको संख्या बढी छ ।

छ हजार एक सय आठ जना पुरुष र छ सय ६७ जना महिला गरी कुल छ हजार सात सय ७५ जना नयाँ श्रम स्वीकृति र तीन हजार दुई सय ६९ जना पुरुष र पाँच सय ३२ जना महिला गरी कुल तीन हजार आठ सय एक जना श्रम स्वीकृति नवीकरण गरी नेपालमा कार्यरत भएको पाइन्छ ।

उनीहरु अनिवार्य श्रम स्वीकृति नवीकरण तथा नयाँ श्रम स्वीकृति लिई नेपालमा काम गरेर बसेका हुन् । अर्कोतर्फ बाध्यकारी व्यवस्थाका कारण दक्ष विदेशी कामदार मात्र नेपाल आएको विभागले जनाएको छ । श्रम ऐन २०४८ (संशोधन २०५४) ले दक्ष गैरनेपाली नागरिकलाई श्रम इजाजत दिने व्यवस्था गरेको छ । श्रम ऐन, २०४८ को दफा ४ (क) मा कुनै दक्ष प्राविधिक पदका लागि नेपाली नागरिक उपलब्ध नभएमा व्यवस्थापकले सो कुराको प्रमाणसहित गैरनेपाली नागरिक नियुक्ति गर्ने स्वीकृतिको लागि श्रम विभागमा निवेदन दिन सक्ने व्यवस्था छ ।

दक्ष प्राविधिक पदको लागि नेपाली नागरिक उपलब्ध नहुने देखिएमा श्रम विभागले श्रम कार्यालयको सिफारिसमा एक पटकमा दुई वर्षमा नबढाई बढीमा पाँच वर्षसम्म र विशिष्ट प्रकारका दक्ष प्राविधिक पदमा बढीमा सात वर्षसम्म गैरनेपाली नागरिकलाई काममा लगाउन स्वीकृति दिन सक्नेछ । गैरनेपाली नागरिकलाई काममा लगाउने व्यस्थापकले नेपाली नागरिकलाई नै दक्ष बनाई क्रमशः प्रतिस्थापन गर्ने व्यवस्था गर्नुपर्दछ । जसले गर्दा उनीहरु दक्ष हुनुको साथै नेपाली नागरिकलाई आफ्नो दक्षता समेत प्रदान गर्नुपर्नेछ ।

यसका साथै मुलुकमा सञ्चालन भएका विभिन्न परियोजनाका लागि स्वदेशमा दक्ष जनशक्ति नपाएपछि ती परियोजनाहरुले विदेशी मुलुकबाट दक्ष श्रमिक ल्याएको प्रवक्ता गोपले बताए । ‘परियोजनाले आफ्नो आवश्यकताअनुरुप विश्वबजारमा दक्ष जनशक्तिको लागि विज्ञापन गर्दछ’, उनले भने, ‘रुचि हुनले नेपाल आउन चाहन्छन् र श्रम स्वीकृति लिई काम गर्छन्, विशेष गरी जलविद्युत्, नागरिक उड्डयन, स्वास्थ्यलगायतका क्षेत्रका लागि आवश्यक जनशक्तिको विज्ञापन गर्ने गरेको पाइन्छ ।’

यस्तै पाँच दर्जनभन्दा बढी मुलुकबाट गैरनेपाली नागरिक नेपाल आउने गरेका छन् । विशेष गरी सीमा जोडिएका चीन र भारतपछि विकसित मुलुकका दक्ष श्रमिकहरु समेत नेपाल आउन रुचि देखाउँछन् । विभागले उपलब्ध गराएको तथ्यांकअनुरुप नेपालमा चीन–भारत, जापानदेखि जर्मनी, अमेरिका, केन्यालगायत करिब अधिकांश महादेशबाट काम गर्नका लागि विदेशी श्रमिक आउने गरेका छन् । छ वर्षको अवधिमा सबैभन्दा धेरै संख्यामा चिनियाँ र बेलायती श्रमिक आएको देखिन्छ । सो अवधिमा सात हजार पाँच सय छ जना चिनियाँ, चार सय ८८ जना बेलायती, तीन सय ३१ जना अमेरिकी, दुई सय २९ जना भारतीय, दुई सय ३६ जना दक्षिण कोरियाली, एक सय ९० जना जापानी, एक सय १६ जना अस्ट्रेलियाली, ९८ जना जर्मन, ८२ जना इटालेली, ७९ जना फ्रान्सेली, एक सय १२ जना श्रीलंकाली, ७९ जना फिलिपिनी र ३८ जना स्पेनी दक्ष कामदार यहाँ कार्यरत छन् । यसबाहेक नाइजेरियाली ४७ जना, भेनेजुएलेली सात जना तथा युगान्डाबाट तीन र सर्बियाबाट दुई जना दक्ष कामदार नेपालमा कार्यरत छन् ।

चिनियाँ सहयोगको परियोजना सञ्चालन भएको हुँदा चिनियाँ नागरिकको संख्या बढी भएको बताइएको छ । बेलायती, अमेरिकी र भारतीय नागरिक भने लामो समयदेखि यहाँ कार्यरत हुँदा श्रम स्वीकृति नवीकरण गरी कार्यरत भई बसेको पाइन्छ । विदेशी श्रमिकको संख्या बढ्दा यसको आपूर्तिकर्ता समेत बढ्दै गएको विभागले जनाएको छ । विभागका अनुसार हालसम्म दुई सय तीनवटा आपूर्तिकर्ता संस्था छन् । जसमा २० वटा नयाँ र एक सय ८३ वटा पुराना (नवीकरण भएका) संस्थाहरु हुन् । ती संस्थाहरुले विदेशी श्रमिक ल्याउनका लागि सहजीकरणका साथै श्रम स्वीकृति, टिकट व्यवस्थापनलगायतका काम गर्दै आएका छन् । मुलुकको उद्योग, प्रतिष्ठान, व्यापारलगायतका क्षेत्रको उत्पादकत्व अभिवृद्धि गर्न सहयोग पु¥याउने उद्देश्यले विदेशी श्रमिकलाई श्रम स्वीकृति दिइँदै आएको छ ।


क्याटेगोरी : समाचार, श्रम
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया