Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचर्को ब्याजदरका कारण समग्र अर्थतन्त्र नै जोखिममा

चर्को ब्याजदरका कारण समग्र अर्थतन्त्र नै जोखिममा


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चर्को ब्याजदरका कारण समग्र अर्थतन्त्र नै जोखिममा परेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूसँग काठमाडौंको जमलस्थित चेम्बर भवनमा भएको भेटवार्ताका क्रममा अध्यक्ष मल्लले बैंकको चर्को ब्याजदरबाट उत्पन्न समस्यालाई तत्काल सम्बोधन गर्न पुनः आग्रह समेत गरेका छन् ।

अध्यक्ष मल्लले पछिल्लो समय उच्च ब्याजदरले उद्योगी व्यवसायी एवं समग्र ऋणीहरू निकै मर्कामा परेको बताए । ‘ऋण लिएर व्यवसायमा लगानी गर्नसक्ने अवस्था छैन । यसअघि ऋण लिएकाहरूले समेत साँवा ब्याज भुक्तानी गर्नसक्ने अवस्था छैन । यसले समग्र व्यवसायलाई नै जोखिमतर्फ धकेलिरहेको छ’, उनले भने । उद्योग व्यवसायमा पछिल्लो समय देखिएको मन्दीको असर अर्थतन्त्रमा दिर्घकाल सम्म पर्नेतर्फ अध्यक्ष मल्लले सांसदहरूको ध्यानकर्षण गराए ।

ब्याजदर नियन्त्रणसँगै अर्थतन्त्रका अन्य चुनौतीहरूलाई पनि सम्बोधन गर्नुपर्ने अध्यक्ष मल्लले बताए । उनले भने, ‘पुँजीगत खर्च हुन सकेको छैन । सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ४२ प्रतिशत हाराहरीमा पुगिसकेको छ । आन्तरिक उत्पादन ठप्प हँुदा व्यापारघाटा आकाशिएको छ । रोजगारी सिर्जना हुन सकेको छैन । आम सर्वसाधरण नागरिकसँग जोडिएका विषयलाई संसद्बाट प्रभावकारीरूपमा आवाज उठ्न जरुरी भइसक्यो ।’

नागरिकको प्रत्यक्ष सेवा प्रवाहसँग जोडिएका राहदानी विभाग, यातायात व्यवस्था विभाग, कर राजस्वजस्ता क्षेत्रमा निश्चित समय नै तोकेर परिणाम दिनेगरी काम गर्नुपर्ने अध्यक्ष मल्लले बताए । नागरिकको सेवा प्रवाह जोडिएका क्षेत्रमा ‘टाइम कार्ड’ लागू गर्नुपर्ने मल्लको भनाइ छ । मुलुकको अर्थतन्त्रलाई डिजिटल प्रणालीमा लैजानका लागि ठोस र प्रभावकारी रणनीति बनाउनुपर्ने अध्यक्ष मल्लले बताए ।

डिजिटल कारोबारलाई प्रश्रय दिएर उधारो कारोबारलाई सदाका लागि निस्तेज गर्नुपर्ने अध्यक्ष मल्लको भनाइ छ । चेम्बर पदाधिकारीसँग भएको छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमोना श्रेष्ठले मुलुकको आर्थिक व्यवस्थालाई राजनीतिको छायाबाट मुक्त बनाउनुपर्ने बताइन् । संसद्मा आफूहरूले यो विषयमा पटक–पटक सरकारको ध्यानाकर्षण गराएकोे उनको भनाइ छ ।
अर्थतन्त्रसँग जोडिएका कतिपय ऐन नियमहरू पुरानो भएकाले पनि परिणाममुखी काम गर्न समस्या भएको श्रेष्ठको भनाइ छ ।

आफूहरू निजी क्षेत्रसँग मिलेर काम गर्न तयार रहेको भन्दै सांसद श्रेष्ठले अर्थतन्त्रसँग सम्बन्धित विधेयकहरूमा निजी क्षेत्रको सुझावलाई पनि पार्टीले ग्रहण गर्ने बताइन् । सो पार्टीका अर्का सांसद हरि ढकालले उद्योगी व्यवसायी कुनै राजनीतिक दलविशेषसँग जोडिन नहुने बताए । मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे भएको अन्तरक्रिया कार्यक्रममा चेम्बरका पदाधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू उपस्थित थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8


तपाईको प्रतिक्रिया