Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशदिङ्ला प्रशासन कार्यालय प्रमुखविहीन

दिङ्ला प्रशासन कार्यालय प्रमुखविहीन


भोजपुर । भोजपुरको दिङ्लास्थित इलाका प्रशासन कार्यालय प्रमुखविहीन बन्दा सेवा प्रवाहमा समस्या भएको छ । मुख्यरूपमा षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिकलाई सेवा दिने उद्देश्यले स्थापना भएको उक्त कार्यालय दुई महिनदेखि प्रमुखविहीन बनेपछि स्थानीयलाई सास्ती भएको छ ।

जिल्ला सदरमुकामसम्म आउन धेरै समय लाग्ने भएपछि यस भेगमा स्थानीयले नागरिकता, राहदानीलगायत सेवा यही कार्यालयबाट लिँदै आएका थिए । प्रमुख नहुँदा स्थानीय तीन दिनसम्म लगाएर नागरिकता लिनका लागि सदरमुकाम आउन बाध्य छन् । प्रमुख नहुँदा कर्मचारीले तलबसम्म पाउन सकेका छैनन् ।

माघ पहिलो साता शाखा प्रमुख विकेन पौडेल सरुवा भएर गएसँगै कार्यालयको काम ठप्प बनेको हो । सेवा ठप्प भएपछि स्थानीयलाई सास्ती भएको साल्पासिलिछो गाउँपालिका–६ थुम्लुङका विवेक राईले बताए । नागरिकता लिन सदरमुकाम जाँदा समय र पैसा धेरै खर्च हुने उनको भनाइ छ ।

“इलाका प्रशासन कार्यालयबाट सेवा प्रवाह नहुँदा हामीलाई सास्ती छ”, उनले भने, “दुर्गम भेग भएकाले यहाँबाट सदरमुकाम पुगेर फर्कन चार दिनसम्म लाग्छ । एउटा नागरिकता लिन जाँदा कम्तीमा एक जना बराबार रु १५ हजार बढी खर्च हुन्छ । चाँडो सेवा सुरु भए हामीलाई राहत हुने थियो ।”

जिल्लाकै दुर्गम क्षेत्रको रूपमा लिइने साल्पासिलिछो गाउँपालिकाका अधिकांश भेगमा सडक पुगेको छैन । इलाका प्रशासनमा प्रमुख नहुँदा दुई महिनादेखि तलबसमेत नपाएको कार्यालयका लेखापाल राजेश दाहालले बताए । यहाँ आठ जनाको दरबन्दी छ । अहिले चार जनाको भरमा कार्यालय सञ्चालनमा छ । इलाका प्रमुख नहुँदा नागरिकलाई सास्ती भएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्र उदासले राससलाई बताए ।

यो समस्याका बारेमा सम्बन्धित निकायसँग पहलकदमी गरिरहेको उनको भनाइ छ । “कार्यालय प्रमुखविहीन बन्दा स्थानीयलाई समस्या छ”, प्रमुख उदासले भने, “नागरिकता लिन स्थानीयलाई धेरै समस्या छ । यहाँको समस्या समाधानका लागि नगरले सरोकारवाला पक्षसँग पहल गरिरहेको छ ।”


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, समाचार


तपाईको प्रतिक्रिया