Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारम्याद गुज्रिएका सामान बेच्ने दुई उद्योग सिल

म्याद गुज्रिएका सामान बेच्ने दुई उद्योग सिल


वीरगञ्ज । म्याद गुज्रिएका खाद्यवस्तु बिक्री वितरण गरेको आरोपमा पर्साको वीरगञ्ज महानगरपालिका–१३ स्थित दुई उद्योगलाई संयुक्त अनुगमन टोलीले सिल गरेको छ ।

अनुगमन टोलीले म्याद गुज्रिएको सामान प्याकिङ गरिरहेको पाएपछि वीरगञ्ज महानगरपालिका–१३ श्रीपुरस्थित श्रवण रुङटाको घरमा सञ्चालित फुडको नेपाल प्रालि र स्न्याक एन्ड प्याक इन्डिस्ट्रज सिल गरेको हो । घर भाडामा लिएर सञ्जय अग्रवाल, विद्या सरावगी र सन्तोष अग्रवालले संयुक्तरूपमा सञ्चालन गर्दै आएको दुवै उद्योगमा छापा मारेर सिल गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले राससलाई जानकारी दिए ।

म्याद गुज्रिएका खाद्यवस्तु रिलेब्लिङ गरी बजारमा बिक्री गर्दै आएको सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज, खाद्य तथा गुणस्तर कार्यालय वीरगञ्ज र वीरगञ्ज उद्योग वाणिज्य सङ्घको संयुक्त टोलीले ठूलो परिमाणमा म्याद गुज्रिएको सामान प्याकिङ भइरहेको फेला पारेपछि सिल गरिएको प्रहरी नायब उपरीक्षक गिरीको भनाइ छ ।

सो क्रममा उद्योगभित्र प्याकिङ गरिरहेका स्थानीय ३२ वर्षीय मनिषकुमार चौधरी, वीरगञ्ज–७ निवासी २३ बर्षीय आयुष अग्रवाल र वीरगञ्ज–१४ निवासी ३८ वर्षीय हरिनारायणप्रसाद कुर्मीलाई पक्राउ गरिएको छ । उद्योगका सञ्चालक भने फरार छन् । दुवै उद्योगबाट करिब रु. ९१ लाखभन्दा बढी मूल्य बराबरको म्याद गुज्रिएका ड्राइफुड्स (लालमोहन, चिप्स, चकलेट, ससेज, जाम, फुलनदाना इत्यादि) बरामद भएको प्रवक्ता गिरीले जानकारी दिए ।


क्याटेगोरी : प्रदेश समाचार, मधेश प्रदेश, समाचार


तपाईको प्रतिक्रिया