Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचाररसुवागढी नाकाबाट पहिलो दिन ३७ जना आवतजावत

रसुवागढी नाकाबाट पहिलो दिन ३७ जना आवतजावत

साढे दुई सय रसुवाबासीलाई पास जारी/नेपाली ट्रक चीन पठाइए


काठमाडौं । नाका खुलेको पहिलो दिन शनिबार रसुवागढी नाकाबाट ३७ जनाले नेपाल–चीन आवतजावत गरेका छन् । अध्यागमन विभागका एक अधिकारीका अनुसार चीनतर्फ जानका लागि शनिबार दुई सय ५० जना नेपालीलाई पास उपलब्ध गराइएको छ ।

नाकाबन्दी भएपछि २०७६ सालदेखि चीनमा रहेका नेपाली चीनतर्फ नै थुनिएर बसेका छन् । नेपाल र चीनबीच रसुवागढी नाकाबाट मानवको आवतजावत खुलेपछि आफन्त र परिवारका सदस्य भेट्न पास लिनेहरुको अध्यागमन कार्यालय टिमुरे रसुवामा शनिबार बिहानैदेखि भीड लागेको थियो । भीड नियन्त्रण गर्न अध्यागमन कार्यालयले प्रहरी नै परिचालन गर्नुपरेको थियो । शनिबार अध्यागमन कार्यालयले दिउँसो २ बजेसम्म मात्र पास जारी गरेको थियो ।

‘नेपाल र चीनबीच पारिवारिक सम्बन्ध पनि रहेछ’, अध्यागमन विभागका एक अधिकारीले आर्थिक दैनिकसित भने, ‘कोभिड महामारीको कारण बन्द भएको व्यापार तथा यात्रु आवतजावतमध्ये व्यापार भने केही समय अगाडिदेखि एकतर्फी रुपमा खुला भए पनि मानिसको आवतजावत बन्द थियो । शनिबारदेखि मानिसको पनि आवतजावत खुलेको कारण आफन्त र परिवारका सदस्य भेट गर्नका लागि चीन जाने बढी भएर पास लिनेको भीड नै लाग्यो । शनिबार धेरै पास जारी गर्न सकिएन । अब आइतबार पनि पास जारी हुन्छ ।’

उत्तरी क्षेत्रमा नेपाली गाउँका र चीनका गाउँका बासिन्दाबीच विवाहबारी, व्यापार, मेलापात, रोजगारी, पशुचरनलगायतका काम हुन्छ । कोभिडको कारण मानिस आवतजावत बन्द भएको कारण खासगरी आफन्तबीच भेटघाट बन्द भएकाले धेरै परिवार मर्कामा परेका थिए । शनिबार पास खुलाइएपछि पास लिनका लागि मानिसको भीड बढेको हो ।

शनिबार नेपालका वाणिज्य सचिव मधुकुमार मरासिनीको टोली नेपाल प्रवेश गर्नेबाहेक अधिकांश चीन गएका छन् । नेपालको अध्यागमन कार्यालय अनलाइनमार्फत सञ्चालित छ । सोही कारण विभागको टोली काठमाडौंदेखि गएर सिस्टम सुचारु गरेको थियो । पहिलो चरणमा रसुवाका नागरिकता भएकाहरुलाई मात्र पास जारी गरिनेछ । नेपालले एक वर्षका लागि पास उपलब्ध गराए पनि चीनले कति दिन उनीहरुलाई आफ्नो भूमिमा बस्न दिन्छ त्यो भने प्रस्ट भइसकेको छैन ।

‘हामीले नागरिकताका आधारमा रसुवा जिल्लाबासीलाई पास दिएका छौँ’, अध्यागमन विभागका ती अधिकारीले आर्थिक दैनिकसित भने, ‘पास लिनेहरु कतिपय शनिबार नै चीनतर्फ गएका छन् । कति दिन बस्न दिन्छ त्यो त चीनको कुरा भयो ।’ शनिबार केही नेपाली ट्रक पनि चीनतर्फ पठाइएको छ । ती ट्रकहरु पास भएका चालकले मात्र चलाएर चीनको केरुङ्ग बजारसम्म लैजान पाउनेछन् । दोहोरो व्यापार खुलेको कारण अब नेपाली ट्रकले चीनको केरुङ्गबाटै सामान लोड गरेर नेपाल आउन पाउनेछन् । हिमपात भएको कारण आवतजावतमा समस्या पर्ने देखिएको छ । शुक्रबारदेखि पानी पर्न थालेको कारण रसुवाको धेरै तलसम्म हिउँ परेको छ ।

रसुवाको हुम्लाको यारी नाकामा पनि वैशाख १८ गतेदेखि व्यापारको साथै मानिसको पनि आवतजावत खुल्ने भएको कारण अध्यागमन विभागका कर्मचारीहरु त्यहाँ पनि काठमाडौंबाट सिस्टम चलाउन जानुपर्नेछ । यारी नाकाबाट मानिसको आवतजावत खुलेपछि मानसरोवर जाने यात्रुहरुको चाप बढ्नेछ ।

नेपाल–चीनबीच दुई नाकामा यात्रुसहित र एक नाकामा व्यापार मात्र खुला गर्ने सहमति
नेपाल र चीनबीच रसुवागढी र हुम्लाको यारी नाकामा यात्रुसहित दोहोरो व्यापार र सिन्धुपाल्चोकको तातोपानी नाकामा यात्रुबाहेक दोहोरो व्यापारका लागि मात्र नाका खुला गर्ने सहमति भएको छ । ती तीनवटै नाकामा कोभिड–१९ को महामारीको कारण व्यापार तथा यात्रु आवतजावत पूर्णतः बन्द थिए ।

कोभिड कम भएपछि केही समय अगाडिदेखि एकतर्फी व्यापार खुला र बन्द हुँदै आए पनि शनिबारदेखि रसुवागढी नाकाबाट यात्रुसहित दोहोरो व्यापार खुला भएको छ । अब मे १ तारिख अर्थात् आउँदो वैशाख १८ गते सोमबारदेखि चीनले हुम्लाको यारी नाका पनि रसुवागढी नाकाको जस्तै यात्रु र व्यापारका लागि दुईतर्फी नै खुला गर्ने जनाएको छ । यस विषयमा नेपाल र चीनका अधिकारीबीच सम्झौतासमेत भइसकेको छ । सिन्धुपाल्चोकको तातोपानी नाकाबाट भने वैशाख १८ गतेदेखि दोहोरो व्यापार मात्र खुला हुने भएको छ । उक्त नाका कहिलेदेखि यात्रुका लागि खुला गर्ने भन्नेबारे चीनले केही बताएको छैन ।

नेपालको लामो समयको प्रयासबाट नेपाल–चीनको व्यापारिक नाका रसुवागढीबाट शनिबारदेखि व्यापार र मानिसको आवतजावत खुला भएको हो । २०७६ चैत ११ गते नेपालले कोभिड–१९ को कारण लकडाउन गरेपछि उक्त नाकाबाट यात्रुहरु आवतजावत पूर्ण रुपमा बन्द थियो । यद्यपि चीनले २०७६ माघ २५ गतेदेखि नै नाका बन्द गरेको थियो ।

कोभिडको महामारी कम भएपछि गत २०७८ साल असोजदेखि चीनबाट एकतर्फी रुपमा चिनियाँ गाडी सामान बोकेर रसुवागढीको मितेरी पुलको बीचसम्म आउने र त्यसपछि नेपाली गाडीमा सामान पठाएर ती गाडी चीनतर्फ नै जाने गरेका थिए । केही महिना अगाडिदेखि चीनको गाडीहरु नेपाल भूमिभित्र प्रवेश गरेर नेपाली गाडीमा सामान अनलोड गरेर फर्किने गरेका थिए । शनिबारदेखि भने नेपाली गाडी र मानिसहरु नै चीनतर्फ जान पाउनेछन् ।

नेपाल–चीन सीमा व्यापार संयन्त्रको ल्हासामा मार्च २९ तारिख अर्थात् यही चैत १५ गते बुधबार सम्पन्न बैठकको सहमतिअनुसार शनिबारबाट रसुवागढी–केरूङ व्यापारिक नाका पूर्ण सञ्चालनमा आएको हो । शनिबार वाणिज्य सचिव मधुकुमार मरासिनी र तिब्बतका उपाध्यक्ष सिलांग निमाले संयुक्त रूपमा नाका पुनः सञ्चालनको घोषणा गरेका थिए । प्लेन चढेर चीन गएका सचिव मरासिनी सडकमार्गबाट नेपाल प्रवेश गरेका हुन् । नाका खुला भएको जनाउ दिन त्यसरी सडक मार्ग प्रयोग गरिएको बताइएको छ ।

रसुवागढी–केरुङ नाका पुनः सञ्चालनको घोषणाको क्रममा नेपालबाट एउटा कन्टेनर तिब्बततर्फ पठाइएको थियो । नाका व्यापारिक प्रयोजनको लागि मात्र नभई दुवै मुलुकका नागरिकहरुलाई समेत खुला गरिएको छ । सो क्रममा चिनियाँ अधिकारीहरुले नेपाली कन्टेनर तथा व्यापारीहरुलाई स्वागत गरेका थिए । नेपालका लागि चिनियाँ राजदूत छन सोङले आफ्नो सामाजिक सञ्जालमार्फत नाका खुलेसँगै द्विपक्षीय सहयोग र जनताबीचको आदानप्रदानलाई अझ गहिरो बनाउने विश्वास रहेको उल्लेख गरेका छन् ।

राजदूत सोङले भनेका छन्, ‘रसुवागढी नाका दुईतर्फी रूपमा मानिसको आवतजावतसहित पूर्ण सञ्चालनमा आउनलागेको हो, रसुवा पुल पार गरेर चीन प्रवेश गरेका पहिलो नेपाली समूहलाई हार्दिक स्वागत गर्दछौँ । यसले द्विपक्षीय सहयोग र जनताबीचको आदानप्रदानलाई अझ गहिरो बनाउने आफनो विश्वास छ ।’

यसअघि भने नेपाली व्यवसायीले नेपाल–चीन व्यापारिक नाका विशेषगरी रसुवागढी–केरुङ र तातोपानी नाका खुला गर्न चिनियाँ पक्षलाई आग्रह गरे पनि त्यसलाई बेवास्ता हुँदै आएको थियो । सरकारी तहमा सचिवस्तरीय आग्रहलाई समेत चिनियाँ पक्षले बेवास्ता गर्दै आएको थियो । कोभिडको कारण देखाई रसुवागढी–केरुङ र तातोपानी नाका सहजरुपमा खुला गरिएको थिएन । जसले गर्दा नेपाली व्यवसायीहरु मारमा परेका थिए । कोभिड र पहिरोका कारण देखाउँदै व्यापारिक नाकाहरु चिनियाँ पक्षका कारण बन्द वा एकतर्फी हुँदै आएको थियो ।

रसुवागढी नाका २०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो । रसुवागढी नाकामा सुरुवाती समयमा कन्टेनर र अन्य सवारी साधन गरेर दैनिक दुई सय ५० बढी आवतजावत गर्ने गरेका थिए ।

नेपाल–चीन व्यापारमा भने चीनलाई फाइदा रहेको छ । वार्षिक दुई खर्बमाथि रहेको व्यापारमा नेपाली व्यवसायीले चीनबाट ठूलो परिमाणमा सामग्री आयात गरी नेपाली बजारमा बिक्री गर्ने गरेको पाइन्छ । चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा नेपालले चीनसँगको व्यापारमा एक खर्ब ४५ अर्ब २६ करोड रुपैयाँ घाटा व्यहोरको छ । चीनबाट एक खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँको आयात र ५१ करोड ९३ लाख रुपैयाँको नेपालबाट निर्यात भएको छ ।

यसअघि चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सु नेतृत्वको टोलीको नेपाल भ्रमण आएको समयमा भने तिब्बतमा रोकिएको कन्टेनर नेपाल पठाइएको थियो तर नाका खुला गरिएको थिएन । भदौको अन्तिम साता काठमाडौं भ्रमण आएको चान्सु नेतृत्वको टोली र तातोपानी नाका एकतर्फी खुला हुने संयोग मिलेको थियो । तातोपानी भन्सार कार्यालयले सो समयमा ५०/५५ वटा कन्टेनर नेपाल आएको बताएको थियो  । बाटोमा रहेका कन्टेनरहरु तिब्बत हुँदै नेपाल आएको थियो । सोही समयमा केरुङ–रसुवागढी नाकाबाट पनि ठूलो परिमाणसहित कन्टेनर नेपाल भित्रिएको थियो । केरुङमा गोदाम भएको कारण त्यहाँबाट बढी सामग्री नेपाल भित्रिएको बताइएको थियो । तयारी कपडा, स्याउ, इलेक्ट्रिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्मालगायतका सामग्रीहरु नेपालमा आयात हुने गरेको छ । भने पस्मिना, चिया, ऊनीको कार्पेट, अगरबत्ती हस्तकला सामग्री, चाउचाउ, तयारी कपडा, तयारी छालाको उत्पादनलगायतका सामग्री नेपालबाट चीन निर्यात हुँदै आएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया