Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारगण्डकी प्रदेशराष्ट्रिय गौरवको लोकमार्गको क्षेत्रमा पक्की संरचना

राष्ट्रिय गौरवको लोकमार्गको क्षेत्रमा पक्की संरचना


गलकोट । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको सडक मापदण्ड दायाँबायाँ २५/२५ मिटरको हो । सडकको छेउछाउमा संरचना बनाउन स्थानीय तहले मापदण्ड हेरेर मात्रै निर्माण अनुमती दिने गरे पनि यहाँस्थित नेपाली सेनाको श्रीमेयर गणले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी लोकमार्ग मिचिरे पक्की संरचना बनाइरहेको छ ।

स्थानीय तहलाई खबरै नगरी मध्यपहाडी लोकमार्ग आगोजना कार्यालयको पत्रलाई सेमत बेवास्ता गर्दै संरचना निर्माण गरिरहेको पाइएको छ । निजी घर निर्माण गर्दा २५ मिटर मापदण्ड छाडेर निर्माण भइरहे पनि नेपाली सेनाले लोकमार्गको नालीसँगै जोडेर पक्की पिलरसहितको पर्खाल धमाधम निर्माण गरिरहेको छ ।

घरटहरा वा पक्की संरचना बनाउनुपर्दा स्थानीय तहमा दर्ता गरेर बनाउनुपर्ने स्थानीय सरकार सञ्चालन ऐनमा प्रावधान रहे पनि सेनाले एकलौटी ढङ्गबाट संरचना बनाइरहेको छ । सडकछेउमा बनाउने पक्की संरचनाका लागि सडक सीमाको मापदण्ड पालना गर्नुपर्ने र छुट्टै अनुमति पनि लिनुपर्ने भए पनि नेपाली सेनाले मध्यपहाडी लोकमार्गसँग समेत अनुमति नलिइ पक्की संरचना बनाइरहेको छ ।

हाल कार्यान्वयनको चरणमै रहेको मध्यपहाडी लोकमार्गको मापदण्डविपरीत कसैले अवैध संरचना बनाउन नपाइने मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ । लोकमार्ग आयोजना कार्यालयका आयोजना प्रमुख नारायणदत्त भण्डारीले अस्थायी संरचना (तारजाली) लगाउनका लागि आयोजना कार्यालयमा जानकारी दिएकामा अहिले पक्की संरचना बनाइरहको बताए ।

“लोकमार्गसँग जोडिएर रहेको श्रीमेयर गणले अस्थायी संरचना तारजाली लगाउन हामीलाई पत्र पठाएको थियो, सुरक्षा संवेदनशीलता हेरेर अस्थायी संरचना बनाउन समस्या थिएन, तर उहाँहरुले त लोकमार्गसँगै जोडेर पक्की पिल्लरसहितको इँटाको पर्खाल लगाएको छ”, भण्डारीले भने, “सुरक्षा निकायले नै मापदण्ड मिचेपछि अरुले के गर्लान्, हामीले तारजाली लगाउन समस्या हुँदैन भनेका थियौँ, पक्की संरचना रोक्नका लागि यही चैत ३ गते नै सेनालाई पत्र पठाएका छौँ ।”

आयोजनाका अनुसार तत्कालै निर्माण कार्य रोक्नु भनी पत्र पठाएकामा गणले अटेरी गरेर धमाधम पक्की संरचना बनाइरहेको छ । लोकमार्ग विस्तार गर्दा पक्की संरचना भत्काउन समस्या हुने भन्दै लोकमार्गको २५ मिटर दायाँबायाँ पक्की संरचना बनाउन नपाइने आयोजनाले जनाएको छ ।लोकमार्गस्थित बागलुङको काठेखोला–५ घोडाबाँधेमा एक सय रोपनी जग्गामा श्रीमेयर गण छ । सेनाले वनको जग्गामा गण बनाए पनि लोकमार्ग मिच्न नहुने स्थानीयको भनाइ छ । लोकमार्ग घोषणा हुनु दशकअघि बनेका घरसमेत सडक बनाउने क्रममा भत्काइएको थियो ।

सेनाले घोडाबाँधेस्थित गणमा दर्जन बढी पक्की संरचना बनाइसकेको छ । हाल निर्माण भइरहेको अवैध संरचनाको पश्चिमतर्फ नालीमै जोडेर पिलरसहित इँटाको पर्खाल ठड्याइएको छ । लोकमार्ग मिचेर संरचना बनाउँदा लोकमार्गका दुई घुम्ती साँघुरो हुने देखिएका छन् । नेपाली सेनाको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै पर्खाल निर्माण गरिएको नेपाली सेनाको श्रीमयर गणको दाबी छ । गणका गणपति देशभक्तमणि श्रेष्ठले नेपाली सेनाले गणभित्र भई रहने सुरक्षा तालिमलगायतका गतिविधि बाहिरबाट देखिएकाले बाध्य भएर पर्खालसहितको संरचना निर्माण गरिएको साससलाई बताए ।

उनले लोकमार्गलाई जानकारी गराएर मात्रै पर्खाल निर्माण गरेको बताए । “लोकमार्गलाई हामीले जानकारी गराएका हौँ, राजमार्गसँग जोडिएको गण भएकाले सुरक्षाका हिसाबले चुनौती भयो लोकमार्ग विस्तारमा हाम्रो कुनै रोकावट हुँदैन”, गणपति श्रेष्ठले भने, “भित्र सेनाको गतिविधि बाहिरबाट हेर्दा समस्या भएकाले मात्रै संरचना बनाएका हौँ, लोकमार्ग मिच्ने हाम्रो कुनै इच्छा होइन, लोकमार्ग सुरक्षाको जिम्मा हाम्रो पनि हो ।” लोकमार्ग विस्तार गर्दा अहिले बनाइएको संरचना भत्काउन दिइने सेनाले जनाएको छ ।


क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश, समाचार

तपाईको प्रतिक्रिया