Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारचितवनमा सबै दल निर्वाचन लक्षित कार्यक्रममा

चितवनमा सबै दल निर्वाचन लक्षित कार्यक्रममा


चितवन । चितवनमा रहेका साना तथा ठूला सबै दलले आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचन लक्षित कार्यक्रम सुरु गरेका छन् । स्वतन्त्र उम्मेदवारसमेत प्रचारप्रसारका लागि गाउँगाउँ पस्न थालेका हुन् ।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले औपचारिकरुपमा आजदेखि घरदैलो कार्यक्रम सुरु गर्दैछन् । कांग्रेस चितवनका सचिव ध्रुव पोख्रेलका अनुसार उम्मेदवारी दर्तासँगै प्रचारप्रसार सुरु गरेको भए पनि औपचारिक रुपमा आजदेखि घरदैलो गरिँदै छ ।

जिल्लामा हुन लागेको निर्वाचन केका कारणले हो भन्ने विषयमा समेत मतदातालाई प्रष्ट पार्दै घरदैलो गरिने श्रेष्ठले राससलाई जानकारी दिए । उनले भने, “आजदेखि घरदैलो सुरु भएको छ । हामीले जनताको विश्वास र मत दुवै पाउने विश्वास छ ।” घरदैलो कार्यक्रमका लागि कांग्रेस शीर्ष नेतृत्व जिल्ला आउने कार्यक्रम रहेको छ । कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापालगायतका नेता घरदैलो कार्यक्रममा सहभागी हुन जिल्ला आउने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । सत्ता गठबन्धनले भरतपुर महानगरपालिका–३ बाट घरदैलो कार्यक्रमको सुरुआत गर्दै छ ।

नेकपा (एमाले) चितवनले पनि आफ्नो घरदैलो कार्यक्रम सुरु गरेको छ । इच्छाकामना गाउँपालिका–१ हात्तीवाङबाट घरदैलो अभियान सुरु गर्न लागेको एमालेका जिल्ला उपाध्यक्ष कमल पाठकले जानकारी दिए । नेकपा एमालेले विगत एक महिनादेखि मिसन ग्रासरुट कार्यक्रम सञ्चालन गरेकाले घरदैलो कार्यक्रमलाई सहज हुने उनले बताए ।

मङ्सिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा गुमेको शाखलाई फिर्ता गर्ने दाउँमा एमाले रहेको उहाँले बताए । उनका अनुसार एमालेका नेता गोकुल बास्कोटा निर्वाचन समय अवधिभर जिल्लामा रहनु हुनेछ । घरदैलो कार्यक्रमसँगै निर्वाचन लक्षित अन्य कार्यक्रम समेत गरिने पाठकले जानकारी दिनुभयो । घरदैलोका क्रममा कोणसभासमेत गरिने छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गरेसँगै घरदैलो तथा कार्यक्रता भेटघाटलाई तीव्र पारेका छन् । उनका निजी सचिव प्रकाश सिग्देलका अनुसार मनोनयन दर्ता गर्नुअघिदेखि नै निर्वाचनको तयारी गरिएको हो । मनोनयन दर्तासँगै दलका नेता कार्यक्रर्ता भेटघाटलगायत काममा व्यस्त भइरहेको उनले बताए । कालिका नगरपािलका–५ बाट घरदैलो कार्यक्रम सुरु गर्न लागिएको जानकारी दिँदै सिग्देलले रास्वपाले घरदैलो कार्यक्रमलाई तीव्र बनाउने बताए । घरदैलोका क्रममा कोणसभा केही स्थानमा हुने उनको भनाइ छ ।

सत्तागठबन्धनसहित तीन दलहरु र अन्य साना दलहरुले समेत निर्वाचन लक्षित आफ्ना कार्यक्रमलाई तीब्र बनाएका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी जिल्लामा आएर आफ्नो पार्टीका चुनावी कार्यक्रममा सहभागी भएका छन् । अन्य साना दल र स्वतन्त्र उम्मेदवारले समेत प्रचारप्रसारमा जुटिरहेका छन् ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा चितवन २ बाट निर्वाचित रास्वपाका केन्द्रीय सभापति लामिछाने नागरिकता मुद्दामा दोषी ठहरिएपछि सांसद पद खारेज भएको थियो । लामिछानेको सांसद पद खारेज भएपछि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचमा चितवन क्षेत्र नम्बर २ मा एक लाख २४ हजार छ सय ९५ जनाले मतदान गर्न पाउनेछन् । उनीहरुले ४३ स्थलका एक सय ३८ केन्द्रबाट मतदान गर्ने छन् ।


क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश, समाचार

तपाईको प्रतिक्रिया