अर्थतन्त्र लयमा ल्याउन सरकारले सम्पूर्ण तागत लगाउँछ : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्र सुधारका लागि सरकारले अधिकतम प्रयास गरिरहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घको ५७औंँ वार्षिक साधारणसभालाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मुलुक आर्थिक रुपले चुनौतीपूर्ण रहेको अवस्थामा आफूले जिम्मेवारी सम्हालेको र अहिलेको सङ्कटमोचन गर्ने अवसर यो सरकारलाई रहेको बताएको हो । ‘‘ सरकारको सम्पूर्ण तागत अर्थतन्त्रलाई लयमा ल्याउने र त्यसलाई गति दिनेतर्फ केन्द्रित हुन्छ । पछिल्ला दिनहरुमा केही सकारात्मक सङ्केतहरु पनि देखिन थालिसकेका छन् ।’’,
प्रधानमन्त्री दाहालले भने, ‘‘मेरो तेस्रो कार्यकाल मुलुकको समग्र आर्थिक अवस्थाका हिसाबले निकै चुनौतीपूर्ण छ र यो चुनौतीलाई सामना गर्ने अवसरका रुपमा पनि मैले हेरेको छु ।’’ नयाँ संविधान निर्माणपछि आर्थिक रुपमा गुणात्मक फड्को मार्ने अपेक्षा गरिए पनि विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिका कारण त्यो सम्भव नभएको दाहालले राससलाई बताए ।
‘‘हाम्रो अर्थतन्त्रले भूकम्पको नराम्रो धक्का खायो । त्यसपछि कोभिड– १९ महामारीको कारण विश्वव्यापी रुपमा देखिएको सङ्कटको असर देखियो । राजनीतिक उतारचढाव र अस्थिरताको असर पनि परेको छ । रुस–युक्रेन युद्धको असर अझै देखिइरहेको छ’’, उनले भने । सार्वजनिक र निजी क्षेत्रको सहकार्यलाई प्रभावकारी नबनाइकन आर्थिक सुधार गर्न नसकिने भएकाले अहिलेको सरकारले मन्त्रिपरिषद्को पहिलो बैठकबाटै त्यस्तो निर्णय गरेको उनको भनाइ छ ।
‘‘अर्थतन्त्रको अहिलेको दबाब निजी क्षेत्रको सहयोगबिना सामना गर्न सकिँदैन भनेर सरकारले पहिलो निर्णयबाटै सहकार्य अघि बढाएको छ । यो बीचमा धेरै बैठक र अन्तरक्रिया भएका छन्’,’ प्रधानमन्त्री दाहालले भने, ‘‘निजी क्षेत्रबाट धेरै सुझाव सरकारले लिएको छ । अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकसँग पनि प्रधानमन्त्रीका रुपमा मैले धेरै नै छलफल गरेको छु, तर अपेक्षित रुपमा सुधार नभएकै हो ।’’ सरकार अहिले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम निर्माणका क्रममा रहेकोले तरलता अभाव समस्या, न्यून राजस्व, रेमिट्यान्सलगायत विभिन्न आर्थिक सूचकहरुलाई कसरी सुधार्दै जाने भन्नेबारे गम्भीर रुपमा लागेको प्रधानमन्त्री दाहालको भनाइ छ ।
आफ्नो नेतृत्वमा गठन भएको सरकारले अर्थतन्त्रका सूचकलाई कसरी सुधार गर्ने भनेर निकै जोड गरिरहेको र पछिल्ला दिनमा त्यसको नतिजा पनि देखिँदै गएको उनले बताए । ‘‘गएको तीन महिनामा विदेशी मुद्रा सञ्चितिको अवस्थाबाट सन्तोष गर्नुपर्ने ठाउँमा मात्र होइन, उत्साहजनक अवस्थामै पुगेको छ । रेमिट्यान्समा पनि राम्रो सुधार भएको छ ’’, प्रधानमन्त्री दाहालले भने, ‘‘राजस्व सङ्कलनमा पनि सकारात्मक सङ्केत देखिएका छन् । बैंक तथा वित्तीय संस्थाको ब्याजदर कम गर्नेबारे सरकारका सबै अङ्गसँग घनिभूत छलफल भइरहेको छ ।’’
वस्तु उत्पादन, बजार व्यवस्थापन, रोजगारी सिर्जना, राष्ट्रिय आयको वृद्धि र देशको समग्र विकासमा निजी क्षेत्रले उल्लेखनीय भूमिका खेल्दै आएको बताउँदै प्रधानमन्त्री दाहालले व्यवसाय सञ्चालनमा आउने व्यवधानहरुमा राज्यले सहजीकरण गर्दै आएको उल्लेख गरे । लगानी र व्यवसायमैत्री वातावरण निर्माणका लागि सरकारको पूर्ण सहयोग रहने पनि प्रधानमन्त्री दाहालको भनाइ छ । संविधानले तीन खम्बे अर्थनीतिको व्यवस्था गरेकामा त्यसको प्रभावकारी कार्यान्वयनका लागि पनि उनले जोड दिए ।
त्यस्तै कृषि क्षेत्र खस्किँदै गएकोप्रति प्रधानमन्त्री दाहालले चिन्ता व्यक्त गरे । ‘‘कृषि हाम्रो अर्थतन्त्रको मूल आधार हो । तर पछिल्ला वर्षमा अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान घट्दै गएको र कृषिजन्य वस्तुको आयात अत्यधिक बढ्दै गएको छ’’, उनले भने, ‘‘एकातर्फ कृषियोग्य जमिन बाँझो हुँदै जाने र अर्कोतर्फ दक्ष जनशक्ति सस्तो ज्यालादरमा विदेशिनुपर्ने बाध्यता रहेको छ ।’’
क्याटेगोरी : समाचार
ताजा अपडेट
- युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित
- प्रत्येक प्रदेशमा एउटा औद्योगिक क्षेत्र बिस्तारको कार्यक्रम ल्याइने : मन्त्री भण्डारी
- पूर्वमुख्यसचिव शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि
- सांसद हसिना खानद्वारा सपथ ग्रहण
- कांग्रेस सबै जात, धर्म र वर्गको पार्टी हो : सहमहामन्त्री राठोर
- ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता
- घाँस काट्ने क्रममा रुखबाट खसेर मृत्यु
- गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया