काठमाडौँ । पछिल्लो एक सातादेखि काठमाडौँको आकाश धुलोयुक्त बाक्लो तुवाँलोले ढाकेको छ । मौसममा आएको बदलीसँगै अधिकतम तापक्रम निरन्तर बढिरहेकाले काठमाडौँमा निकै गर्मी महसुस गरिएको छ ।
एक सातादेखि अधिकतम तापक्रम बढेर तराई क्षेत्रमा ४० देखि ४३ डिग्री हाराहारी पुगेको जल तथा मौसम विज्ञान विभागले जनबएको छ । नेपालगञ्ज र जनकपुरको तापक्रम ३९ डिग्रिसेल्सियस पुगेको छ भने आज शुक्रबार सबैभन्दा बढी भैरहवाको अधिकतम तापक्रम ४२ दशमलव ३ डिग्रिसेल्सियस रहेको छ ।
शुक्रबार काठमाडौँको अधिकतम ३३ र न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस रहेको छ । तापक्रम बढेकाले तराई क्षेत्रमा मात्रै नभइ काठमाडौँसहित पहाडी भेगमा समेत गर्मी बढेको छ ।
अधिकतम तापक्रम वृद्धि भएसँगै वन डढेलोका घटनाले काठमाडौँसहित देशभर वायु प्रदूषणसमेत बढेको विज्ञहरुको भनाइ छ । जलवायु परिवर्तनका कारण लामो समय पानी नपरेकाले वन डढेलोका घटना बढिरहेको र यसले वातावरणमा प्रत्यक्ष असर पु-याइरहेको वातावरणविद् भूषण तुलाधरको भनाइ छ ।
बढ्दो तापक्रम, प्रतिकूल मौसम, वनमा रहेको ज्वलनशील पदार्थको उपस्थिति तथा भौगोलिक विकटताका कारण वन डढेलो नियन्त्रण र व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । वन डढेलोबाट निस्केको धुवाँका कारण देशभरको आकाश तुवाँलोले ढाकेको छ भने यसको वायु प्रदूषणले जनस्वास्थ्यमा समस्या देखिन थालेको छ ।
वातावरणविद् भूषण तुलाधरले वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको बताए । उनले वायु प्रदूषणले श्वासप्रश्वास, मुटु क्यान्सरलगायत दीर्घरोगको खतरा रहेको बताएका छन् ।
दुई वर्षअघि चैतमा वायु प्रदूषण अत्यधिक बढेकाले स्वास्थ्यमा हुनसक्ने जोखिमलाई दृष्टिगत गर्दै सरकारले चार दिन विद्यालय बन्द गरेको थियो । तराईमा तापक्रम वृद्धि भएसँगै लुसमेत चलेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तराईमा गर्मी बढेसँगै ‘लु’ बाट बच्न आग्रह गरेको छ ।
नेपालमा खासगरी माघदेखि जेठसम्म बढी वनमा डढेलो लाग्ने गरेको छ । विभागको तथ्याङ्कअनुसार यही वैशाख १ गते २६ जिल्लाका एक सय १२, वैशाख २ गते आठ जिल्लाका २८, वैशाख ३ गते १२ जिल्लाका ३२, वैशाख ४ गते १० जिल्लाका ६४ र वैशाख ५ गते ३३ जिल्लाका एक सय ८० स्थानमा डढेलो लागेको थियो । नेपालमा विशेषगरी तराई र भित्री मधेसका जिल्लामा वन डढेलो बढी लाग्ने गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत (पूर्ण पाठ)
- विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फण्ड स्थापना गरिने
- कृषिमा दर्जनौँ नयाँ कार्यक्रम
- पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गरिने
- गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
- स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
- अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाइनेछ : अर्थमन्त्री डा. महत
- प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया