Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअर्थतन्त्र खुम्चिने त्रास

अर्थतन्त्र खुम्चिने त्रास


काठमाडौं । अर्थतन्त्रका १८ क्षेत्रमध्ये नौवटाको आर्थिक क्रियाकलाप खुम्चिँदा देशको समग्र आर्थिक वृद्धिदरमा असर पर्ने भएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले मंगलबार ‘आर्थिक वर्ष २०७९/०८० को वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क’सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै अर्थतन्त्रमा संकुचन आएर समग्र अर्थतन्त्रकै वृद्धि ऋणात्मक हुने हो कि भन्ने त्रास व्यक्त गरेको हो । यद्यपि उसले आफ्नो त्रासलाई लिखित रुपमा व्यक्त भने गरेको छैन । आगामी तीन महिनाभित्र देशमा निर्माण क्षेत्र, उद्योग र खुद्रा तथा थोक बजारमा सुधार आएर आर्थिक गतिविधिमा वृद्धि हुने र त्यसले आर्थिक वृद्धिदर हुने नै दाबी गरेको छ । तर, उसले किटान गरेका क्षेत्रहरुमा सुधार नआएमा आर्थिक वृद्धिदर ऋणात्मक हुने खतरा भने छ ।

तथ्यांक कार्यालयको प्रतिवेदनमा कृषि, वन तथा मत्स्य, खानी तथा उत्खनन, निर्माण, उद्योग, थोक तथा खुद्रा व्यापार, घरजग्गा कारोबार, सूचना तथा सञ्चार, पानी, आपूर्ति ढल फोहोर व्यवस्थापन तथा पुनः उत्पादनका क्रियाकलापहरु र अन्य सेवा गरी नौवटा क्षेत्रमा आएको संकुचनले समग्र अर्थतन्त्र प्रभावित हुने उल्लेख छ ।

कार्यालयका अनुसार कृषि, वन तथा मत्स्य क्षेत्रको कुल गार्हस्थ्य उत्पादनको २४ दशमलव ६७ प्रतिशत योगदान रहेकामा चालू आर्थिक वर्षमा यो हिस्सा घटेर २४ दशमलव १२ प्रतिशतमा झर्ने अनुमान गरेको छ ।

अर्थतन्त्रमा धेरै योगदान गर्ने उद्योग, निर्माण र थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवा क्षेत्रको गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको कुल मूल्यअभिवृद्धि वृद्धिदर ऋणात्मक हुँदा अर्थतन्त्र प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ ।

तथ्याङ्क कार्यालयले थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवाको मूल्यअभिवृद्धि वृद्धिदर दुई दशमलव ६२ प्रतिशतले ऋणात्मक रही जीडीपीको अंश १५ दशमलव ३९ प्रतिशतमा खुम्चिने अनुमान गरेको छ । यस्तै निर्माण क्षेत्रको मूल्यअभिवृद्धि वृद्धिदर दुई दशमलव ६२ प्रतिशतले ऋणात्मक रही जीडीपीको अंश पाँच दशमलव ५२ प्रतिशतमा खुम्चिने र उद्योगको मूल्यअभिवृद्धि वृद्धिदर दुई दशमलव शून्य चार प्रतिशतले ऋणात्मक रही जीडीपीको अंश पाँच दशमलव ३२ प्रतिशत कायम हुने अनुमान गरेको छ ।

कार्यालयले चालू आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर एक दशमलव ८६ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । सरकारले बजेटमा आर्थिक वृद्धिदर आठ प्रतिशत पु¥याउने लक्ष्य राखे पनि अर्थ व्यवस्था निराशाजनक स्थितिमा रहेकाले आर्थिक वृद्धिदर खुम्चिने प्रक्षेपण गरेको हो । यस्तै अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब रुपैयाँबराबर पुग्ने प्रक्षेपण पनि कार्यालयले गरेको छ । ‘चालू आर्थिक वर्षमा उपभोक्ता मूल्यमा एक दशमलव ८६ प्रतिशतले समष्टिगत आर्थिक वृद्धि (कुल गार्हस्थ्य उत्पादनको वृद्धि) हुने साथै अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्बको हुने’ प्रतिवेदनमा उल्लेख छ ।

चालू आर्थिक वर्षको सुरुदेखि नै बाह्य क्षेत्र दबाबमा परेपछि सरकारले विभिन्न दश वस्तुको आयातमा कडाइ गरेको थियो । त्यस्तै नेपाल राष्ट्र बैंकले पनि करिब १४ सय वस्तुको आयात प्रतीतपत्र खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेर आयात निरुत्साहित गरेको थियो । यही कारण आयात घट्न गई बाह्य क्षेत्रमा सुधार आएको छ । तर यसको असर राजस्वमा परेपछि सार्वजनिक वित्त दबाबमा छ । यसबाट सरकार खर्च गर्न नसक्ने अवस्थामा पुगेको छ भने विकास निर्माणका गतिविधि रोकिएका छन् । निर्माण व्यवसायीले भुक्तानी पाइरहेका छैनन् । निर्माण सामग्रीको उत्पादन घटेको छ । अर्कोतर्फ उच्च ब्याजदरका कारण औद्योगिक उत्पादन प्रभावित भएको छ भने मूल्यवृद्धि दर सात प्रतिशतभन्दा माथि छ । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत मूल्यवृद्धि सात प्रतिशतभित्र सीमित राख्ने लक्ष्य लिएको थियो । तर अहिले पनि मूल्यवृद्धि सात दशमलव ४४ प्रतिशत छ । यिनै कारण तथ्याङ्कहरु खुम्चिँदै गएपछि आर्थिक वृद्धिदर खुम्चिने प्रक्षेपण गरिएको राष्ट्रिय तथ्याङ्क कार्यालयका अधिकारीहरुले बताएका छन् ।

कार्यालयले जीडीपीको वृद्धिदर आधारभूत मूल्यमा दुई दशमलव १६ प्रतिशत हुने प्रारम्भिक अनुमान पनि गरेको छ । यस्तो वृद्धिदर गत आर्थिक वर्ष २०७८/०७९ मा पाँच दशमलव २६ प्रतिशत हुने संशोधित अनुमान रहेको र आर्थिक वर्ष २०७७/०७८ मा चार दशमलव ४९ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

जीडीपीमा सेवा क्षेत्रको योगदान ६२ दशमलव चार प्रतिशत रहने अनुमान गरिएको छ । यो गत आर्थिक वर्षको तुलनामा एक दशमलव दुई प्रतिशत विन्दुले बढी हो । गत आर्थिक वर्ष जीडीपीमा सेवा क्षेत्रको योगदान ६१ दशमलव दुई प्रतिशत थियो । सेवा क्षेत्रअन्तर्गत थोक तथा खुद्रा व्यापार, आवास तथा भोजन सेवा, यातायात तथा भण्डारण, सूचना तथा सञ्चार, वित्तीय तथा बीमा क्षेत्र, घरजग्गा कारोबार, पेशागत तथा प्रशासनिक व्यावसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य र अन्य सेवाहरु पर्दछन् । अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्यअभिवृद्धि वृद्धिदर स्थिर मूल्यमा दुई दशमलव ३३ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको छ । आयात तथा आन्तरिक औद्योगिक उत्पादनहरुमा आएको गिरावटले थोक तथा खुद्रा व्यापारमा ऋणात्मक वृद्धिदर रहेको र यातायात तथा भण्डारण सेवामा पनि न्यूनवृद्धिको कारण यस क्षेत्रको कुल मूल्यअभिवृद्धि वृद्धिदरमा गत आर्थिक वर्षको तुलनामा कमी आएको उल्लेख छ ।

यस्तै जीडीपीमा प्राथमिक क्षेत्रको योगदान २४ दशमलव छ प्रतिशत रहने अनुमान गरिएको छ । यो गत आर्थिक वर्षको तुलनामा शून्य दशमलव आठ प्रतिशत विन्दुले कम हो । गत आर्थिक वर्ष जीडीपीमा प्राथमिक क्षेत्रको योगदान २५ दशमलव दुई प्रतिशत थियो । चालू आर्थिक वर्षमा धानलगायतका वर्षे बालीको उत्पादन वृद्धि भए पनि हिउँदे बालीको साथै दूध, अण्डा तथा मासुको उत्पादनमा भएको सामान्य ह्रासले गर्दा यस क्षेत्रको उल्लेखनीय वृद्धि हुन नसकेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै गत आर्थिक वर्षमा जीडीपीमा १३ दशमलव पाँच प्रतिशत योगदान दिएको द्वितीय क्षेत्रको योगदान यो आर्थिक वर्ष केही खुम्चिएर १२ दशमलव नौ प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको छ । द्वितीय क्षेत्रअन्तर्गत उद्योग, विद्युत्, ग्यास, वाष्प तथा वातानुकूलित आपूर्ति सेवा, पानी आपूर्ति, ढल फोहोर व्यवस्थापन तथा पुनः उत्पादनका क्रियाकलापहरु र निर्माण क्षेत्र पर्दछन् । खासगरी उद्योग र निर्माण क्षेत्रमा आएको गिरावटको कारण यस क्षेत्रको कुल मूल्यअभिवृद्धि वृद्धिदरमा गत आर्थिक वर्षको तुलनामा कमी आएको प्रतिवेदनमा उल्लेख छ ।

कार्यालयले जीडीपीमा कृषि क्षेत्रको योगदान २४ दशमलव १२ प्रतिशत र गैरकृषि क्षेत्रको ७५ दशमलव ८८ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया