Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउद्योगी व्यवसायीको राहत प्याकेजप्रति उद्योग संगठन मोरङको असन्तुष्टि

उद्योगी व्यवसायीको राहत प्याकेजप्रति उद्योग संगठन मोरङको असन्तुष्टि


विराटनगर,चैत २४
केही दिनअगाडि संघीय सरकारको मन्त्रिपरिषद्बाट देशमा सञ्चालित उद्योग प्रतिष्ठानलाई १९ बुँदे राहत प्याकेज घोषणा भएकोप्रति उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले असन्तुष्टि व्यक्त गरेका छन् । उद्योग वाणिज्य महासंघका जिल्लामा रहेका व्यावसायिक संगठनका नगर तथा जिल्ला शाखाहरुमा उद्योग संगठनका अध्यक्ष भीम घिमिरेले पत्र नै लेखी यो महामारीका अवस्थामा सरकारले धराशायी बनेका उद्योग प्रतिष्ठानलाई उकास्न विभिन्न प्याकेज ल्याउनुपर्ने माग समेत गरेका छन् । अन्यथा उद्योगी व्यवसायी आन्दोलनमा समेत जानुपर्ने अवस्था आउने चेतावनी दिएका छन् । घिमिरेले केही दिनअगाडि लेखेको पत्रमा भनिएको छ, ‘हामीले विराटनगरबाट उद्गम गरेको बैंक र बीमा कम्पनीको सामन्तवाद, शोषण र अन्यायविरुद्धको आन्दोलन वीरगञ्ज हुँदै बुटवल भैरहवा नेपालगञ्ज हुँदै सम्पूर्ण नेपाल नै थर्कियो । बालुवाटारमा पुगेर प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री सम्बन्धित सात मन्त्री, ११ जना सचिव, छ जना महानिर्देशक र विद्युत् प्राधिकरणका कुलमान घिसिङ समेत बसेर तय गरेको सेवा सुविधा र गठित कार्यदलले प्रेषित प्रतिवेदनको बारेमा हामी चनाखो हुन जरुरी छ ।’ उनले अगाडि लेखेका छन्, ‘हालै विश्व नरसंहार गर्ने कोरोना रोगविरुद्ध हामी लडिरहेका छौँ । नेपाल राष्ट्र बैंकको पक्षपातपूर्ण व्यवहारले हामी उद्योगी व्यवसायीको हितको सन्देश प्राप्ति होला भन्ने झिनो आशा पनि नलिए हुने भयो । अब हामीले गर्नुपर्ने कार्यको लागि एकताको जरुरी देखिन्छ ।’ उनले कर्मचारी कामदारको ज्याला सरकारले दिनुपर्ने भन्दै आफूहरुले दिन नसक्ने बताए । त्यस्तै कम्तीमा लकडाउन र त्यसको थप एक महिनाको बैक ब्याज र विद्युत्को डिमान्ड शुल्क पूर्ण मिनाहा हुनुपर्ने, कर तिर्नुपर्ने किस्ता र विवरण बुझाउने म्याद कम्तीमा तीन महिना थप्नुपर्ने माग गरेका छन् ।

अत्यावश्यक वस्तु उत्पादन एवं आयात गर्न सरकारले कूटनीतिक पहल गरेर ढुवानीको व्यवस्था मिलाउन समेत सरकारसँग आग्रह गरे । साथै उनले बैंकको ब्याज गणना गर्दा यो आपत्कालीन अवस्थामा आधार दर मात्रै लिन नेपाल रास्ट्र बैंकले सबै मातहतलाई तुरुन्तै निर्देशन गर्नुपर्ने बताए । उद्योगी व्यवसायीहरु डिप्रेसनको अवस्थामा पुगेका हुनाले तुरुन्तै अन्य मुलुक एवं छिमेकी मुलुकले गरेका घोषणालाई समेत विवेकपूर्ण विचार गरी राम्रा कुराको अनुकरण गर्न सरकारलाई आग्रह गर्न नेतृत्वलाई सुझाव समेत दिए । नेतृत्वले चासो नदेखाए जिल्ला र नगर मात्रै एक जुट भएर राष्ट्रिय आन्दोलनको तयारीमा जुट्न जरुरी रहेको उनको भनाइ छ । त्यसको नेतृत्व लिन उद्योग संगठन तयार रहेको उनले बताए । उद्योग संगठन मोरङका अध्यक्षको चेतावनीपूर्ण पत्र देखेपछि स्थानीय उद्योगी तथा व्यापारीले अहिले सिंगो मुलुक कोभिड १९ का विरुद्ध लडिरहेको अवस्थामा उद्योगी व्यापारीले आफूअनुकूलको माग राखेर सरकारलाई असहयोग गर्ने अवस्था नभएको टिप्पणी गरे । यो बेलामा सरकारको हरेक कदमलाई सबै नेपालीले सहयोग गर्नुपर्ने बेला भएको आफनो धारणा पनि व्यक्त गरे । उनीहरुले विश्वव्यापी फैलिएको यो महामारी नियन्त्रणपछि सरकारसँग वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्ने धारणा उनीहरुले व्यक्त गरे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया