Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसहारा साकोसद्वारा कोरोनाविरुद्धको अभियानमा ५० लाख सहयोग

सहारा साकोसद्वारा कोरोनाविरुद्धको अभियानमा ५० लाख सहयोग


झापा,चैत २४

साहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २५औं स्थापना दिवसका अवसरमा कोरोनाविरुद्धको अभियानमा ५० लाख सहयोग गर्ने भएको छ । नेपालका सहकारीहरूमध्ये सबैभन्दा बढी सेयर सदस्य भएको झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोरोनाविरुद्धको अभियानमा ५० लाख सहयोगको घोषणा गरेको हो । एक लाख ४७ हजार जना सेयर सदस्य रहेको संस्थाले २५औं स्थापना दिवसको अवसर पारेर शुक्रबार राहत प्याकेज घोषणा गरेको छ । नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समन्वय समितिहरूसँगको सहकार्यमा आइसोलेसन, क्वारेन्टाइनमा बसेका तथा विपन्न परिवारहरूको लागि खाद्यान्न तथा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरूको लागि पीपीई सहयोग समेतको लागि सहारा कर्मचारी मानवीय सहायता कोषसहित ५० लाखको राहत प्याकेज घोषणा गरिएको संस्थाका सचिव महेन्द्र गिरीले जानकारी दिए । कोरोना संक्रमणका कारण मुलुकमा विद्यमान कठिन परिस्थितिमा सहकारी संस्थाले पनि आफ्ना सेयर सदस्यहरू, कर्मचारीहरू र समुदायको हितको लागि सहयोग गर्नु पर्ने दायित्व सम्झेर राहत प्याकेज घोषणा गरिएको संस्थाका सचिव गिरीले बताए । सस्थाले घोषणा गरेको राहत प्याकेजअन्तर्गत नेपाल सरकारले सञ्चालन गरेको कोरोना रोकथाम, नियन्त्रण र उपचारकोषमा ५ लाख, प्रदेश नं. १ सरकारसंगको सहकार्यमा आइसोलेसन अस्पतालमा खाद्यान्न ४ लाख, झापा, मोरङ, सुनसरी, उदयपुर र इलाम जिल्लामा क्वारेन्टाइनमा बसेकाहरूका लागि खाद्यान्नका लागि ११ लाख गर्ने संस्थाले जनाएको छ ।

यस्तै स्वास्थ्यकर्मी र प्रहरीलाई चार लाख रूपैयाँको पीपीई, भुटानी शरणार्थी शिविरका एक हजार परिवारलाई छ लाखको खाद्यान्न र विपन्न परिवारका लागि खाद्यान्न तथा विपद् कोषमा २० लाख रूपैयाँ प्रदान गरिने कार्यकारी प्रमुख गिरीले जानकारी दिए । संस्थाका अति विपन्न तथा लघुवित्त सदस्यहरूलाई लकडाउनको अवस्थामा घर खाँचो टार्न पाँच हजार रूपैयासम्म विनाब्याजको सापटी रकम उपलब्ध गराउनका लागि संस्थाले पाँच करोडको व्यवस्था गरेको छ । ऋणी सदस्यहरूले चैत्र मसान्तभित्र बुझाउनुपर्ने किस्ता तथा ब्याज २०७७ वैशाखभित्र बुझाउन तथा हर्जना छुटको व्यवस्था गरिएको संस्थाले जनाएको छ । प्रदेश नं. १ का झापा, मोरङ, सुनसरी, उदयपुर, इलाम र पाँचथर गरी ६ जिल्ला कार्यक्षेत्र रहेको संस्थामा एक लाख ४७ हजार जना सेयर सदस्य रहेका छन् । विगत २५ वर्षदेखि सदस्य र समुदायको हितमा काम गर्दै आएको सहारा नेपाल साकोसले एक अर्ब ३५ करोड सेयर रकम, सात अर्ब वचत, सात अर्ब ५० करोड ऋण लगानीसहित १० अर्बको कुल कारोबार गर्न सफल भएको छ । ६ जिल्लाका ६५ स्थानमा सेवा केन्द्रमार्फत संस्थाले पाँच सय जनालाई रोजगारी प्रदान गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया