अहिले सबैभन्दा ठूलो चुनौती स्रोतको छ : अर्थमन्त्री डा. महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटका लागि स्रोत जुटाउन निकै सकसपूर्ण रहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घले बुधबार काठमाडौँमा आयोजना गरेको प्रि–बजेट छलफलमा उनले अनिवार्य दायित्व सिर्जना भइसकेका बहुवर्षीय र क्रमागत आयोजनाका लागि समेत स्रोत जुटाउन धौधौको अवस्था रहेकाले नयाँ आयोजनालाई कसरी बजेटमा पार्ने भनेर चुनौती रहेको बताएका हुन् ।
“हजारौँ आयोजनाको ठेक्का लागिसकेको छ । तर त्यसको स्रोत सुनिश्चितता गर्न समस्या छ । अहिले सबैभन्दा ठूलो चुनौती भनेको स्रोतको चुनौती हो”, अर्थमन्त्री महतले भने, “सरकारी राजस्व कम छ । अनुदान र ऋण पनि लक्ष्यअनुसार सङ्कलन हुनसकेको छैन । धेरै ठाउँमा योजना दिनुपर्ने दबाब छ । तर हामीसँग स्रोत कम छ ।”
अर्थतन्त्रको दायरा फराकिलो बनाउन लगानी बढाउने विषय सरकारको प्राथमिकतामा रहेको पनि अर्थमन्त्री महतको भनाइ छ । “लगानीलाई सहज बनाउनुको विकल्प छैन । जति लगानी बढ्छ, त्यति राजस्व बढ्छ । नियम कानुन पालना गरेर सहज रुपमा उद्यम गर्नसक्ने वातावरण तयार पार्न सरकार कटिबद्ध छ”, उनले रासससँग भने ।
अर्थतन्त्र सुधारका लागि नयाँ अध्याय सुरु गर्नुपर्ने बेला आएको पनि अर्थमन्त्री डा. महतले बताए । अहिले पुँजीगत खर्च बढाउने र सार्वजनिक खर्च कटौती गर्नतर्फ सरकारको ध्यान केन्द्रत रहेको पनि उनको भनाइ छ । मौद्रिक नीतिको समीक्षामार्फत् ब्याजदर घटाउनेलगायत केही काम गर्न सकिने तथा विभिन्न क्षेत्रमा नीतिगत सुधार (पोलिसी इन्टरभेन्सन) आवश्यक पनि महतले उल्लेख गरे ।
आगामी आर्थिक वर्षको बजेटबारे निजी क्षेत्रका तर्फबाट सरकारलाई सुझाव प्रस्तुत गर्दै महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको संरचनात्मक सुधार आवश्यक रहेको बताए । त्यस्तै निजी क्षेत्रको सहकार्यमा आर्थिक सुधारका कार्यक्रम सुरु गर्न सरकारले कत्ति पनि ढिलाइ गर्न नहुने पनि उनले बताए ।
“भारत, चीन, रुवान्डा, बङ्गलादेशजस्ता मुलुकमा गरिबी तीव्र रुपमा घट्नुको कारण भनेको निजी क्षेत्रको नेतृत्वमा आर्थिक सुधारका कार्यक्रम अगाडि बढाउनु हो”, ढकालले भने, “अब आउने नीतिले त्यो आँट गर्नुपर्छ । हामी यत्तिकै बस्यौँ भने अर्थतन्त्रमा सुधार हुँदैन ।”
अर्थतन्त्र सुधारको प्रयास मौद्रिक नीतिको चौंथो त्रैमासिक समीक्षा, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिमार्फत् गरिनुपर्ने सुझाव ढकालको छ ।
स्वदेशी तथा विदेशी लगानीलाई बढाउन जरुरी रहेको पनि उनले बताए । “अहिलेको हाम्रो प्राथमिकता भनेको स्वदेशी र विदेशी लगानीलाई प्रवर्द्धन गर्न विशेष कार्यक्रम सञ्चालन गर्नु पनि हो । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउने, एकद्वार केन्द्र स्थापना गर्नेलगायतका काम गर्दा पनि लगानी बढ्न सकेको छैन । यसबारे सरकार गम्भीर हुन जरुरी छ”, अध्यक्ष ढकालले भने ।
कार्यक्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले उत्पादन र रोजगारीलाई केन्द्रमा राखेर बजेट ल्याइनुपर्ने बताए । आन्तरिक उत्पादन बढाएर आत्मनिर्भर अर्थतन्त्र स्थापना गर्न सकेमा मात्रै त्यो दिगो हुने उनको भनाइ छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
- तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
- ट्विटरको ट्रस्ट एन्ड सेफ्टी प्रमुखले दिइन् राजीनामा
- राष्ट्रियसभामा शोक प्रस्ताव पारित
- विभिन्न देशका लागि राष्ट्रपतिद्वारा राजदूत नियुक्त
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया