नक्कली शरणार्थी मामिलामा राष्ट्रसङ्घ चिन्तित
काठमाडौं,आर्थिक लेनदेन गरेर नक्कली भुटानी शरणार्थी बनाई विदेश पठाउने प्रपञ्च गरिएको मामिलाले नेपालको राजनीतिक वृत्तमा उथलपुथल भइरहेको बेला संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी उच्चायोग (यूएनएचसीआर)ले त्यसप्रति गहिरो चिन्ता प्रकट गरेको छ।
यूएनएचसीआरको नेपालस्थित कार्यालयले बीबीसी न्यूज नेपालीले सोधेको प्रश्नको लिखित जबाफ दिँदै ‘नेपाली नागरिकहरूलाई झुक्याइएको र ठगी गरिएको’ विषयप्रति आफूहरूको गहिरो चिन्ता रहेको प्रतिक्रिया दिएको छ।“यस मामिलामा नेपाल सरकारको अनुसन्धानको हामी स्वागत गर्छौँ,” उसले भनेको छ।
सो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् भने पक्राउ पुर्जी जारी गरिएका अर्का पूर्वमन्त्री टोपबहादुर रायमाझी फरार छन्।
‘शरणार्थीको सामूहिक पुनर्वास समाप्त भइसक्यो’
यूएनएचसीआरले नेपालबाट एक लाख १३ हजारभन्दा धेरै भुटानी शरणार्थीहरूलाई विभिन्न आठवटा देशमा पुनर्वासको सहजीकरण गरेको थियो।
त्यसमा झन्डै एक लाख शरणार्थीलाई अमेरिकाले स्वीकारेको थियो।“नेपालमा रहेका भुटानी शरणार्थीहरूको सामूहिक पुनर्वास कार्यक्रम सन् २०१६ को डिसेम्बर ३१ मा नै सम्पन्न भइसकेको छ र त्यो फेरि सञ्चालन हुने छैन,” यूएनएचसीआरले भनेको छ।
आफूले शरणार्थीको तेस्रो देश पुनर्वास कार्यक्रम सम्पन्न भइसकेको विषयलाई निरन्तर प्रस्तुत गर्दै आएको पनि यूएनएचसीआरले जनाएको छ।
नक्कली शरणार्थीको विषयका कारण नेपालको छवि अन्तर्राष्ट्रिय समुदायसामु बिग्रिने चिन्ताका माझ यूएनएचसीआरको अहिले प्रतिक्रिया आएको हो।
के हो पूरै मामिला?
सन् १९९० ताका भुटानबाट भारतको बाटो हुँदै नेपालमा आइपुगेका शरणार्थीहरूलाई पूर्वी नेपालको झापा र मोरङका विभिन्न शिविरमा राखिएको थियो।
स्वदेशफिर्तीको पर्खाइमा रहेका एक लाखभन्दा धेरै शरणार्थीहरू नेपाल र भुटानबीच सन् २००३ सम्म भएका १५ चरणका वार्ताले कुनै समाधान दिन नसकेपछि तेस्रो देश पुनर्वास रोज्न बाध्य भएका थिए।
उक्त योजनाअन्तर्गत अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्यूजील्यान्ड, यूके, डेन्मार्क, नेदरल्यान्ड्स र नर्वेमा अधिकांश शरणार्थीहरूको पुनर्वास भइसकेको छ।
नेपालमा बाँकी भएका ६,००० भन्दा बढी शरणार्थीहरू पूर्वी नेपालका बेलडाँगी तथा पथरी-शनिश्चरे शिविरमा छन्।तर अहिले तिनै बाँकी शरणार्थीको व्यवस्थापनबारे निर्क्योल हुने क्रममा नीतिगत रूपमै भ्रष्टाचार गरेर नक्कली शरणार्थीहरूको नामावली तयार पारेका भन्ने विवरण सञ्चारमाध्यमहरूमा छरपस्ट भएको हो।
उक्त मामिलालाई लिएर शरणार्थीको सूचीमा नक्कली नामहरू थपेर अमेरिका पठाउने भन्दै रकम असुल गरेको आरोपमा गत साता भूतपूर्व गृहसचिव टेकनारायण पाण्डेसहित पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको थियो। रायमाझी बुधवार दिउँसोसम्म फरार छन्।
यसै मामिलामा बुधवार बिहान पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाणलाई प्रहरीले उनको निवासबाटै पक्राउ गरेको छ।
खाणकी पत्नी मञ्जु खाण अनि पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाको नाम समेत यसमा मुछिएको भन्ने विवरणहरू आएका छन्।उनीहरूले आफूमाथि लागेका आरोपको खण्डन गरिरहेका छन्। (बीबीसी)
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत (पूर्ण पाठ)
- विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फण्ड स्थापना गरिने
- कृषिमा दर्जनौँ नयाँ कार्यक्रम
- पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गरिने
- गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
- स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
- अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाइनेछ : अर्थमन्त्री डा. महत
- प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया