Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएउटै शवले देश हल्लाउन खोज्ने कस्तो विडम्बना

एउटै शवले देश हल्लाउन खोज्ने कस्तो विडम्बना


बुटवल,चैत २५
कोरोना भाइरस (कोभिड–१९) को आतंक विश्वभर मच्चिएको छ । त्यसमा नेपालजस्तो सानो मुलुक त अछुतो रहने कुरै भएन । कोरोनाको त्रास त भयो भयो, कोरोनासँगै अन्य धेरै कुराहरूले नेपालीहरूलाई समस्यामा पारेको छ । आयात र रेमिट्यान्समा निर्भर नेपालमा यसपछिको अवस्था कस्तो हुने हो ? भन्ने चिन्ता पनि उत्तिकै छ । बजार अभावमा कृषिमा संलग्न कृषकहरूको आत्मविश्वास घट्दै गएको समयमा प्रवद्र्धनात्मक कृषि विकास चुनौतीपूर्ण यात्रा बनेको छ । दैनिक ज्यालादारी गरेर खानेलाई खाद्य संकटको चिन्ता छ । सबैलाई आ–आफ्नै चिन्ता र तनाब छ । ज्वरो आउने, रुघाखोकी लाग्ने समस्या देखिए निजी अस्पतालले नलिने, लिएपनि अस्पतालमा अन्य संक्रमित भए सर्छ कि भन्ने त्रास सारा नेपालीको साझा समस्या बनेको छ । संक्रमणमा जिउँदोको जन्ती जाने त सवाल हरायो हरायो, मर्दाको मलामी जान पनि मानिसहरू तयार हुँदैनन् । सबैलाई आफ्नै ज्यान बचाउने चिन्ता छ । त्यसमा पनि सरकारका जिम्मेवार अधिकारीहरूको संलग्नतामा स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएका आवाजहरूले सरकारलाई आलोचित बनाएको छ । संक्रमणकालीन विषम परिस्थितिमा पनि सरकारले आलोचित बन्ने काम गरेको हो कि, नियोजित तरिकाले आलोचित बनाइएको छ ? यो आम नागरिकको सुझबुझभन्दा बाहिरको कुरा हो ।यतिबेला बुटवलको धागो कारखानामा निर्माण गरिएको कोरोना विशेष अस्थायी अस्पताल केही चर्चाको स्रोत बनेको छ । उक्त अस्थायी अस्पतालमा भर्ना भएका ३४ वर्षीय बाबुराम थापाको गत चैत १६ गते आइसोलेशनमा मृत्यु भए पनि अहिलेसम्म उनको शवको अत्येष्टी हुन नसक्नु समस्याको प्रतिउत्पादन गर्ने स्रोत बन्दै गएको छ । रिब्दीकोट गाउँपालिका पाल्पामा स्थायी घर भएका थापा सैनामैना नगरपालिकामा अस्थायी बसोबास गर्दै आएका थिए । गत चैत ६ गते यूएईबाट नेपाल आएका थापा चैत १३ गते उक्त कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए । अस्पतालमा भर्ना भएको तीन दिनपछि अर्थात् गत चैत १६ गते उनको मृत्यु भएको थियो । नौ–नौ दिन बितिसक्दा पनि अस्पतालबाट शव उठ्न नसक्नु समन्वय, अविश्वास, चेतनाको कमीका साथै वास्तविकतामा बाँझिएका कुराहरूले सृजना गरेको अवस्था हो । जसले सम्बन्धित सबैप्रति प्रश्न चिह्न खडा गरेको छ ।

पारिवारिक स्रोतका कुराहरूलाई आधार मान्ने हो भने १३ गते भर्ना भएका उनको १६ गते मृत्युपछि मात्रै थ्रोट स्वाब संकलन गरी सोही दिन काठमाडौं पठाइयो । चिकित्सकहरूको चरम लापरबाहीले मृत्यु भयो । मृत्युको जिम्मेवारी सरकारले लिनु पर्छ र क्षतिपुर्ती पनि दिनुपर्छ भन्ने भए पनि यस विषयमा सरकारले ठोस निर्णय लिन ढिलाइ गरिरहेको छ । जुन ढिलाइले समस्या थप उत्कर्सतर्फ लम्किरहेको छ । सरकारका जिम्मेवार अधिकारीहरूले चिकित्सकको लापरबाहीले मृत्यु नभई निमोनियाको कारणले मृत्यु भएकोले क्षतिपूर्ति दिने सवाल नउठेको बताउँदै आएका छन् । तर पनि नौ दिनसम्म शव उठ्न नसक्नु कमजोर राज्य सञ्चालन व्यवस्थाको ज्वलन्त उदाहरण बनाएको छ । १३ गते भर्ना भएका थापाको मृत्युपछि १६ गते नै हतार गरेर स्वाब संकलन गरिनु आफैँमा संकास्पद बातावरण सृजना गर्ने आधार हो । सुरुमा कोरोनाकै कारण मृत्यु भएको हल्लाले कसैले पनि थापाको शव छुने आँट गरेनन् । तीन दिने उपचार अवधिमा संकास्पदकै कारणले चिकित्सकहरूले कस्तो उपचार विधि अपनाए वा अपनाएनन्, लापरवाही गरे वा गरेनन् त्यो सिसिटीभी क्यामेरामा कैद गरिएको भए क्यामेरा र चिकित्सकलाई थाहा छ, वास्तविकता के हो भन्ने । सिसिटिभी निगरानीमा थिएन भने चिकित्सकको निर्णय नै अन्तिम हो । परीक्षणपछि रिर्पोट नेगेटिभ आए पनि राज्यले वास्तविकता लुकाएको कुराले भित्रभित्रै चर्चा बटुलेको छ । यति वास्तवमै रिर्पोट नेगेटिभ नै हो भने सरकारले जनतालाई बुझाउन नसक्नु सरकारको कमजोरी हो । सरकारले होइनभन्दा भन्दै पनि बुझ्न नसक्नुमा जनचेतनाको कमी हो ।

मर्ने मरिहाल्यो, बाँच्नेलाई दुःख दिने वातावरण सृजना हुनु कसैका लागि पनि राम्रो पक्ष होइन । कोरोना विशेष अस्पतालमा मरेका थापाको वास्तविक मरणको बारेमा चित्तबुझ्दो जवाफ दिन ढिला गर्नु हुँदैन । समस्या जतिधेरै पाल्यो उतिधेरै बल्झिने हुँदा उक्त घटनाको समाधानका लागि समिति बनाएर छानविन गरी छरपष्ट पार्नु नै बुद्धिमानी कार्य हो । चिकित्सकबाट लापरवाही भए नभएको सीसीटीभी क्यामेरा हेरर छर्लङ पार्नु पर्छ । यदि चिकित्सकबाट लापरवाही भएको छैन भने वास्तविकतालाई फेस गर्न आनाकानी गर्नुको कुनै औचित्य छैन । वास्तविकता जान्न पाउने थापा परिवारको अधिकार हो । वास्तविकता देखाउनु सरकारको कर्तव्य हो । समस्या देखिनेबित्तिकै समस्या समाधान खोज्नु र समस्याले उघ्ररूप लिँदै जाँदा दबाबै दबाबले गर्नुमा आकाश जमिनको फरक हुन्छ । पहिला गरिएको कामले उच्च सम्मान दिलाउँछ भने पछि गरिएको कामले धेरै भन्दा धेरै आलोचित बनाई अपमान गर्छ । यही अवस्था रहिरहने हो भने एउटै शवले देश हल्लाउने स्थिति सृजना हुँदैन भन्ने कुनै ग्यारेण्टी छैन । त्यसैले सक्यो छिटो शवको अन्त्येष्टी गर्ने वातावरण मिलाउनु अहिलेको आवश्यकता हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया