काठमाडौं,जिल्लाको बैतेश्वर गाउँपालिका वडा नम्बर–६ बुस्तीमा रहेको लालीगुराँस सामुदायिक अस्पताललाई ५५ लाख रुपैयाँ बराबरको एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।
द–रोटरी फाउन्डेसनमा आबद्ध तीनवटा देशहरू अमेरिका, युके र नेपालको आर्थिक सहयोगमा उपलब्ध भएको एम्बुलेन्स शनिबार बागमती प्रदेशसभा सदस्य कुन्दनराज काफ्लेले अस्पताललाई हस्तान्तरण गरेका हुन् । अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गर्दै उनले अस्पतालको भौतिक संरचना निर्माण गर्न पहल गर्ने प्रतिबद्धता जाहेर गरे । अस्पतालमा देखिएका समस्या समाधान गर्न आफ्नो क्षेत्रबाट पहल तथा सहयोग गर्ने उनको भनाइ थियो । २०७७ सालमा स्थापना गरिएको यस अस्पतालमा एम्बुलेन्स आवश्यक रहेकोे गुनासो बढेपछि रोटरी क्लब पाटनको पहलमा रोटरी फाउन्डेसनले अस्पताललाई एउटा एम्बुलेन्ससहित ५५ लाख बराबरको उपकरण सहयोग गरेको अस्पतालका कार्यकारी निर्देशक डाक्टर सुरेन्द्र तामाङले जानकारी दिए ।
युकेका सहयोगी दाता द–डोब्रानको सहयोगमा सञ्चालन गरिएको उक्त अस्पतालमा स्थापनाको दुई वर्षमै करिब ११ हजार दुई सय बिरामीको उपचार भइसकेको डाक्टर तामाङले बताए । अस्थायी भवनबाटै सञ्चालनमा रहेको १५ शैयाको अस्पताललाई भौतिक संरचनादेखि जनशक्ति समेत अभाव रहेको उनले जानकारी दिए ।
पर्याप्त उपकरण र जनशक्ति मिले जिल्लाभरका बिरामीको सहज रूपमा उपचार गर्न सकिने अस्पतालले जनाएको छ । कार्यक्रममा बैतेश्वर गाउँपालिकाकी उपाध्यक्ष कल्पना उप्रेती, रोटरी क्लब अफ पाटनका अध्यक्ष शिवकुमार प्रधान, बैतेश्वर गाउँपालिका–३ वडाध्यक्ष कमल अधिकारी, ६ नं वडाका वडाध्यक्ष अशोक तामाङलगायतले अस्पतालको व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
अस्पतालको तथ्यांकअनुसार बैतेश्वर गाउँपालिकामा धेरैजसो हाडजोर्नीका बिरामी भेटिएकोले केही दिनमा फिजियोथेरापी उपकरण राखेर बिरामीको उपचार गर्ने जनाइएको छ । यस अस्पतालमा बैतेश्वर, जिरी, तामाकोसी र मेलुङ गाउँपालिकाबाट बिरामीहरु उपचार गर्न आउने गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- तराईमा उखरमाउलो गर्मी, मजदुरीदेखि पढाइसम्म प्रभावित
- संसद्को रेकर्डबाट कस्तो अभिव्यक्ति हटाइन्छ, ‘असंसदीय शब्द’ के हो ?
- प्रचण्डको भ्रमणपछि नेपाल-भारत सम्बन्धमा अविश्वास बढ्यो कि घट्यो?
- गरिब देशका नर्सहरूको पलायन ‘नियन्त्रणबाहिर’
- चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि
- संसद् बैठक सुरू नभएपछि निराश हुँदै फर्किए विद्यार्थी
- अझै भेटिएनन् सुनकोशीमा बेपत्ता कर्मचारी
- ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
धेरैले पढेको
- कृत्रिम गर्भाधानमा खुलेआम अवैध भारतीय लगानी !
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया