Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रधानमन्त्रीको जिल्लामा धमाधम काम निर्माण व्यवसायीले सहयोग पाएनन्

प्रधानमन्त्रीको जिल्लामा धमाधम काम निर्माण व्यवसायीले सहयोग पाएनन्


काठमाण्डौं,चैत २७

सडक डिभिजन दमकले लकडाउनको अवधिमा धमाधम सडकको काम गर्न थालेको छ । सरकारले तोकेको एउटा निश्चित दूरी कायम गरेर काम थालेको हो । सडक निर्माणसम्बन्धी समाचार भाइरल हुनथालेपछि अन्य जिल्लाका निर्माण व्यवसायी पनि कामका लागि तातेका छन् तर सडक कार्यालयहरु नै बन्द गरेर कर्मचारीहरु घरभित्रै बसेका छन् । त्यही कारण काम हुन सकेको छैन । दमक डिभिजन प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा छ ।

काठमाडौंको सडक डिभिजनले सडकको मार्किङ्ग गर्ने काम थालेपछि दमकको डिभिजनले भने निर्माणको काम नै थालेको छ । सडक निर्माण गर्दा मानिसको भीड नलाग्ने र यातायातको जाम नहुने भएको कारण यो समय रोजेको दमक डिभिजनले जनाएको छ । सडकका कर्मचारीहरु घरभित्रै बसेपछि केही निर्माण व्यवसायीहरुले भने काम गर्न पाउँ भन्दै डिभिजनलाई कराउन थालेपछि अहिले सडक डिभिजनका केही कार्यालयहरु धमाधम खुल्न थालेको छ । तर, सडक डिभिजन दाङ, जुम्ला, चौरजहारी, सुर्खेत, दमौलीलगायतका कार्यालयहरुले भौतिक काम नगरे पनि कागजबाट पूरा गर्नुपर्ने काम गरिरहेका छन् ।

ती डिभिजनले टेण्डरको सूचना निकाल्ने तथा मूल्यांकन गर्ने काम पूरा गरेका छन् । काठमाडौं डिभिजनले काम थालेपछि ललितपुर डिभिजनका प्रमुख पनि कार्यालय जान थालेका छन् । सडकका कार्यालयहरु खोल्नका लागि निर्माण व्यवसायीले नै दबाब दिनुपरेको छ । कार्यालय बन्द भए पनि सरकारी कर्मचारीले तलब पाउँछन् भने काम बन्द हुँदा निर्माण व्यवसायीले आफ्ना मेसिन तथा औजारहरुको बैंकको किस्ता तिर्न समस्या पर्छ ।

त्यही भएर उनीहरुले काम गर्न पाउँ भनेर फोन गरेर सडकका कार्यालयहरुलाई भन्न थालेका छन् ।नेपाल निर्माण व्यवसायी महासङ्घले लकडाउनको समयमा विकास निर्माणको काम गर्न तयार रहेको जानकारी मंगलबार नै विज्ञप्ति जारी गरेर सार्वजनिक गरेको छ । महासंघले सुरक्षा अपनाएर विकास निर्माणका काम गर्न गर्ने वातावरण मिलाउन सरकारलाई आग्रह गरे पनि सडक डिभिजनहरुले न्यूनतम सुरक्षा अपनाएर काम लगाउन आनाकानी गरिरहेका छन् । अहिले पनि झण्डै डेढ सय आयोजनामा एक लाख ५० हजार कामदार निर्माणस्थलमा रहेको नेपाल निर्माण व्यवयासी महासङ्घले जनाएको राससले पनि जनाएको छ । अहिले पनि धेरै स्थानमा वर्षा पहिले पुल निर्माण र नदी नियन्त्रणका काम सम्पन्न गर्नुपर्ने काम रहेको महासङ्घले जनाएको छ ।

कतिपय स्थानमा निर्माण सामग्री त्यसै खेर जाने अवस्थामा रहेको र कतिपय स्थानमा निर्माणको काम बीचैमा छाडिएकामा त्यसलाई अघि बढाउन सकिने महासङ्घका अध्यक्ष रबी सिंहले बताएको राससले जनाएको छ । कतिपय स्थानमा आधारभूत सबै काम सकिएर थोरै मात्रै बाँकी रहेको छ । महासङ्घले पूर्णरूपमा काम गर्नेभन्दा पनि अति आवश्यक र वर्षा पहिले गर्नैपर्ने काम मात्रै अहिले गर्न चाहेको महासंघको भनाइ छ । असारदेखि वर्षा सुरु हुने भएकाले त्यसअघि सम्पन्न हुने काम समेत रहेका छन् । सिंहले भने, ‘कतिपय स्थानमा थोरै मेहनत पछि उपलब्धि हुने कामलाई सरकरले सहजीकरण गर्नुपर्छ ।’

वर्षभरको सबैभन्दा काम गर्ने समयका रूपमा चैत, वैशाखको महिनालाई लिइन्छ । कतिपय स्थानमा नदी नियन्त्रणको काम वर्षा अघि नै सम्पन्न नगर्दा त्यहाँ वर्षामा ठूलो क्षतिको सम्भावना रहने उनले भने । कतिपय पुल वर्षा अघि नै सम्पन्न गरिने लक्ष्य लिइएको छ । उनले भने, ‘सरकार आफैँले ती स्थानमा आवश्यक छ र गर्न सकिन्छ भनेर छुट्टाउनुपर्छ ।’अहिले निर्माणस्थलमै रहेका जनशक्तिलाई काममा लगाउन सकिने अध्यक्ष सिंहको भनाइ छ ।

त्यसबाहेक निर्माण व्यवसायीलाई थोरै सङ्ख्यामा प्राविधिक जनशक्ति मात्रै आवश्यक पर्ने उनले बताए । त्यससँगै सरकारका प्रतिनिधिले आवश्यक निगरानी गर्न जानुपर्ने हुन्छ । ‘लकडाउन’ को समय भएकाले आवश्यक सामाजिक दूरी कायम गरेर निर्माण गर्न सकिने उनको भनाइ छ । ‘यसले गर्दा काम गरिरहेका व्यक्ति, उसको परिवार र देशलाई पनि फाइदा पुग्छ भन्ने हामीलाई लागेको छ’, सिंहले भने ।
सडक विभागका महानिर्देशक केशवकुमार शर्माले विभिन्न स्थानमा अहिले पनि निर्माण सुचारु रहेको बताए । झण्डै आठ स्थानमा निर्माण भइरहेको विभागमा जानकारी आएको छ ।

सडक विभागका त्यहाँस्थित डिभिजनले त्यसको अनुगमन र समन्वय गरिरहेको छ । निर्माण भइरहेकामध्ये अधिकांश पुल निर्माणका ठेक्का छन् । विभागले निर्माण व्यवसायीलाई अहिले पनि आवश्यक समन्वय गरिरहेको उनको भनाइ छ । कतिपय स्थानमा ‘सवारी पास’का लागि विभागले आवश्यक सहजीकरण गरिरहेको हो । उनले भने, ‘सामाजिक दूरी कायम गरेर भइरहेका काममा समस्या छैन ।’

कतिपय स्थानमा काम भइरहेको र गर्न सक्ने अवस्था भएपनि सबै स्थानमा त्यही अवस्था नहुन सक्ने महानिर्देशक शर्माले बताए । कतिपय स्थानमा स्थानीय तहले काम गर्न हुँदैन भनेको अवस्थामा निर्माणअघि बढाउन नसकिने उनले बताएको राससले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया