Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलकडाउनको असर : किसानले पाकेको बाली भित्र्याउन पाएनन्

लकडाउनको असर : किसानले पाकेको बाली भित्र्याउन पाएनन्


काठमाण्डौं,चैत २८
विश्वभरि महामारीको रूपमा फैलिरहेको नोबल कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै सरकारले लगाएको तीनहप्ते बन्दाबन्दीको असरले मुलुकको दैनिक जनजीवन थप प्रभावित हुँदै जान थालेको छ । लकडाउनका कारण किसानहरूले खेतबारीमा लगाएको अन्न बालीसमेत राम्रोसँग भित्र्याउन सकिरहेका छैनन् । के तराई, के पहाड दुवै ठाउँमा अहिले किसानहरूलाई गहँु, जौ, तोरी, आलुलगायत बालीहरू भित्र्याउने चटारो छ ।

तर, पाकेको बाली भित्र्याउनको लागि जनशक्ति र सवारी साधनको अभावका कारण त्यसै अलमलिएर बस्नुपरेको छ । पाकेर तयारी अवस्थामा पुगेको अन्नबालीसमेत जनशक्तिको अभावमा भित्र्याउन नसकेको गुनासो किसानहरूले गरेका छन् । किसानले यो सिजनमा पाकेको बाली घरमा भित्र्याएर अर्को बाली नआएसम्म पु¥याएर खाने समय हो ।यतिबेला खेतबारीमा मल बोक्ने र मकै रोप्ने चटारो किसानहरूलाई छ । तर, मल बोक्नको लागि आवश्यक सवारी साधन छैनन ।

भएका सवारी साधनका चालकहरू पनि आफ्नै गाउँघरमा लकडाउनमा परेर आवतजावत गर्न पाएका छैनन् । सहर बजारमा रोजगारीका लागि बसेकाहरू पनि घर फर्कन पाएका छैनन् । यति लामो समय लकडाउन होला भन्ने अनुमान कसैले पनि गरेका थिएनन् । एक हप्तामा लकडाउन खुला र घर जाउँला भनेर बसेकाहरू पनि आशको आशमा नै बसिरहेका छन । सवारी साधनको अभावमा आफ्नो घर फर्कन नपाएकाहरू सहर बजारमा भोकभोकै पर्न थालेपछि अहिले हिँडेर नै घर फर्किन थालेका छन् । उनीहरू घर पुगेपछि गाउँघरले केही राहत महसुस गर्नेछ र अन्नबाली भित्र्याउन पनि सहयोगी हुने अनुमान लगाउन सकिन्छ ।

तराईका अधिकांश जिल्लाहरूमा खेती लगाउने र बाली भित्र्याउने सिजनमा छिमेकीमुलुक भारतबाट काम गर्नको लागि ठूलो जमात लर्को लागेर आउने गर्दछन् । तर, अहिले एकातिर महामारीको डर र अर्कोतर्फ दुवै मुलुकले बोर्डर क्षेत्रलाई सिल गरेर ओहोरदोहोर गर्न बन्द गरिदिएपछि यसको प्रत्यक्ष मारमा किसानहरू परेका छन् । कामदार अभावका कारण खेतबारीमा पाकेर घर भित्र्याउन तयार भएको अन्नबाली खेतबारीमा ठाडै सुक्न थालेको समाचारहरू सार्वजनिक भइरहेका छन् । घरमा भएको जनशक्ति कमाउन भन्दै वैदेशिक रोजगारीमा गएको र ऊ पनि यही संक्रमणको त्रासले घर फर्कन पाएको छैन ।

यता घरमा भएका बुढाबुढीहरूले मात्र पाकेको बाली भित्र्याउन सक्ने अवस्था छैन । ज्याला दिएर काम लगाउँदै आएकाहरूले पनि श्रम गर्न आउने मानिस नै नभएपछि कसलाई काममा लगाउने उनीहरू अन्योलमा रहेका छन् । किसानहरूले पालेका पशु चौपायाहरू हालत पनि त्यस्तै छ । सार्वजनिक सवारी साधन नचलेका कारण उनीहरूले घाँस पराल र दानाको जोहो गर्न सकेका छैनन् । घाँस र दाना अभावको कारण पशु चौपायाहरू भोकभोकै पर्न थालेको बताइएको छ । कतिसम्म भने डकडाउनको सुरुवाती दिनमा किसानहरूले सजिलो गरी दुधसमेत बेच्न पाएनन् ।

काभ्रेको पाँचखाल नगरपालिका पशुपालक किसान माधव चौलागाईंले लकडाउनको सुरुवाती दिन चैत्र ११ र १२ गते दुई दिन दुधसमेत बेच्न सकेनन् । दुई दिन दुध बेच्न नपाएपछि दुध जमाएर मोही पारी त्यसबाट निस्केको घिउ बेचेर पशुचौपायको दानाको जोहो गर्नुपरेको उनले बताए । ‘हामी त दैनिक दुध बेचेर घरपालुवा गाईभैँसीलाई चाहिने आवश्यक दाना पानीको जोहो गरिरहेको थियौँ । एक्कासी लकडाउन भएपछि उनीहरूलाई चाहिने आवश्यक मात्रामा दानापानी र घाँसको व्यवस्थापन गर्न सकेनौँ’, उनको भनाइ छ । उनीसँग अहिले गाई, भैँसी र खसीबाख्रा गरी दुई दर्जनको संख्या छ ।

आवश्यक मात्रामा चोक्कर दाना र पराल ल्याउन नपाएपछि अहिले तिनै चौपाया घाँडो हुन थालेका छन् । खेतबारीमा लगाएको बाली घरसम्म ल्याउनको लागि पनि सवारी साधनको अभावले गर्दा ल्याउन सकिएको छैन । खेतबारीमा त्यतिकै थन्काएर राख्नुपरेको छ । महामारीको त्रास कम भएपछि ल्याउने भनेर बसेका उनीहरू लकडाउन थपिँदै गएपछि थप चिन्तित भएका छन् । आफ्ना घरमा भएका बलिया छोरानाति पराइको भूमिमा अहिले बिचल्लीमा परेर बस्नुपरेको छ ।

विदेश कमाउन गएकाहरू पनि चाहेर पनि घर फर्किन पाएका छैनन् । रोग सर्ने डरले सरकारले उनीहरूलाई स्वदेश नर्फक आदेश नै जारी गरेको छ । आगामी वैशाख १९ गतेसम्मका लागि अन्तर्राष्ट्रिय हवाइ यातयातलाई रोक लगाउने घोषना भइसकेको छ । यसकारण पनि उनीहरू उतै बस्न बाध्य छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया