Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिष्क्रिय कर्जाले वित्तीय स्थायित्वका सूचक कमजोर बन्दै

निष्क्रिय कर्जाले वित्तीय स्थायित्वका सूचक कमजोर बन्दै


काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० मा वित्तीय स्थायित्वमाथि दबाब बढ्दै गएको छ । आइतबार अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा बढ्दै गएकोे निष्क्रिय कर्जाले वित्तीय स्थायितवमाथि दबाब परेको उल्लेख गरेको छ ।

आर्थिक सर्वेक्षणमा भनिएको छ, ‘चालू आर्थिक वर्षको सुरुवातसँगै वित्तीय स्थायित्वका सूचकको स्थिति तुलनात्मकरूपमा कमजोर रहेको छ । यस अवधिमा बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जाको औसत अनुपात २०७८ पुसमा एक दशमलव ३१ प्रतिशत रहेकोमा २०७९ पुसमा दुई ६३ प्रतिशत रहेको छ ।’

बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांकअनुसार वैशाख मसान्तसम्म निष्क्रिय कर्जाको औसत अनुपात तीन प्रतिशतभन्दा माथि पुगिसकेको छ ।

निष्क्रिय कर्जा बढेको भए पनि बैंकहरूसँग तरल सम्पत्ति भने तुलनात्मकरूपमा ठीक रहेको देखाएको छ । ‘२०७९ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा तरल सम्पत्तिको अंश २४ दशमलव तीन प्रतिशत, नगद नगद तथा बैंक मौज्दातको अंश सात दशमलव एक छ प्रतिशत र कुल निक्षेप तथा प्राथमिक पुँजीमा कर्जाको अंश ८५ दशमलव छ प्रतिशत रहेको छ । जोखिम भारित सम्पत्तिको तुलनामा प्राथमिक पुँजी र कुल पुँजीको अनुपात क्रमशः १० दशमलव शून्य नौ प्रतिशत र १२ दशलमव २९ प्रतिशत रहेको छ’, आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

नेपालको वित्तीय प्रणालीको सम्पत्ति तथा दायित्व संरचनामा बैंकिङ क्षेत्रको हिस्सा उच्च रहेको छ । २०७९ पुस मसान्तमा वित्तीय क्षेत्रको कुल सम्पत्ति तथा दायित्व संरचनामा बैंक तथा वित्तीय संस्थाको अंश ८६ दशलमव छ प्रतिशत रहेको छ । वित्तीय क्षेत्रअन्तर्गत नेपाल राष्ट्र बैंकको अंश १४ दशमलव सात प्रतिशत, वाणिज्य बैंकहरूको अंश ५८ दशमलव आठ प्रतिशत र अन्य वित्तीय संस्थाहरूको अंश १३ दशमलव एक प्रतिशत रहेको छ ।

आर्थिक सर्वेक्षणअनुसार २०७९ फागुनसम्म लगानीमा रहेको कर्जामध्ये थोक तथा खुद्रा व्यापार २० दशमलव दुई प्रतिशत, उपभोग्य कर्जा १८ दशमलव तीन प्रतिशत, औद्योगिक उत्पादन १५ दशमलव पाँच प्रतिशत, सेवा उद्योग आठ दशमलव छ प्रतिशत, कृषि आठ दशमलव पाँच प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा छ दशमलव सात प्रतिशत र निर्माणको चार दशमलव दुई प्रतिशत रहेको छ ।

नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जातर्फको लगानी २०७९ फागुन मसान्तमा सात अर्ब १२ करोड लगानीमा रहेको छ । आर्थिक वर्ष २०७९÷८० को फागुनसम्म एक लाख ४८ हजार चार सय ५४ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई दुई खर्ब आठ अर्ब ९६ करोड कर्जा लगानीमा रहेको छ । कुल सहुलितयपूर्ण कर्जा लगानीमध्ये वाणिज्य बैंकबाट ८८ प्रतिशत, विकास बैंकबाट १० दशमलव छ प्रतिशत, फाइनान्स कम्पनीबाट एक दशमलव चार प्रतिशत र लघुवित्त संस्थाबाट शून्य दशमलव शून्य तीन प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७९/८० को फागुनसम्म प्रवाहित सहुलियतपूर्ण कर्जा लगानी दुई खर्ब आठ अर्ब ९६ करोडमध्ये सबैभन्दा बढी व्यावसायिक कृषि तथा पशुपन्छीतर्फ ६७ दशमलव आठ प्रतिशत, महिला उद्यमशील कर्जातर्फ ३० दशमलव सात प्रतिशत र सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकतर्फ एक दशमलव पाँच प्रतिशत रहेको छ ।

कोभिड–१९ बाट प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु-याउन सो क्षेत्रमा कार्यरत श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि २०७९ फागुनसम्म ८० करोड पाँच लाख कर्जा लगानीमा रहेको सर्वेक्षणमा उल्लेख छ ।

सर्वेक्षणले कोभिड–१९ को असरबाट अर्थतन्त्र क्रमिकरूपमा पुनरुत्थान हुँदै गइरहेकोमा रुस–युक्रेन युद्धको असर र गत आर्थिक वर्ष आयातमा तीव्र वृद्धि हुँदा चालू आर्थिक वर्षमा नेपालको बैंकिङ प्रणालीमा तरलता तथा लगानीयोग्य साधनमा कमी आई ब्याजदर बढेको उल्लेख छ । यद्यपि अर्थमन्त्री डा. प्रकाशशरण महतले पछिल्ला महिनाहरूमा बैंकिङ प्रणालीको तरलतामा सुधार भई ब्याजदर घट्ने क्रममा रहेको जनाएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया