Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रधानमन्त्री–मुख्यमन्त्री संवाद

प्रधानमन्त्री–मुख्यमन्त्री संवाद


काठमाण्डौं,चैत ३०

केन्द्र सरकारले लकडाउनको म्याद बढाउँदै भारतसँगको सीमामा आवतजावतलाई अझै कडाइ गर्ने देखिएको छ । शनिबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भिडियो संवादमा प्रदेशका मुख्यमन्त्रीहरुले भारतमा कोरोनाको संक्रमण तीव्र फैलिएको कारण नेपालले लकडाउन खोल्दा समस्या हुने भन्दै नेपालमा लकडाउन खोल्ने विषय भारतीय निर्णय हेरेर गर्न र अब भारतबाट एक जना पनि आउन दिन नहुने तथा नेपालबाट पनि भारत जान दिन नहुने सुझाव दिए । सोही सुझावको कारण लडकडाउन फेरि बढ्ने देखिएको हो ।

सरकारले आउँदो वैशाख ३ गतेसम्मका लागि लकडाउन गरेको छ । लकडाउनको क्रममा सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तह, एक जिल्लाबाट अर्को जिल्ला र एक प्रदेशबाट अर्को प्रदेशमा जान नपाउने निर्णय गरे पनि अहिले धमाधम मानिसहरु आफ्नो जिल्ला जाने भनेर पैदलै हिँड्ने गरेका छन् । पैदलै हिँडेकाहरुलाई प्रहरीले चोकचोकमा ट्रक चढेर जान सहयोग गरेका छन् ।

प्रदेशका मुख्यमन्त्रीहरुले काठमाडौंबाट एक जना पनि मानिस बाहिर जान दिन हुने र काठमाडौं बाहिरबाट पनि काठमाडौंमा एक जना आउन दिन नहुने गरी सरकारले लकडाउनलाई कडाइ गर्न सुझाव दिएका थिए । लकडाउन केही दिनका लागि खुल्न सक्ने हल्ला चलेको बेला कतै पनि कसैलाई आवतजावत गर्न नदिने र थप कडाइ गर्न सरकारलाई प्रदेशबाट सुझाव आएपछि लकडाउनको अवधि बढ्ने संकेत देखिएको हो ।

भारतीय सीमामा कडाइ गर्ने अधिकार केन्द्र सरकारसँग मात्र भएको भन्दै प्रदेश १, २, ५ र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीलाई सुझाव दिएका थिए । मुख्यमन्त्रीहरुलाई प्रधानमन्त्री ओलीले लकडाउन छिट्टै अन्त्य हुँदैन भनेर आश्वस्त पारेका थिए । लकडाउन केही दिनका लागि खोलेर पुनः गर्दा रोग भित्रिने भन्दै स्वास्थ्यकर्मीहरुले पनि लकडाउनको म्याद थप गर्नुपर्ने सुझाव दिएका छन् । चौतर्फीबाट लकडाउन बढाउन सुझाव आएपछि सरकारले केही दिन लकडाउन थप गर्ने देखिएको छ ।

सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमन्त्री ओलीले छलफल सञ्चालन गर्दै यसबीचमा रोकथामका लागि भएका प्रयासहरू सकारात्मक नै रहेको र यसलाई अझ समन्वयात्मक ढङ्गले अघि बढ्न जरूरी रहेको बताएका थिए । प्रधानमन्त्री ओलीले लकडाउन छिट्टै अन्त्य नहुने, सीमामा अझ कडाइ हुने, भावुक कुरा गरेर लापरबाही स्वीकार्य नहुने र सङ्क्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको स्पष्ट पारेका थिए । ‘भारतमा सङ्क्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन सक्दैन । यसमा नरम बनेर लापरबाही नगर्न म आग्रह गर्दछु’, प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुसँग भनेका थिए ।

प्रधानमन्त्रीले सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक नरहेको स्पष्ट पार्दै सरकार स्वयंले अधिकारका साथ काम गरेको हुनाले १५ दिन घरमा बस्दै बीचबीचमा एकपटक निर्देशन दिएजस्तो गरी सरकारले काम गरोस् भन्ने जस्तो नगर्न आग्रह गरेका थिए । लकडाउनमा प्रशासनिक लापरबाही हुन नहुनेमा जोड दिँदै प्रधानमन्त्रीले मेला लाग्ने तथा मान्छे जम्मा हुने आदि क्रियाकलाप गर्न रोक्न प्रशासन र प्रहरी सजग हुनैपर्ने निर्देशन दिएका थिए । प्रधानमन्त्रीले जनतालाई दुःख दिन होइन, जनताको जीवन रक्षा गर्न नै लकडाउन अनिवार्य रहेको बुझ्न र बुझाउन सबैलाई सचेतनाको लागि आह्वान गरेका थिए ।

प्रधानमन्त्री ओलीले सामाजिक दूरी कायम गर्नुको अर्काे विकल्प नै नरहेको स्पष्ट गर्दै सरकार प्रभावकारी र सफल रूपमा यस काममा केन्द्रित रहेको हुँदा अनावश्यक भ्रम र दुष्प्रचार गर्ने तत्वहरूबाट प्रभावित नहुन पनि सबैलाई अनुरोध गरेका थिए । प्रधानमन्त्रीले सङ्क्रमणको नियन्त्रण र यसको अन्त्य गरिसक्दासम्म मुलुकको स्वास्थ्य उपचारको क्षेत्रले गुणात्मक फड्को मार्ने, प्रयोगशाला, उपकरण र स्वास्थ्य सामग्री तथा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष प्रगति हासिल भइसक्ने पनि बताएका थिए ।

करिब ४ घण्टाभन्दा चलेको छलफलमा सातै प्रदेशका मुख्यमन्त्रीले आआफ्नो प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका पहल र स्थितिबारे जानकारी गराएका थिए । मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीलाई भावुक भएर महामारीविरुद्धको लडाइमा सम्झौता गर्नै नहुने सुझाव दिएका थिए ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x