Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलकडाउनले रोकियो कालोपत्रको काम

लकडाउनले रोकियो कालोपत्रको काम


दोलखा,चैत ३०

कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागी गरेको लकडाउनका कारण लामोसाँघु–जिरी सडकखण्ड अन्र्तगतको चरिकोट–जिरी सडक निर्माण कार्य प्रभावित बनेको छ । चरिकोट देखि तामाकोसी बजारसम्मको १७ किलोमीटर सडक चैत दोस्रो सातादेखी कालोपत्रे हुने तयारी भएपनि लकडाउनका कारण रोकिएको हो ।

१७ किलोमीटर सडक असारसम्म कालोपत्र गरिसक्ने उद्देश्यले लामा कन्स्ट्रक्सनले तीब्र रूपमा काम गरिरहेको थियो तर सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागी लकडाउन गरेपछी सडक निर्माणको काम प्रभावित बनेको लामा कन्स्ट्रक्सनकसका सुपरभाइजर प्रकाश भण्डारीले बताए ।

उनका अनुसार आयोजनाले चैत १५ गतेदेखी १७ किलोमीटर सडकको कालोपत्र गर्ने तयारी थियो । उक्त तयारी अनुसार सडकको पहिलो तथा दोस्रो बेसको काम सकाएर ग्रावेल विछ्याउने काम करिब अन्तिम चरण पुगेको भण्डारीको भनाई छ । देश लकडाउन भएपछि जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर काम बन्द गर्न लगाएकाले निर्माण कम्पनीले चरिकोट देखी जिरीसम्मको ५५ किलोमीटरकै काम बन्द गरेको जनाएको छ ।

लामा कन्स्ट्रक्सन निर्माण कम्पनीले करिब सात सय कामदार लगाएर सडक निर्माणको काम गत वर्ष देखी सुरु गरेको छ । आयोजना कार्यरत सात सय कामदारमा करिब पाँच सय कामदार फिर्ता गएकोले काम हुन नसकेको निर्माण कम्पनीको भनाई छ । आयोजनाका इन्चार्ज रबिन्द्र श्रेष्ठका अनुसार फागुन देखी नै कालोपत्र गर्ने भनिएपनि आवस्यक सामाग्री सडकमा आइनपुगेकाले चैत दोस्रो सातादेखी सामान जुटाएर पिचको काम सुरु गर्ने तयारी थियो ।

लकडाउनले सबै काम बन्द भएको हुँदा अब तत्काल काम सुरु गर्न नसकिने अवस्था रहेको उनले बताए । निर्माण कम्पनीले ५५ किलोमीटर सडक निर्माणको काम एकैपटक सुरु गरेपनि कालोपत्र भने तीन चरणमा गर्ने जनाएको थियो । पहिलो चरणमा चरिकोट देखी तामाकोसी, दोस्रो चरणमा तामाकोसीदेखी मैनापोखरी र तेस्रो चरणमा मैनापोखरीदेखी जिरीसम्म पिच गर्ने योजना बनाएर काम गर्दै आएको थियो । लकडाउनका कारण सबै तिरको काम अलपत्र परेको निर्माण कम्पनीको भनाई छ ।

उक्त सडक निर्माण गर्न लामा कन्स्ट्रक्सनले २ अर्ब २८ करोडमा सम्झौता गरेको थियो । एक्जिम बैंकको ३ अर्ब ७० करोड सहुलियत ऋणमा उक्त सडक निर्माण कार्य भईरहेको सडक विभाग चरिकोटले जनाएको छ । सडक विभागका अनुसार गत वर्षको पुसमा भारतीय कम्पनी उडहिल र नेपाली कम्पनी लामा कन्स्ट्रक्सनलाई निर्माणको जिम्मा दिइएको हो । लामोसाँघु–जिरी सडक ३५ वर्षअघि स्विस सरकारले निर्माण
गरेको थियो ।

चरिकोट देखी तामाकोशी सम्मको १७ किलोमिटर सडक पिच गर्नमात्रै बाँकी रहेको छ भने बाँकी अन्य सडक निमार्णका लागी सडक भित्रका करिब २ हजार ६ सय रुख कटान र ३ सय ६३ वटा विद्युतको पोल हटाई सडक फराकिलो गर्ने काम भईरहेको निर्माण कम्पनीले जनाएको छ । विश्वभर फैलिएको कोरोनाले गर्दा सडकमा धेरै कामदार कार्यरत रहेको हुँदा उनीहरुमा पनि संक्रमण हुने खतरा देखिएकाले तत्कालका लागी सडक निर्माणको काम बन्द गरिएको प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले जानकारी दिए । लकडाउन लम्बिए सडक निर्माणको लागी बैकल्पिक उपाय निकाल्ने पनि उनले जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया