Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारशंकाको घेरामा मोदीसँग प्रचण्डको गोप्य वार्ता !

शंकाको घेरामा मोदीसँग प्रचण्डको गोप्य वार्ता !


काठमाडौं,नेपालको इतिहासका सम्भवतः सबैभन्दा कमजोर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबारदेखि मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा छन् । दुई सय ७५ सिटको संसद्मा ३२ सिट मात्र भएका प्रचण्ड वर्तमान प्रमुख प्रतिपक्षी एमालेको प्रस्तावमा गत पुस १० गते प्रधानमन्त्री भएका थिए । तर, पुस २७ गते उतिबेलाको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समेत विश्वासको मत दिएको थियो । पछि प्रचण्डले सत्ताको साझेदार फेरे र एमालेलाई छाडेर कांग्रेससँग सत्तासाझेदारी गरे र गरिरहेका छन् ।

नेपालको सत्ता राजनीतिका छट्टु र पल्टुराम मानिन्छन् प्रचण्ड । कहिले कसको त कहिले कसको समर्थनमा गइरहन्छन् तर जता गए पनि उनी सत्ताको सेरोफेरोमै रहिरहन चाहन्छन् । कथित १० वर्षे जनयुद्धको हत्या हिंसाको राजनीति त्यागेर शान्ति प्रक्रियामा आएको पनि १७ वर्ष भइसकेको छ । तर, शान्ति सम्झौताको सफल कार्यान्वयन अहिलेसम्म हुन सकेको छैन । सत्तास्वार्थलाई केन्द्रविन्दुमा राख्दा त्यसको समापन हुन नसकेको हो । शान्ति पक्रियाका सुरुका वर्षहरूमा कथित जनयुद्धकै घङधङीले शान्ति प्रक्रिया टुङ्ग्याउन रोकेको थियो भने पछिल्लो समय चुनाव जित्ने र सत्तामा पुग्ने एकसूत्रीय अभियानले अरु बाँकी सबै प्रक्रिया ओझेलमा पारेको छ ।

पल्टुराम प्रचण्डको चरित्र भारतको आँखाले हेर्दा चीननिकट देखिने र चिनियाँ चस्माले हेर्दा पश्चिमाजस्तो देखिने गर्दछ । अझ दरबारीयाहरूले भारतीयजस्तो देख्छन् । उनी आफूलाई फाइदा हुने भएपछि जता पनि लपक्क मिल्न सक्दछन्, यही हो उनको खुबी । उनको यही खुबीलाई उनका पूर्वसहकर्मी माओवादीहरूले पटक्कै पन पराएका छैनन् र बिस्तारै उनको साथ छाड्दै गएका छन् । मोहन वैद्य, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द, रामबहादुर थापाहरूले उनको साथ छोड्दै गए र तीमध्येका बादल र टोपबहादुर समूह भष्ट्रीकरणमा बदलिएको छ । माओवादीका यी समूहले प्रचण्डलाई नेता मानेर चुनाव जिताइदिने सम्भावना लगभग शून्यप्राय देखिन्छ । प्रचण्डले बाटो बिराएको आरोप लगाएर उनीहरूले साथ छाडेपछि माओवादीको जनमत खस्किएको हो ।

२०६४ को संविधान सभामा बहुमत ल्याएको माओवादीले गएको आम निर्वाचनमा कांग्रेसको समर्थनमा १८ सिट मात्र जितेको छ र समानुपातिक संख्या जोड्दा ३२ पुगेको छ । ३२ सिट हुँदा पनि प्रचण्डले प्रधानमन्त्री पद छाड्न चाहेनन् र कांगे्रससँगको गठबन्धनमा चुनाव लडेका प्रचण्ड एमालेका केपी ओलीको प्रस्तावमा प्रधानमन्त्री बन्न पुगेका हुन् । उनको यो प्रवृत्ति प्रचण्ड चरित्र बन्न पुगेको छ । उनी इतिहासकै कमजोर प्रधानमन्त्री हुन् । उनले लङ्गडो सरकारको नेतृत्व गरिरहेका छन् । साझेदारहरूको वैशाखीमा टिकेका छन् । तर पनि उनले आफूलाई कमजोर ठानेका छैनन् र राष्ट्रिय सहमतिको सरकार भन्न÷भनाउन समेत पछि परेका छैनन् । यद्यपि वास्तविकता त्यस्तो होइन । तथापि उनी आफूलाई कमजोर भएको सन्देश देश÷विदेश कतै पनि दिन चाहँदैनन् । अरुको इन्जिनियरिङमा फटाफट प्लटिङ गर्न माहिर मानिन्छन् । उनको जनयुद्धलाई त्यस्तै गरी अथ्र्याउनेहरूको पनि यहाँ कमी छैन । तर जे–जस्तो भइरहेको भए पनि आगामी चुनावका लागि प्रचण्डलाई पहिलो विकल्पले सुखद साथ दिने अवस्था छैन । यहाँसम्म कि प्रचण्डलाई छाडेर गएका सबै माओवादीले सबै कुरा बिर्सिएर प्रचण्डलाई समर्थन गरे पनि माओवादीका पक्षमा जनमत आउने अवस्था देखिँदैन ।

यथार्थमा प्रचण्ड अहिलेको अवस्थामा निरीह प्रधानमन्त्री हुन् । तर पनि नक्कली भुटानी शरणार्थी प्रकरणको पश्चिमा कार्डले अहिले उनलाई ठोस भूमिकामा उभ्याएको छ र त्यसमा नेपालको सत्ता संलग्न भएर पश्चिमा मुलुकमा आतंककारी सप्लाई भएको घटनाले अमेरिका नेपालसम्बन्धी आफ्नो पूर्वधारणामा पुनर्विचार गर्ने÷नगर्ने दोसाँधमा पुगेको छ । चीनलाई पन्छाउँदै गएर भारतलाई पोस्दै जाने नीतिले चीन वाक्कदिक्क नै भइसकेको हुनुपर्दछ । यद्यपि नेपालमा भारतको दिनदिनै प्रभाव बढी छ तथापि टसलचाहिँ अमेरिका र चीनको बढी छ । पछिल्लो समय यी तीनै शक्तिको तानातानमा परेको नेपाल कसैको पनि निकट हुन सकेको छैन । यस्तो अवस्थामा कमजोर हैसियतका प्रधानमन्त्रीले निम्तो मागीमागी मरिहत्ते गरेर भारत भ्रमण गर्नुलाई अर्थपूर्णरूपमा लिइएको छ । छिमेकीको कमजोरीमा समातेर कजाउने भारतीय विस्तारवादी नीति हो ।

प्रधानमन्त्री प्रचण्डका बाँकी तीन विकल्प लगभग ढोका बन्द भएका अवस्थामा छन् । माओवादीसँग एमालेले चुनावी तालमेल गरेर चुनाव जिताएर सत्तामा पु¥याउने अवस्था अब आउलाजस्तो देखिँदैन । पछिल्लो पटक ओलीले प्रधानमन्त्री बनाइदिएका प्रचण्ड तीन महिना पनि एमालेसँग टिक्न सकेनन् र यसअघि नेकपा बन्दा र फुट्दाभन्दा पनि अहिलेको नमीठो तिक्तता गहिरिँदै गएको छ । कांग्रेसले पनि प्रचण्डचरित्रलाई बुझ्दै गएको छ । कांग्रेससँगको सहकार्यको ढोकाको एउटा पाटो पनि अहिले नै बन्द भइसकेको अवस्था छ । एकातिर खुला भएको पाटोबाट अस्तित्व नै नभएको नागरिकता विधेयकदेखि अदालतको फैसलाविपरीत जबर्जस्तीरूपमा आममाफी भएका छन् । कांग्रेसको प्रचण्ड बोक्ने काँधले धेरै परसम्म यो बोझ खप्न सक्लाजस्तो देखिँदैन । सबै माओवादीले प्रचण्डलाई नेता नमान्ने, नमाने पनि चुनाव नजितिने एमालेले माओवादीलाई नबोक्ने र कांग्रेसले पनि प्रचण्डलाई नबोक्ने भएपछि अब प्रचण्ड कता जाने भनेर विकल्प खोज्न छट्पटाउनु उनको स्वाभावअनुकूलकै मान्नुपर्छ ।

यस्तो कमजोर अवस्थाका नेपालका प्रधानमन्त्री प्रचण्ड मरिहत्ते गरेर भारत भ्रमणमा रहेको यथार्थलाई भारतीय पक्षले सुनौलो अवसरमै लिएको हुनुपर्दछ र बिहीबार हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रधानमन्त्री प्रचण्डको गोप्य वार्तामा अर्को विकल्प खोज्ने प्रयास भयो भने पनि अन्यथा मान्नुपर्ने अवस्था देखिँदैन । शक्तिका पुजारी प्रचण्ड अब शक्तिविहीन भएर बस्न सक्दैनन् । दुई वर्षको सत्ता साझेदारीको पहिलो वर्ष जानै लागेको छ । अब १८ महिना बाँकी छ । त्यसपछि के भन्ने प्रश्न अहिले नै उठेको छ । प्रचण्डको यही कमजोरीलाई समातेर धार्मिक तानाशाही लाद्न चाहने भारतको विजेपी सत्ताले २०२४ को चुनाव लक्षित हुनेगरी प्रचण्डसँग विगतको दीर्घकालीन जनयुद्धजस्तै दीर्घकालीन सत्ता साझेदारी गर्ने प्रस्ताव अघि बढाउने पो हो कि भन्ने अहिले संशय उत्पन्न भएको छ । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा निस्कनुअघि सरकारी सञ्चार माध्यमलाई दिएको एउटा अन्तरवार्तामा अन्नत लोकतन्त्रको वकालत गरेका छन् ।

यद्यपि लोकतन्त्र आफैँमा उन्नत हुन्छ । त्यसलाई अगाडि उन्नत विशेषण झुण्डाइरहनु पर्दैन, भ्रष्ट्राचारविरुद्ध मिसन बनाउन लोकतन्त्रलाई विशेषण लगाउनुपर्ने आवश्यकता हुँदैन । तर, प्रधानमन्त्री प्रचण्डले त्यस्तो विशेषण लगाउने प्रयास गरेपछि भारतीय प्रधानमन्त्री मोदीसँगको गोप्य वार्ता शंकाको घेरामा तानिन पुगेको हो ।

भारतीय समकक्षी मोदीसँग प्रधानमन्त्री प्रचण्डको गोप्य वार्ता किन पनि शंकाको घेरामा परेको हो भने यहाँका शासकले एउटा कुरा गर्छु भनेर भारत गएर अर्कै कुरा र सम्झौता गर्नेगरेको डरलाग्दो विगत छ । गिरिजाप्रसाद कोइराला पनि २०४८ सालमा भारत जाँदा टनकपुर सम्झौता गर्छु भनेर गएका थिएनन् । फर्किएपछि पनि सम्झौता गरेको कुरा स्वीकारेका थिएनन् । तर, सम्झौता गरेका रहेछन् । सर्वोच्च अदालतले त्यसलाई खारेज गरिदिएको थियो । प्रधानमन्त्री भए पनि त्यतिबेला कोइराला कांग्रेसमा तेस्रो वरियताका थिए । त्यस्तै कमजोर पोजिसनमा रहेका व्याक्तिलाई शक्तिको प्रलोभनमा आफ्नो पासोमा पार्न भारतीय शासक सक्षम मानिन्छन् । २०१७ सालमा पनि राजा मेहन्द्रलाई त्यसै गरिएको थियो । तसर्थ देखाउने लवालस्कर जे भए पनि भित्री कुरो शंकाको घेरामा छ । त्यो पारदर्शी हुन जरुरी छ । यसरी घुँडा टेकेर भ्रमणमा गएको नेपालको प्रधानमन्त्रीलाई भारतले सदुपयोग गर्ने मौका चुकाउलाजस्तो लाग्दैन ।

मागेको भारत भ्रमणमा निस्कन दौरासुरुवाल लगाउँदै गर्दा प्रधानमन्त्री प्रचण्डले चीनको विशेष टोलीसँग अपर्झट गोप्य वार्ता गरेका थिए । अघिल्लो राति नेपाल आइपुगेको चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा सिचुवान प्रान्तका सचिव वाङ सिआओहुई नेतृत्वको टोलीसँग हतारमा त्यस्तो के वार्ता गर्नुपरेको हो दुवै पक्षले केही खुलाएका छैनन् ।

तर, प्रधानमन्त्री प्रचण्डले भारतको भ्रमणको तयारी गरिरहँदा विगतमा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको क्रममा सम्झौता भएको तमोर जलविद्युत् आयोजनाको निर्माण चिनियाँ पक्षबाट खोसेर भारतीय पक्षलाई दिने पक्रिया अगाडि गराएको समाचार प्रकाशमा आएको थियो । त्यसैको असन्तुष्टि मात्रै चिनियाँ विशेष टोलीको नेपाल आगमन होइन । अर्को देशको भ्रमणको तयारी गरेर निस्किन लाग्दा अर्को छिमेकीले यति धेरै चासो र महत्व दिनु नेपालको सन्तुलित परराष्ट्र नीति नरहेको संकेत हो ।

यसअघि प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्दा चिनियाँ राजदूतले नै आफ्नो अप्ठ्यारो बुझेर हुवाओ सम्मेलनमा भाग नलिन सुझाव दिएको बताएका थिए । यसको केही दिनपछि चिनियाँ राजदूत छन् सोङले असन्तुष्टिको संकेत पठाएको बुझिएको छ । चीनका बारेमा यसरी झुट बोलेका प्रधानमन्त्रीले भारत भ्रमणमा निस्कन घोडा कलश पूजा गर्न लाग्दा चिनियाँपक्षसँग अपर्झट वार्ता गर्नुपर्ने नौमत उनकै अपरिपक्वताको परिणाम हो । अर्को छिमेकको भ्रमणमा निस्कन लाग्दा छिमेकीले यसरी दबाब दिएका घटना विरलै मात्र सुन्न र देख्न पाइन्छ । यो घटनाले पनि प्रधानमन्त्री प्रचण्डको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको ‘वान टु वान’ वार्ता सबैका लागि चासोको विषय बन्न पुगेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया