Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रचण्डको भारत भ्रमणमा गोप्य ‘सुपरहिट’ समझदारी !

प्रचण्डको भारत भ्रमणमा गोप्य ‘सुपरहिट’ समझदारी !


काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग ‘वान टु वान’ वार्ता गरेका छन् र त्यसअघि सातवटा समझदारीपत्रमा हस्ताक्षर भएको संयुक्त पत्रकार सम्मेलनमा जानाकारी गराएका छन् । संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री प्रचण्डसँग ‘सुपरहिट’ समझदारी भएको बताएका छन् तर सुपरहिट समझदारी के हो भन्ने विषयमा केही खुलाएका छैनन् । नेपालका प्रधानमन्त्री प्रचण्ड पनि सुपरहिट समझदारीका बारेमा मौन छन् । भारत भ्रमणको दोस्रो दिन प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीसँग गोप्य भेटवार्तालगायत विभिन्न समझदारीपत्रहरूमा हस्ताक्षर गरेका छन् । औपचारिक सम्झदारीहरूलाई केलाउँदा त्यस्तो सुपरहिट समझदारी कुनै देखिएको छैन तर राजनीतिक विवशताले पिल्सिएको अवस्थामा चिनियाँ पक्षको छेकबारबीच भारत भ्रमणमा निस्किएका प्रधानमन्त्री प्रचण्डले आफूलाई शक्तिमा राखिरहन भारतीय प्रधानमन्त्री मोदीसँग कुनै त्यस्तो गोप्य सहमति गर्ने पो हुन् कि भन्ने आशंका राजनीतिक वृत्तमा चलिरहेको बेला भारतीय प्रधानमन्त्री मोदीले नेपालको प्रधानमन्त्री प्रचण्डसँग सुपरहिट समझदारी गरेको अमूर्त टिप्पणी गरेर शंकालु मनहरूलाई झन् झस्काइदिएका छन् ।

प्रधानमन्त्री प्रचण्डको टोली बिहीबार दिनभरि नै भारतीय पक्षसँगको भेटवार्ता र समझदारीमै व्यस्त रह्यो । ती भेटवार्तामा नेपाललाई अप्ठ्यारो परेको हवाई रुट दिने र भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्नेबारे कुनै सहमति भएको छैन ।

लिपुलेक, कालापानी, लिम्पियाधुराको विषयमा नेपाली जनताको गहिरो चासो रहेको छ तर त्यसका बारेमा पनि बिहीबार कुनै समझदारी भएको पत्र सार्वजनिक भएको छैन । भारतले नोटबन्दी गरेपछि नेपालमा थुप्रिएको एक हजार दरका भारतीय नोट अहिलेसम्म फिर्ता लिएको छैन । त्यो रकम अर्बौँ रुपैयाँ रहेको छ । जनस्तरमा थुप्रिएको त्यस्तो रकमको त लेखाजोखा नै छैन, नेपाल राष्ट्र बैंकको औपचारिक च्यानलमा रहेको भारु पनि भारतले फिर्ता लिएको छैन । त्यसलाई फिर्ता लिनेबारेमा पनि प्रचण्डको भ्रमणमा कुनै समझदारी भएको छैन । सीमा क्षेत्रमा हुने भारतीय पक्षको अतिक्रमण र ज्यादती रोक्ने विषयमा पनि कुनै ठोस समझदारी भएको पाइएको छैन । भारतसँग ईपीजी र अग्निपथबारेमा पनि कुनै समझदारी भएको छैन ।

विगत २५ वर्षदेखि नेपालीलाई पश्चिमबाट सूर्य उदाउने झुटो आश्वासन बाँडेर राखिएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना सम्पन्न गर्नेबारेमा थप कुनै समझदारी भएको पनि छैन तर जति समझदारी भएका छन् ती सबै भारतलाई सजिलो हुने र भारतले नै पाउने गरी भएका छन् । यहाँ प्रश्न उठेको छ कि यो भ्रमण र समझदारीबाट भारतले बिजुली पायो, तर नेपालले के पायो ? बिहीबार दुवै देशका प्रधानमन्त्रीले गरेको संयुुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले प्रस्टरूपमा प्रचण्डजी र मैले रामायण सर्किटको काम अघि बढाउँछौँ भनेर उद्घोष गरेका छन् । त्यसैलाई सुपरहिट समझदारी भनिएको हो भने पनि नेपालमा धार्मिक तानाशाही लाद्ने प्रयास भएको हो कि भन्ने शंका उब्जिएको छ । होइन भने नेपालको हित हुनेगरी खुला र पारदर्शीरूपमा त्यस्तो कुनै सुपरहिट समझदारी भएको देखिँदैन । भएका सबै समझदारीहरूले वर्षौँदेखिको गृहकार्यबाट बिहीबार औपचारिक समझदारीको रूप लिएका मात्र हुन् । बिहीबारका औपचारिक भेटवार्ता सकेपछि शुक्रबार भ्रमण टोलीका अनौपचारिक सदस्यहरू बिदा हुनेछन् र प्रचण्ड ४७ सदस्यीय औपचारिक टोलीका केही सदस्यलाई लिएर भारतले मिलाइदिएको निरीक्षण भ्रमणमा जानेछन् र शनिबार फेरि दिल्ली फर्किएर नेपाल फिर्ता हुनेछन् । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा जे–जति सम्झौता गरेका छन् ती सबै बिहीबार नै गरिसकेका छन् र उनले समझदारी गरिसकेपछि भारतीय प्रधानमन्त्री मोदीले त्यसलाई सुपरहिट समझदारी भनेका छन् ।

नेपाल र भारतबीच आधा दर्जनभन्दा बढी विषयहरूमा सम्झौता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा बिहीबार सातवटा सम्झौतामा हस्ताक्षार भएको हो । यी सम्झौताहरूमा तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट, दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माणलगायतका रहेका छन् । प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत समझदारी भएका विषयमा जानकारी दिएका हुन् ।

उक्त सम्झौताअनुसार नेपाल र भारतबीच पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) आगामी तीन महिनाभित्रै टुंगो लगाउने सहमति भएको छ । भारत भ्रमणका क्रममा हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग तीन महिनाभित्र पञ्चेश्वरको डीपीआरको टुंगो लगाएर एक वर्षभित्र लगानीको प्रारूप टुंग्याउने सहमति भएको बताएका छन् । यसैगरी २४ वर्षपछि नेपाल–भारत पारवहन सन्धि परिमार्जन भएको छ । नेपालको वैदेशिक व्यापार सहजीकरणका लागि निकै महत्वपूर्ण मानिने नेपाल–भारत पारवहन सन्धि १९९९ संशोधनसहित नवीकरण भएको हो । सन् २०१९ मै म्याद सकिए पनि सन्धिको परिमार्जनका विषयमा सहमति हुन सकेको थिएन । उक्त सन्धि परिमार्जन भएपछि नेपालको वैदेशिक व्यापार अझै सहज भएको छ ।

नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारका लागि प्रारम्भिक सम्झौता भएको छ । प्रधानमन्त्री दाहाल भारत भ्रमणका क्रममा दुई देशका ऊर्जासचिवस्तरमा दीर्घकालीन विद्युत् व्यापारका लागि प्रारम्भिक सम्झौता भएको हो । सम्झौतामा ऊर्जा सचिव दिनेशकुमार घिमिरे र उनका भारतीय समकक्षी श्रीआलोक कुमारले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार नेपालले भारतसँग दीर्घकालीन विद्युत् व्यापारबारे अन्तरसरकारी सम्झौता गर्न प्रस्ताव गरेको र सोअनुसार भारतले २५ वर्षका लागि दीर्घकालीन विद्युत् व्यापार गर्न सम्झौता गर्ने सहमति जनाएको छ ।

प्रधानमन्त्री दाहालको भारत भ्रमणकै क्रममा भइरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणमा आधारित अवतरण प्रणाली (आईएलएस) सञ्चालन गर्ने बाटो खुलेको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले भारतीय समकक्षीसँग हैदरावाद हाउसमा भएको भेटपछि आयोजित पत्रकार सम्मेलनमा उक्त सम्झौताका बारेमा जानकारी दिएका हुन् । यसैगरी तल्लो अरुण जलविद्युत् आयोजनाको परियोजना विकास सम्झौता (पीडीए) भएको छ । ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजनाको विकासको लागि सतलज विद्युत् निगम (एसजेभीएन) अन्तर्गतको एसजेभीएन लोअर अरुण पावर डेभलपमेन्ट कम्पनीसँग पीडीए हो । पीडीएमा नेपालका तर्फबाट लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र भारतका तर्फबाट सतलज विद्युत् निगमका सीएमडी एनएल शर्माले हस्ताक्षर गरेका छन् ।

क्रसं बोर्डर कारोबारको लागि नेपाल र भारतबीच सम्झौता भएको छ । क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्न दुईपक्षीय सम्झौता भएको हो । अहिलेसम्म कार्डको माध्यमबाट वस्तु तथा सेवा खरिदमा क्रस बोर्डर (अन्तरदेशीय) भुक्तानी गर्न सकिए पनि क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्न पाइँदैन । तर, अब भारतमा भुक्तानी प्रणाली सञ्चालन गरिरहेको दुई कम्पनीहरूको ‘सिस्टम कनेक्ट’ गर्ने सम्झौतामा नेपाल क्लियरिङ हाउस र भारतको नेसनल पेमेन्ट कर्पोरेसन अफ इण्डियाबीच सम्झौता भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया