Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारपाँच वर्षमा हुने संसारीमाईको सप्ताहव्यापी महापूजा सुरु

पाँच वर्षमा हुने संसारीमाईको सप्ताहव्यापी महापूजा सुरु


जलेश्वर । महाशक्तिपीठका रुपमा मानिएको महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित संसारीमाईको महापूजाको सप्ताहव्यापी पूजाविधि शुक्रबारदेखि सुरु भएको छ ।

प्रत्येक पाँच वर्षमा एकपटक मात्रै हुने पूजा आज शुक्रबारदेखि विधिवत् रुपमा सुरु भएको संसारीमाई महापूजा समितिका अध्यक्ष अशोककुमार साहले बताए । सात दिनसम्म विभिन्न कार्यक्रम गरी मनाइने महापूजाको अन्तिम दिन पञ्चवलीका साथै हजारौँ पशुपक्षीको बलिपश्चात् पूजा समापन हुनेछ ।

सप्ताहव्यापी महापूजाको पहिलो दिन शुक्रबार जलेश्वर नगरपालिका–२ स्थित वरुण सरोवरको पूर्वी दक्षिणी कुनाको डीलमा अवस्थित माता संसारीको मन्दिरको सरसफाइ तथा विशेष जल (गङ्गाजलसहित)ले पखालेर शुद्ध पारिएको छ ।

रासस अनुसार जलेश्वर नगरभरि नै आज सरसफाई तथा शुद्धीकरण कार्यक्रम गरिएको जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले बताएका छन् । माताको मन्दिर तथा सम्पूर्ण जलेश्वर नै सरसफाइ कार्यक्रममा श्रद्धालु भक्तजनका साथै जिल्लाका सरकारी कर्मचारी र पूजा समितिका पदाधिकारी सरिक भएका थिए ।

दोस्रो दिन भोलि (शनिबार) कलश शोभा यात्रा गर्ने कार्यक्रम रहेको र यसमा हजारौँ कुमारी कन्याले कलश लिएर जलेश्वर नगरभरि शोभा यात्रा गर्नेछन् । शोभा यात्रामा बाजागाजा, नाचगान, भजनकीर्तन र हजारौँ भक्तजनको सहभागिता रहनेछ ।

महापूजाको तेस्रो दिन आइतबार माता संसारीको मन्दिर प्राङ्गणमा महापाठ (शक्ति स्वरुपा भगवतीको पाठ) गरिने कार्यक्रम छ । चौथो दिन माता संसारीको नगरीमा रहनुभएका बाबा जलेश्वरनाथ (नगर देवता) को मन्दिरमा लखराम पूजा गरिने कार्यक्रम रहेको संसारीमाई महापूजा समितिका अध्यक्ष अशोककुमार साहले बताए ।

चौथो दिन सोमबारदेखि तीन दिनसम्म संसारीमाईको ‘खोइछ भराई’ एवं प्रसाद चढाउने कार्यक्रम गरिन्छ । सो कार्यक्रमअन्तर्गत नगरभित्रका प्रत्येक घरका तथा माताप्रति आस्था भएका अन्य गाउँठाउँसहित भारतीय विभिन्न गाउँठाउँबाट पनि विवाहित महिलाले मातालाई खोइछ भर्नेछन् । खोइछमा मातालाई अक्षता, फूल, फल, सिन्दुर, टीका, मिठाइ, नरिवल, शृङ्गार वस्तु, सुन चाँदी चढाउने परम्परा छ । खोइछ भराई तीनदिन सम्म चलिरहन्छ ।

पाँचौँ दिन मङ्गलबार माताको पूजाअन्तर्गत नै हनुमान आराधना गरिने र छैटौँ दिन बुधबार अष्टजाम कार्यक्रम हुनेछन् । महापूजाको सातौँ दिन बिहीबारदेखि विशुद्धरुपमा माता संसारीको पूजाको आरम्भ हुनेछ । यस दिनमा माता संसारीलाई महापूजाका लागि आह्वान गरिनेछ । जसलाई देवबोलीमा (बिडी सलामी) भनिन्छ । मुख्य पुजारी महेन्द्र मुखियाले यस दिन माता संसारीलाई मन्दिरमा विराजमान हुनका लागि पूजा गर्नाका साथै बलि स्वीकार गर्न निम्तो दिनेछन् । सोही दिन साँझ माता संसारीको मन्दिरमा महाआरती पनि हुने र अन्तिम दिन आउँदो शुक्रबार माता संसारीको मन्दिरमा बलि चढाइन्छ ।

सो क्रममा जलेश्वर नगरक्षेत्रभित्र बस्ने प्रत्येक नगरवासीले संसारीमाईलाई अनिवार्यरुपमा बलि प्रदान गर्ने परम्परा छ । संसारीमाई संसारकै सबै वर्ग, जातजाति तथा व्यक्तिको आस्थाको केन्द्रबिन्दुका रुपमा रहनुभएकाले उहाँलाई बलिका रुपमा प्रत्येक वस्तु चढाइन्छ ।

सुरुमा पाँच जीवको पञ्चवली चढाइने र अन्यले आस्था र गच्छेअनुसार मुसो, परेवा, हाँस, कुखुरा, बोका, सुँगुर, बङ्गुर र अन्त्यमा राँगाको बलि चढाउँछन्। प्रत्येक पाँच वर्षको अन्तरालमा हुने संसारीमाईको पूजा यसपाली यही जेठ २६ गते शुक्रबारका दिन हुने पुजारी (धामी) महेन्द्र मुखियाले जानकारी दिए । यसअघि उक्त पूजा वि.सं २०७५ वैशाख २१ गतेको दिन भएको थियो ।

संसारीमाईको पूजामा लाखौँको सङ्ख्यामा नेपाल तथा भारतका श्रद्धालु एवं दर्शनार्थी सहभागी हुनाका साथै हजारौँको सङ्ख्यामा बलि चढाइन्छ । यस वर्ष यस महापूजामा करिब १० हजार बोकाको बलि दिइने तथा १० लाख भक्तजनले पूजामा सहभागिता जनाउने अनुमान गरिएको छ ।

योे पूजा कहिलेदेखि सुरु भएको हो भन्ने कसैलाई जानकारी नभए पनि सुरुसुरुमा प्रत्येक १२ वर्षमा हुने गरेको, त्यसपछि प्रत्येक सात वर्षमा र अन्तमा विगत तीन÷चार पटकदेखि प्रत्येक पाँच वर्षको अन्तरालमा हुँदै आएको बताइन्छ ।

जलेश्वरमा यस पूजाका अवसरमा ठूलो मेलासमेत आयोजना गरिएको छ । महापूजामा भक्तजन बढाउने उद्देश्यले भारतको मथुराबाट ठूलो एवं प्रख्यात भक्तिटोलीद्वारा रासलीला, भारतीय भोजपुरी तथा नेपाली र हिन्दी सिनेमाका कालाकारद्वारा सांस्कृतिक कार्यक्रम, झुला, विभिन्न खेलका साथै अन्य आकर्षक कार्यक्रमसमेत आजैदेखि सुरु भएको छ । महापूजामा पूजा समितिले गरेको भव्य तयारी तथा मेला र पूजाका लागि करिब रु एक करोड खर्च हुने अनुमान गरिएको छ ।


क्याटेगोरी : प्रदेश समाचार, मधेश प्रदेश, समाचार

तपाईको प्रतिक्रिया