Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनक्कली नेपाली बन्ने भारतीयलाई जोगाउन मधेस आयोगका सदस्य नै सक्रिय

नक्कली नेपाली बन्ने भारतीयलाई जोगाउन मधेस आयोगका सदस्य नै सक्रिय


काठमाडौं । नक्कली विवरण पेस गरी नेपाली नागरिकता लिएका भारतीय नागरिकलाई जोगाउन नेपाल प्रहरी र अदालतसम्म सेटिङ गर्न मधेस आयोगका सदस्य जीवछ साह र व्यापारी विजय साह सक्रिय भएका छन् । नागरिकता नै दोहोरो लिनेलाई जोगाउन सक्रिय हुनुले जीवछले संंवैधानिक आयोगको सदस्यजस्तो सम्मानित पदको खिल्ली उडाइदिएका छन् ।

विद्यादेवी भण्डारी राष्ट्रपति हुँदा केही समय स्वकीय सचिव समेत बसेका आयोग सदस्य साह एमालेकै नेताहरूको जोडबल र पैसाको मोलमोलाइमा मधेश आयोगमा छिरेका थिए । मधेश आयोग सदस्य भएसँगै म सबै मिलाउन सक्छु भन्दै भारतबाट नेपाल आई बसेर गलत धन्दा गर्नेहरूलाई जोगाउने, अप्ठ्यारो परे मिलाउने भन्दै रकम लिएर सहयोग गर्दै आएका छन् ।

अझ विवादास्पद व्यापारी एवं हुन्डी व्यापारीको नामले चर्चित विजय साहलाई साथ लिएर उनकै पैसामा आयोग सदस्य साहले न्यायाधीश, प्रहरीदेखि पत्रकारसम्म मिलाउने भन्दै अभियान नै चलाइरहेका छन् । काठमाडौं अपराध अनुसन्धान कार्यालयले वैशाख २३ गते नक्कली विवरण पेस गरेर नेपाली नागरिकता लिएका १० भारतीयलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

उनीहरूलाई प्रहरीले नक्कली नागरिकता प्रकरणमा कारबाहीका लागि सिरहा, रूपन्देही, बारालगायत जिल्लामा मुद्दा दायर गरेपछि सबैलाई मिलाइदिने र प्रहरी, न्यायाधीश सबैलाई आफूले मिलाउन सक्ने भन्दै आयोगका सदस्य साहले शंकास्पद गतिविधि चलाइरहेका हुन् ।

संवैधानिक आयोगका सदस्य रहेका व्यक्ति पटक–पटक सिरहा जिल्ला अदालत, कारागार पुगी भरतप्रसाद गुप्ता, उनको छोरा राहुल गुप्तालगायतलाई भेटी आफूले सबै सेटिङ गरेको भन्दै आश्वासन दिनेगरेको सिरहा प्रहरीले दाबी गरेको छ ।

व्यापारी साहको पैसामा आयोग सदस्य साहले पत्रकार, प्रहरी, सरकारी वकिल, सिरहाका न्यायाधीशलाई मिलाउने भन्दै गतिविधि चलाइरहेको स्रोतको दाबी छ । व्यापारी विजय साहका नाताले ज्वाइँ पर्ने राहुल गुप्तालाई उनीहरूले जेठ १७ गते जिल्ला न्यायाधीश काजीबहादुर राईको इजलासबाट दुई लाख धरौटीमा छुटाउन सफल भएसँगै यसमा थप रहस्य देखिएको छ ।

नेपाली र भारतीय दोहोरो नागरिकता भएका ३० वर्षे राहुल कसरी धरौटीमा छुट्न सफल भए भन्ने प्रसङ्ग अहिले सिरहा जिल्ला अदालतमा न्यायाधीशहरूबीच नै चल्न थालेको छ । अझ पुर्पक्षका लागि थुनामा परेका भरत र उनकी श्रीमतीलाई उच्च अदालतबाट निकाल्ने भन्दै उनीहरूले पैसाको ठूलो आश्वासन दिइरहेको स्रोतको दाबी छ ।

जीवछकै योजनामा भरतले नागरिकता बनाए
सिरहा स्थायी घर भई अनामनगर, देवीनगरमा बस्दै आएका जीवछ साह एमालेको हर्ताकर्ता कार्यकर्ता थिए । २०५४ मा सिरहाको गाविस अध्यक्ष भएका साहले नै २०६३ चैतमा भरतसँग पैसा लिएर नक्कली विवरण भरी जन्मसिद्धको आधारमा नागरिकता दिलाउन भूमिका खेलेका थिए । नागरिकता दिलाएपछि भरतलाई नै दुहुनो गाईजस्तै बनाएका उनले केही प¥यो कि पैसा लिने र म सबैसँग मिलाउन सक्छु भन्दै पैसा लिने, जग्गामा लगानी गर्नेगरेका थिए ।

अझ आर्थिक दैनिकले केही महिनाअघि भरतप्रसाद गुप्ताको नक्कली नागरिकताको बारेमा समाचार प्रकाशन गरेपछि पत्रकार मिलाउने र प्रेस काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत मेरो मान्छे हो, उसलाई मिलाउनुपर्छ भन्दै ४० लाख रुपैयाँ लिएको समेत रहस्य खुलेको छ । तर त्यो रकम पत्रकारको नाममा आफैँले राखेको र म पनि पूर्वपत्रकार हुँ, सबै मिलिसक्यो भन्ने गरेका छन् । उनको बारेमा थप छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

को हुन् विजय साह ? विवादास्पद व्यापारी साहको खास व्यापार हुन्डी हो । तर उनले आवरणमा अन्य काम देखाउँदै आएका छन् । राप्रपाका विराटनगरका नेता प्रल्हाद साहका भाइ विजयको केही वर्षअघिसम्म आर्थिक अवस्था सामान्य थियो । तर अहिले काठमाडौंको ताहाचलमा आलिसान घर, बल्खुमा बिजनेस पार्क, केएच इन्भेष्टमेन्ट कम्पनी खोलेर अवैध कालोधन लगानी गर्नेगरेको पाइएको छ । उनी हङकङ, थाइल्याण्ड, यूएई बसेर हुण्डीको कारोबार गर्नेगरेका छन् । यतिसम्म कि वैशाख २४ गते बानेश्वरमा पत्रकार सम्मेलन गर्दै गर्दा विजय साहले राहुल गुप्ता मेरो ज्वाइँ हो, बरु मैलै के गर्नुपर्छ गर्छु, राहुललाई सार्वजनिक नगरिदिनुस्, अरुको मलाई मतलब छैन भन्दै प्रहरी अधिकारीकहाँ पुगेका थिए ।

प्रहरीको खोजीकार्य जारी : काठमाडौं अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले वैशाख २४ गते पत्रकार सम्मेलनमा नक्कली विवरण बनाएर नागरिकता बनाउनेलाई पक्राउ गरे पनि यसमा संलग्न, नागरिकता बनाउने र प्रमाणपत्रमा हस्ताक्षर गर्ने सबैलाई कारबाहीको दायरामा ल्याउने बताएका थिए । सिरहा जिल्ला मिर्चैया नगरपालिका वडा न ८ बाट नेपाली नागरिकता लिएका भारतीय नागरिक भरतप्रसाद साह, उनकी श्रीमती ज्ञानमति गुप्ता, उनका छोरा राहुल गुप्तालाई कारबाहीको लागि सिरहा प्रहरीको जिम्मा लगाएको थियो ।

त्यस्तै पक्राउ परेका बारा जिल्लाबाट नागरिकता बनाएका भरत गुप्ता, उनकी श्रीमती स्नेहलता गुप्ता, उनका दाजु राजेश गुप्ता, उनकी श्रीमती मिनादेवी गुप्ता, त्यस्तै रूपन्देहीबाट नागरिकता लिएका गोपाल गुप्ता, रामप्रवेश गुप्ता, रामसुन्दर गुप्तालगायत रहेका थिए । उनीहरूलाई नागरिकता बनाउनेदेखि उनीहरूको बारेमा सेटिङ गर्छु भन्दै हिँड्ने व्यक्ति तथा आर्थिक लगानी गर्नेहरूको बारेमा सूक्ष्म अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया