Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारतामाकोसी आयोजनाका ज्यालादारी मजदुरहरू आन्दोलित

तामाकोसी आयोजनाका ज्यालादारी मजदुरहरू आन्दोलित


दोलखा । जिल्लाको बिगु गाउँपालिका–१ लामाबगरमा रहेकोे राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा कार्यरत ज्यालादारी मजदुरहरू करार नियुक्तिको माग राखी आन्दोलनमा उत्रिएका छन् ।

दैनिक ज्यालादारीको हिसाबले काम गर्दै आएका ३६ जना मजदुरहरू आयोजनासँग करार नियुक्तिको माग गर्दै गत जेठ १४ गतेदेखि आन्दोलनमा उत्रेका हुन् । आन्दोलनमा उत्रेका कर्मचारीहरू विगत १०÷१२ वर्षदेखि आयोजना निर्माणमा सवारी चालक र प्रशासन शाखामा कार्यरत रहेर काम गरेकाहरू छन् । यसअघि पटकपटक करार नियुक्तिका लागि निवेदन दिएकोमा आवश्यक कागजात मागेर करार नियुक्तिको आश्वासन दिए पनि हालसम्म कार्यान्वयन नगरेको भन्दै उनीहरूले संघर्ष समिति नै बनाएर जेठ ७ गते आयोजनालाई ७ दिने अल्टिमेटम दिएका थिए । समितिका संयोजक राजकुमार श्रेष्ठले सात दिनभित्र मागको सुनुवाइ नभएपछि जेठ १४ गतेदेखि शान्तिपूर्ण आन्दोलन थालिएको जानकारी दिए । आयोजनाका काममा कुनै अवरोध नगरी सवारी चालकहरूले आफ्ना सवारी नचलाई शान्तिपूर्णरूपमा धर्नामा बसेको संघर्स समितिका संयोजक श्रेष्ठले बताए ।

आन्दोलनको अवधिमा एकपटक काठमाडौं र एकपटक गोँगरमा वार्ता गरिएको भए पनि आयोजना पक्षले मजदुरको माग सम्बोधन नगरेपछि वार्ता बिनानिष्कर्ष टुङ्गिएको उनको भनाइ छ । आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूले बताएका छन् । मजदुरको आन्दोलनमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) दोलखा र बिगु गाउँपालिका वडा नम्बर–१ का मुख्य राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पनि ऐक्यबद्धता जनाएका छन् । शनिबार तीन दलका वडा तहको कमिटीका अध्यक्षहरूले संयुक्त विज्ञप्ति जारी गरी मजदुरका जायज माग तत्काल पूरा गर्न आयोजनालाई चेतावनी दिएका छन् ।


क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश, समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया