Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगङ्गा दशहरा मेला उद्घाटन गर्न प्रधानमन्त्री खप्तडमा

गङ्गा दशहरा मेला उद्घाटन गर्न प्रधानमन्त्री खप्तडमा


खप्तड । सुर्खेतको वीरेन्द्रनगरबाट नेपाली सेनाको हेलिकप्टरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ खप्तड आइपुगेका छन् ।

प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल खप्तडको गङ्गा दशहरा मेला उद्घाटन गर्न प्रधानमन्त्री दाहाल यहाँ आएका हुन् । सुदूरपश्चिम प्रदेशमा अवस्थित उक्त मेला खप्तड राष्ट्रिय निकुञ्जमा आयोजना गरिएको छ । निकुञ्जले बझाङ, बाजुरा, अछाम र डोटी जिल्लालाई ओगटेको छ ।

प्रधानमन्त्री दाहालसँगै गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री तथा पराराष्ट्रमन्त्री एनपी साउद, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकलगायत यहाँ आइपुगेका छन् । यसअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, प्रदेशका मन्त्रीलगायत खप्तड आइसकेका छन् ।

भारतीय योगगुरु बाबा रामदेव, पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्णलगायत आजै खप्तड क्षेत्रमा पहिलो पटक आयोजना गरिएको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनमा भाग लिन खप्तड आएका छन् । सम्मेलनको पहिलो दिन मंगलबार बाबा रामदेव र त्यसपछिका दुई दिन आचार्य बालकृष्णले योगा गराउने कार्यक्रम रहेको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहले जानकारी दिएका छन् ।

सम्मेलन यही जेठ २५ गतेसम्म सञ्चालन हुने छ । उक्त सम्मेलनमा पूव प्रधानमन्त्री, मन्त्री, संघीय सांसदलगायत अन्तर्राष्ट्रिय तहका आध्यात्मिक क्षेत्रका प्रतिष्ठित व्यक्ति सहभागी हुने खप्तड क्षेत्र पर्यटन तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले बताए । सम्मेलनमा सुदूरपश्चिमका लोकप्रिय सांस्कृतिक झाँकी भुँवा, हुडक्यौली, गौरा, देउडा, पुतला नाचलगायतका प्रस्तुत गरिने छ ।

खप्तड समुद्री सतहबाट झण्डै तीन हजार पाँच सय मिटरको उचाइमा रहेको छ । यो सम्मेलन सुदूरपश्चिम प्रदेश सरकार, पर्यटन बोर्ड तथा स्थानीय तहको सहकार्यमा आयोजना गरिएको हो । खप्तड राष्ट्रिय निकुञ्ज पनि रहेको यो क्षेत्र झण्डै दुई सय २५ वर्ग किलोमिटरमा फैलिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया