Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसमुन्नत पालिका बनाउन युवामैत्री कार्यक्रम ल्याइनुपर्छ : मन्त्री मोक्तान

समुन्नत पालिका बनाउन युवामैत्री कार्यक्रम ल्याइनुपर्छ : मन्त्री मोक्तान


हटौंडा । बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले समुन्नत पालिका र यसमार्फत समुन्नत प्रदेशको विकासका लागि युवामैत्री पालिका निर्माण गर्नुपर्ने धारणा व्यक्त गरेकी छिन् । उनले प्रदेश बागमती प्रदेशको युवा परिषद्ले प्रदेशका पालिकाहरुलाई युवामैत्री बनाउन आयोजित अभिमुखीकरण तालिममा यस्तो कुरा बताएकी हुन् ।

मन्त्री मोक्तानले युवालाई आफ्नो गाउँको विकासमा लगाएर विदेश पलायन रोक्नका लागि पनि पालिकालाई युवामैत्री बनाइनुपर्ने जनाइन् । उनका अनुसार स्थानीय युवामैत्री शासन निर्माण गर्दा उत्पादन पनि वृद्धि हुनेछ ।

प्रदेशका स्थानीय तहहरुबाट नगर वा गाउँपालिका प्रमुख, उपप्रमुख, कार्यपालिका सदस्य, प्रशासकीय अधिकृत, पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख, खेलकुद हेर्ने कार्यपालिका सदस्यसहितलाई तालिम दिइएको परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले राससलाई जानकारी दिए । उनका अनुसार कार्यक्रमको पहिलो दिन प्रदेश युवा नीति र कार्यक्रम, युवाको परिभाषा र विद्यमान कानुनी व्यवस्था र युवामैत्री स्थानीय शासनको अवधारणाबारे जानकारी गराइएको थियो । आज दोस्रो दिन स्थानीय शासनको सूचकहरुको विषयमा छलफल गरिएको उपाध्यक्ष चौलागाईंले जनाए ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले स्थानीय तहका हरेक नीतिगत तथा कार्यक्रमगत तहमा हुने गतिविधिमा युवामैत्री वातावरण निर्माण गर्न सकेमात्र त्यसले समग्र शासकीय प्रक्रिया तथा पद्धतिको गुणस्तर अभिवृद्धि हुने बताइन् । उनले शासन प्रणालीमा युवाको अर्थपूर्ण सहभागिता र उनीहरुको नेतृत्वलाई सुनिश्चित गर्दै स्थानीय तहको नीति, संरचना, प्रणाली कार्यप्रक्रिया तथा व्यवहारमा उनीहरूको संलग्नता सुनिश्चित गर्नका लागि युवामैत्री स्थानीय शासन आवश्यक रहेको बताइन् ।

परिषद्ले १३ जिल्लाको १५ पालिकालाई हेटौँडामा तालिम दिएको हो । तालिममा सहभागीले आ–आफ्नो पालिकालाई युवामैत्री बनाउन व्यवस्थित योजना बनाउनेछन् । प्रदेश र सङ्घीय सरकारको साथ र सहयोगमा पालिकालाई युवामैत्री बनाउन कार्यक्रम प्रभावकारी भएको सहभागीको भनाइ थियो ।

अभिमुखीकरणले युवा लक्षित कार्यक्रम तयार पार्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । युवाका मुद्दामा चाहेर पनि योजना बनाउन नसकेको उल्लेख गर्दै सहभागीले आगामी दिनमा युवालक्षित प्रभावकारी कार्यक्रम तयार पार्ने प्रतिबद्धता जनाए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया