Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारओलीको विशेष सम्बोधनको भ्रुण हत्या !

ओलीको विशेष सम्बोधनको भ्रुण हत्या !


काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले विशेष समय लिएर संसद्मा विशेष सम्बोधन गर्ने उद्घोष गरेका थिए । त्यो उद्घोष त्यही बेला आएको थियो जतिबेला नेता ओली तारन्तार बालुवाटार धाइरहेका थिए ।

तिनताका बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी ओेली तारन्तार बैठक बस्ने गर्दथे । ती बैठक साँझबिहान केही नभनी बस्ने गर्दथे र कसैले सोध्यो भने संसद्को गतिविधिलाई विशेषरूपमा अघि बढाउनुपर्ने भएकाले त्यसका लागि ठोस सहमति जुटाउन बैठक बस्नुपरेको भनिन्थ्यो । खासगरी ती बैठक प्रहरीले गृहसचिव टेकनारायण पाण्डेलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ गरेपछि हुनेगरेका थिए । प्रहरी नेतृत्वले सचिव पाण्डेलाई पनि उम्काउने अवस्था बन्दै भएको थियो । यसअघि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी प्रहरीको आँखा छलेर भागिसकेका थिए । प्रहरीको नजर सचिव पाण्डेमाथि थियो तर उपत्यका कमान्डले त्यतातिर समय नखर्चन पटक–पटक मौखिक निर्देशन दिइरहेको थियो । त्यही निर्देशनको सदुपयोग गरेर सचिव पाण्डे घर छाडेर साँगा पुगिसकेका थिए ।

निगरानी गर्ने प्रहरीले त्यसको सुइँकोसम्म पाएका थिएनन् । लौ अब उम्कने भयो भनेपछि नेतृत्वको निर्देशन थाती राखेर सादा पोसाकका प्रहरीले सचिव पाण्डेको घरमा प्रवेश गरेर सीटीईभीटीईमा लेखापाल रहेकी पाण्डेकी श्रीमतीलाई नजरबन्दमा लियो र लोग्नेलाई फोन गर्न लगायो । अरुको फोन उठाउन छाडेका सचिव पाण्डेले चलाइरहने मोबाइल घरमै छाडेर नयाँ नम्बर लिएर घर छाडेका थिए । श्रीमतीको फोन उठाएर कुरा गरेपछि प्रहरीले उनको लोकेसन थाहा पायो । उनी भएको ठाउँ साँगामा सादा पोसाकका प्रहरीले उनलाई घेरा हालेर काठमाडौं फर्काए । जडीबुटीमा पुगेपछि नियन्त्रणमा लिए । उपत्यका कमान्डको निर्देशन शिरोपर गरेको भए प्रहरीले १२ घण्टापछि पाण्डेलाई भेट्टाउन मुस्किल पर्ने थियो । उनी त्यतैबाट सीमापार भइसक्ने थिए । त्यसरी सचिव पाण्डेलाई नियन्त्रण गरेर आफ्नै नेतृत्वलाई प्रहरीले किन झुक्याउनु परेको थियो ? त्यो अहिलेको जल्दोबल्दो र अनुत्तरित प्रश्न हो ।

त्यसो त गैरभुटानीलाई भुटानी शरणार्थी बनाएर लैजाने धन्दामाथि छानबिन सुरु हुँदा यसले यति गहिरो रूप लेला र यति पेचिलो बन्ला भनेर यहाँ कसैले पनि सोचेका थिएनन् । भुक्का राजनीतिक नेतृत्व त अचेत नै थियो । छानबिनमा खटिएका प्रहरी हाकिमहरू पनि त्यति गम्भीर थिएनन् । सचिव पाण्डेसँग नाता सम्बन्ध जोडिएका प्रहरी अधिकारीहरू सुविचारित ढंगले लागेका थिए । प्रहरीका तल्लो तहका छानबिनका अधिकारीहरूले त्यसको छनक पाइसकेका थिए तर राजनीतिक नेतृत्व पूर्णरूपमा बेखबरजस्तै थियो ।

प्रहरीको त्यही नेतृत्वले प्रधानमन्त्री दाहाललाई पटक–पटक भेटेर आफूअनुकूल ब्रिफिङ गरेको थियो र प्रमुख प्रतिपक्षी दलका नेता ओलीसँग दुई घण्टा लामो एकल वार्ता गरेको थियो । ती वार्तामा अनुसन्धानमा संलग्न प्रहरी नेतृत्वले प्रधानमन्त्री दाहाललाई एउटा र नेता ओलीलाई अर्को ब्रिफिङ गरेको थियो । प्रहरीलाई त्यस्तो नौमत किन प¥यो भने सचिव पाण्डेसँग नाता जोडिएको थियो । उनलाई जोगाउन दोष अर्कोतिर सोभm्याएर आफूअनुकूल वातावरण बनाउनु थियो । त्यसको वातावरण प्रमबाट बनाउनुपर्ने थियो । अनि बुनियो आरजू देउवा सिंगापुर भागेको देखि मञ्जु खाँण अष्ट्रेलिया पुगेको सम्मको बनावटी स्टोरी । त्यसका लागि नेपाल प्रहरीको बर्दीको दुरूपयोग गरियो । त्यसमा एक जना डाक्टरलाई नै डाक्टरी जाँचको आवश्यकता टड्कारो देखिएको छ । विचराले हाकिमको ताबेदारी गर्न अरु त अरु आफ्ना साडुदेखि चिनेजानेकासम्म कसैलाई दुरूपयोग गर्न बाँकी राखेनन् ।

नक्कली भुटानी शरणार्थी प्रकरण दिनरात बित्दै जाँदा जटिल मोडमा गुज्रिन थाल्यो र त्यसमा यूएनएचसीआरको दबाब बढ्दै गयो । सुरुमा त प्रधानमन्त्री प्रचण्डले नचाहँदा नचाहँदै मैले कसैलाई पनि नछाड्न प्रहरीलाई आदेश दिएको भन्ने गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि ओझेलमा पर्दैै गए । प्रचारका स्टनबाजी एकपछि अर्को गर्दै पटाक्षेप हुँदै गए । प्रकरणमा नयाँ–नयाँ पात्रहरू जोडिँदै पनि गए । पात्रहरू थपिँदै जाँदा बालुवाटार बैठक झन् तीव्र गतिमा चल्न थाल्यो । हरेका पार्टीभित्रका प्रतिपक्षीहरू उफ्रिन थाले । त्यसरी उफार्ने सूचना पनि त्यही ठाउँबाट दिइएको थियो, जसले प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई सूचनाको ठेली बुझाएका थिए । बालकोटमा ती प्रहरी अधिकारीले दिएको सूचनाको ठेलीको अध्ययन गरेर संसद्मा फलानो दिन विशेष सम्बोधन गरेर घटनाको भण्डाफोर गर्छु भनेर उद्घोष गरेका ओली त्यो दिन संसद्मै गएनन् र सन्चो भएन भनेर सामाजिक सञ्जालमा सूचना चुहाए । प्रधानमन्त्री प्रचण्डसँग प्रश्नोत्तर भएकाले आफूले उठाउन लागेको गम्भीर विषय ओझेलमा पर्ने भएकाले त्यसदिन सम्बोधन नगरेको पनि भने । अर्को दिन सम्बोधन गर्ने र सबै छताछुल्ल पार्ने अर्को फरमान जारी गरे । तर, त्यो मितिको साइत अहिलेसम्म जुरेको छैन ।

घटनाक्रमले स्पष्ट पार्दै गएको छ कि प्रधानमन्त्री दाहालको नाम पनि जोडिएको छ । ओलीको सालो पनि मुछिएका छन् भने रामबहादुर थापाका बाउछोरा नै मुछिएका छन् । पासाङका छोरा दिपेश पनि नपोलिएका होइनन् । अर्कोलाई मुछेर आफ्ना अनुकूलकालाई उम्काउन खोज्दा टोपबहादुर उम्काइएका थिए । उनलाई कसले उम्कायो त्यो पनि कसैबाट छिपेको छैन । बल्लतल्ल प्रधानमन्त्री दाहालको जस्तै नेता ओलीको घैँटोमा पनि घाम लागेको हुनुपर्दछ, जसले गर्दा विशेष सम्बोधनको पूर्वघोषणाको सान्दर्भिकता सकिएको छ । त्यसको भ्रूण नै हत्या भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया