Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालको आर्थिक वृद्धिदर साढे २ प्रतिशत : आईएमएफ

नेपालको आर्थिक वृद्धिदर साढे २ प्रतिशत : आईएमएफ


काठमाण्डौं,वैशाख ३

अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले नेपालको सन् २०२० को आर्थिक वृद्धिदर साढे २ प्रतिशत हुने अनुमान प्रक्षेपण गरेको छ । ‘वल्र्ड इकोनोमिक आउटलुक’ रिपोर्ट सार्वजनिक गर्दै आईएमएफले उक्त प्रक्षेपण गरेको हो । कोषले सन् २०२१ मा भने नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने जनाएको छ ।

दक्षिण एसियाली देशमध्ये भारतको १.९ प्रतिशत र सन् २०२१ म ७.४ प्रतिशत वृद्धिदर अनुमान गरिएको छ । त्यस्तै माल्दिभ्सको माइनस ८.१ प्रतिशत, श्रीलंकाको माइनस ०.५ प्रतिशत, पाकिस्तानको माइनस १.५ प्रतिशत, अफगानिस्तानको माइनस ३.० प्रतिशत, बंगलादेशको २.० प्रतिशत, भुटानको २.७ प्रतिशत मात्रै वृद्धि हुने अनुमान कोषले गरेको छ ।

नेपाललाई कोषले उदाउँदो बजार र विकासोन्मुख अर्थतन्त्रमा राखेको छ । उदाउँदो र विकासोन्मुख एसिया क्षेत्रको सन् २०२० को आर्थिक वृद्धिदर १ प्रतिशत अनुमान गरेको कोषले सन् २०२१ मा यस क्षेत्रले ८.५ प्रतिशत वृद्धिदर हासिल गर्ने जनाएको छ । विश्व महामारी कोरोनाभाइरस संक्रमण बढेकोले समग्र विश्व अर्थतन्त्रमा यसको नकारात्मक प्रभाव परेको कोषले जनाएको छ । सोही कारण यो वर्ष विश्व अर्थतन्त्रमा माइनस ३ प्रतिशतले वृद्धिदर हुने अनुमान गरिएको छ ।

यो अनुमान सन् २००८÷००९ को वित्तीय संकटभन्दा खराब हो । महामारीको असर यो वर्षको उत्तरार्धसम्म देखिने कोषले जनाएको छ । सन् २०२१ म भने विश्व अर्थतन्त्रको वृद्धिदर ५.८ प्रतिशत रहने उसको अनुमान छ । अर्को वर्ष आर्थिक गतिविधि सामान्य हुने पनि उसले जनाएको छ । अहिलेकै अवस्थालाई हेर्दा विश्व अर्थतन्त्रको पूर्वानुमान गर्न कठिन रहेको समेत उसको भनाइ छ ।

अर्थतन्त्रलाई सामान्य अवस्थामा ल्याउन सरकारहरुले असरदार नीति अख्तियार गर्नुपर्ने आवश्यकता पनि उक्त प्रतिवेदनमा औँल्याइएको छ । त्यस्तै उसले अर्थतन्त्र जोगाउन व्यापक फराकिलो दायरायुक्त राहत प्याकेज ल्याउन पनि सुझाव दिएको छ । यस्तै बहुपक्षीय सहकार्यले मात्रै कोरोना संक्रमणविरुद्ध लड्न सकिने कोषको सुझाव छ । धेरै देश मिलेर सहकार्य नगरेसम्म महामारी रोक्न नसकिने आँकलन पनि उसले गरेको छ ।

नेपालसहितका २५ मुलुकले भुक्तानी गर्नुपर्ने ऋणको समयावधि थप
अन्तर्राष्ट्रिय मुद्राकोषले विश्वका अति निर्धन एवं जोखिममा रहेका नेपालसहित विश्वका २५ वटा मुलुकको करिब ५० करोड अमेरिकी डलर बराबरको ऋण भुक्तानीको समयावधि छ महिना बढाएको छ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरसका कारण उत्पन्न स्वास्थ्य एवं आर्थिक व्यवस्थापनका लागि संघर्षरत मुलुकहरुका लागि उक्त कदम चाल्नु परेको कोषले जनाएको छ ।

कोषकी कार्यकारी निर्देशक क्रिस्टिलिना जर्जिभाले जारी गरेको विज्ञप्तिमा यस्तो सुविधा प्राप्त गर्ने मुलुकहरुमा नेपाल सहित अफगानिस्तान, हैटी, सोलोमन आइल्यान्ड, ताजिकिस्तान र यमन तथा अफ्रिकाका १९ वटा मुलुक रहेको उल्लेख छ । उनले भनेकी छिन्, ‘कोषको यस नयाँ व्यवस्थाबाट कमजोर आर्थिक स्थिति रहेका मुलुकहरुले आफूसँग रहेको रकम अत्यावश्यकीय मेकिडल तथा अन्य राहत कार्यहरुमा खर्च गर्न मद्दत पुग्नेछ ।’

मुद्राकोषको ऋण सहायता प्राप्त गर्ने १९ वटा अफ्रिकी मुलुकहरुमा बेनिन, बुर्किना फासो, मध्य अफ्रिकी गणतन्त्र, चाड, कोमोरोस, कंगो, गाम्बिया, गिनी, गिनी बिसाउ, लाइबेरिया, म्याडागास्कार, मलावी, माली, मोजाम्बिक, नाइजर, रुवान्डा, साओ टोमे, सियरा लियोन र टोगो रहेका छन् ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस समेतका १६५ जना अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिहरुको समूहले अत्यन्त जोखिममा रहेका राष्ट्रहरुले भुक्तानी गर्नुपर्ने ऋणको म्याद थप गर्न हालैमात्र आग्रह गरेका थिए । जुबिली युएसए नेटवर्कका कार्यकारी निर्देशक एरिक लीकोम्प्टेले अन्तर्रा्ष्ट्रिय मुद्राकोषको कदमको स्वागत गर्दै गरिबीको चपेटामा रहेका मुलुकहरुका लागि अझै धेरै सहायता आवश्यक रहेकामा जोड दिए । उनले भने, ‘संकटको यस घडीमा सबै कर्जा माफ गर्नु आवश्यक छ ।’

 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया