Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमहाकाली अस्पतालले खरिद गरेको नया“ भेन्टिलेटर ‘सेकेण्डहेण्ड’

महाकाली अस्पतालले खरिद गरेको नया“ भेन्टिलेटर ‘सेकेण्डहेण्ड’


कञ्चनपुर,वैशाख ५

धनबहादुर जप्रेल

महाकाली अस्पतालले खरिद गरेको नयाँ उपकरण भेन्टिलेटर ‘सेकेन्डहेन्ड’को भएको पाइएको छ । प्रदेश सरकारले खरिद गरी महाकाली अस्पताललाई उपलब्ध गराइएको भेन्टिलेटर मेसिन पुरानो मोडल र खियासमेत लागेको भेन्टिलेटर भएको पाइएको छ ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरोना भाइरस (कोडिभ– १९) रोकथामका लागि छुट्याएको बजेटमा महाकाली अस्पतालको आईसीयू सञ्चालनका लागि भेन्टिलेटरसहितका पाँच उपकरण खरिद गरिएकोे थियो । खरिद गरिएका उक्त भ्यान्टिलेटर खिया लागेको र पुरानो मोडलका रहेको पाइएको हो ।

खरिदका लागि सुदूरपश्चिम प्रदेश सरकारले गत ११ चैतमा एक करोड रूपैयाँ बजेट छ्ट्याएकोे थियो । सोही बजेटबाट अस्पतालले ५५ लाख अनुमानित बजेटमा भेन्टिलेटरसहितका उपकरण खरिदका लागि सात दिने सूचना जारी गरेको थियो ।अस्पतालद्वारा गरिएको टेण्डर प्रक्रियाअनुसार काठमाडौं आरजी सप्लायर्स प्रालिले उक्त उपकरण खरिदको जिम्मेवारी पाएको थियो ।

आरजीले भ्याटविना नै पाँच उपकरण लागि ५३ लाख ८७ हजारमा सामान सप्लाइ गर्ने प्रस्ताव गरेको हो । अनुमानित बजेटभन्दा एक लाख ३० हजार कम मूल्यमै सामान खरिदका लागि ठेक्का सदर भएको थियो ।आरजीले भेन्टिलेटर २६ लाख ३९ हजार, पेसेन्ट मोनिटर दुई थान आठ लाख ७८ हजार, ग्यास एनालाइजर ११ लाख ९० हजार र ब्रिलेटर छ लाख ८० हजारमा खरिद गरेर अस्पतालमा दिएको थियो ।

महाकाली अस्पताल प्रशासनले सप्लायर्सलाई २८ चैतमा तीन दिनभित्र सम्झौता गर्न पत्र पठाए पनि कम्पनीले दुई दिनभित्र पुराना सामान पठायो तर सम्झौता भने नगरेको बताइएको छ ।सामान्यतया सामान खरिद गर्दा सामानको मूल्यासूची आउनुपर्ने र जसबाट उसको मोडल पत्ता लगाउन सकिने भएकाले पनि मोडल नै नपठाउँदा झन शंकाको घेरामा राखिएको अस्पतालका नर्स अधिकृत आकाक्षा सिंह राठोरले बताइन् ।

भेन्टिलेटर हेर्दा यसको बनावट र मोडल पुरानो तथा २०१५ को मोडेल रहेको र प्रयोगमा आएको उपकरण पनि पुराना भएकाले यसबारे कम्पनीका इन्जिनियरसँग कुरा गर्दा कम्पनीले नयाँ उपकरण हो भनेर दाबी गरेको महाकाली अस्पताल समिति कञ्चनपुरका अध्यक्ष कृष्णदत्त जोशीले जानकारी दिए ।यस्तै भेन्टिलेटर खरिदका सम्बन्धमा महाकाली अस्पताल प्रशासनले अस्पतालको व्यवस्थापन समितिलाई समेत जनकारी नदिएर ‘गुमराह’ मा राखी भेन्टिलेटरलगायतका स्वास्थ्य उपकरण खरिद गरेको खुलासा भएको देखिएको छ ।

अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहरूले अस्पतालको खरिद इकाइ तथा मूल्यांकन समितिले आफूहरूलाई ‘गुमराह’मा राखेर भेन्टिलेटरलगायतका स्वास्थ्य उपकरण खरिद गरेको बताएका छन् । महाकाली अस्पताल व्यवस्थापन समिति अध्यक्ष कृष्णदत्त जोशी, सदस्यहरू कृष्णनन्द भट्ट, कौशल्या ओझा र हरिराम चौधरीले बुधबार संयुक्त वक्तव्य जारी गर्दै अस्पतालको खरिद इकाइ तथा मूल्यांकन समितिले सार्वजनिक खरिद ऐन र नियमावलीविपरीत खरिद सम्झौताविना स्वास्थ्य सामग्री खरिद गरिएको दाबी गरेका छन् ।

‘व्यवस्थापन समितिलाई जानकारी नै नगराइकन र सार्वजनिक खरिद ऐन, नियमावलीविपरीत खरिद सम्झौताविना सामग्री भित्र्याउनेजस्ता कार्यप्रति व्यवस्थापन समिति आपत्ति प्रकट गर्दछ’, संयुक्त वक्तव्यमा भनिएको छ । अस्पताल प्रशासनले गत चैत १६ गते टेण्डर आह्वान गरिएपनि टेण्डर स्वीकृतिसम्बन्धी जानकारी व्यवस्थापन समितिलाई नभएको समेत अस्पताल व्यवस्थापन समितिले प्रस्ट्याएका छन् । ‘खरिद सम्झौताविना अस्पताल परिसरमा भेन्टिलेटरलगायतका उपकरण र सामग्री खरिद गरिएको कार्यले अस्पताल प्रशासनले व्यवस्थापन समितिसँग दूरी कायम राख्न खोजेको आभाष भएको छ,’ व्यवस्थापन समितिका पदाधिकारीहरूले भनेका छन् ।

व्यवस्थापन समितिले अस्पतालको भेन्टिलेटरसहितका उपकरण खरिद प्रक्रिया छानविनका लागि समिति गठन गरी वास्तविकता पत्ता लगाएर दोषीमाथि कारबाहीका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धतासमेत जनाएका छन् । ‘जनताको स्वास्थ्यका सवैधानिक हक, अधिकारहरूको सुनिश्चितता, गुणस्तरीय र विश्वसनीय स्वास्थ्य सेवा प्रवाहका लागि व्यवस्थापन समिति प्रयासरत रहेको अवस्थामा अस्पतालमा यस्ता किसिमका कार्यले समिति विचलित नहुने र यस्तो कार्य गर्ने र गराउने उपर नियमानुसार कडारूपमा प्रस्तुत हुने प्रतिबद्धता जाहेर गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया