Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएउटा लुकेको वास्तविकता

एउटा लुकेको वास्तविकता


बुटवल,बैशाख ९

पोसकान्त पोखरेल

कोरोना भाइरस संक्रमण रोक्न सरकारले लकडाउन गरेपछि एकाएक सबै क्षेत्रहरु बन्द भए । त्यसमा बैंक तथा वित्तीय संस्थाहरु आंशिक रुपमा खुलिरहेका छन् । अधिकांश बैंकहरुले आवश्यकताको आधारमा शाखा कार्यालयहरु खोलेर कारोबार गरिरहेका छन् । प्रायः सबैजसो बैंक तथा वित्तीय संस्थाहरुले एउटा जिल्लाको एक÷दुई वटा शाखा कार्यालय आलोपालो पद्धतिबाट दिनमा दुई घण्टा खोलेर कारोबार गर्दै आएका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुको यो पद्धतिले सम्भवतः बैंकिङ क्षेत्रको आवश्यकता पूर्ति गर्न सफल भएको छ । यतिबेला वित्तीय संस्थाहरुको आवश्यकता आफ्नो खातामा रहेको पैसा झिक्नको लागि भएकोले सर्वसाधारणहरु भविष्यको लागि साँचेर राखेको पैसा झिकेर काम चलाइरहेका छन् । सबैको मनमा बाँचियो भने पैसा त पछि पनि कमाइन्छ भन्ने छ । अहिले बैंकहरुमा पैसा जम्मा गर्ने र अन्य प्रयोजनको लागि भन्दा साँचेर राखेको ढुकुटीबाट निकाल्नेको संख्या तुलनात्मक रुपमा बढी छ ।

यो लकडाउनमा खुलेका बैंक तथा वित्तीय संस्थाका शाखाहरुबाट पैसा निकाल्नेको संख्या विगतको सहज परिस्थितिमा जस्तो छैन । अहिले एउटा वित्तीय संस्थाको एउटा शाखा कार्यालयबाट २० देखि माथि अथवा त्यसको सेरोफेरोमा ट्रान्ज्याक्सन हुने गरेको पाइन्छ । तुलनात्मक रुपमा मोबाइल बैंकिङ, एटीएम र अन्य डिजिटल प्रविधिको प्रयोगबाट पनि वित्तीय कारोबारहरु भइरहेका छन् ।

शाखा कार्यालयबाट सेवा लिन भन्दा डिजिटल प्रविधिको प्रयोग गरेर सेवा लिनको लागि बैंक तथा वित्तीय संस्थाहरुले सेवाग्राहीलाई बढी प्रोत्साहन गरेका छन् । वित्तीय संस्थाहरुले डिजिटल प्रविधिको प्रयोगका लागि सर्वसाधारणलाई प्रोत्साहन गर्नु राम्रै भए पनि डिजिटल प्रविधिमा अटोमेटिक टेलर मेसिन (एटीएम)को प्रयोग कति सुरक्षित छ ? एटीएमको प्रयोगबाट कोरोना भाइरसको संक्रमणको खतरा कतिको हुन्छ वा हुँदैन ? भन्ने प्रश्न एउटा लुकेको वास्तविकता हो । जुन कुरामा बैंक तथा वित्तीय संस्थाहरुले पनि ध्यान दिन नसक्नु र नियामक निकाय नेपाल राष्ट्र बैंकले पनि एटीएमबाट हुनसक्ने संक्रमणमा ध्यान दिन नसक्नु विडम्बनाको कुरा हो ।

संक्रमणकालीन वर्तमान समयमा बैंकमा चेकमार्फत नगद लिन जाँदा बाहिरै साबुन पानीले हात धोएर मास्क लगाई भित्र प्रवेश गर्नुपर्छ । भित्र प्रवेश गर्दा गेटमा रहेका बैंकका सुरक्षाकर्मीले हातमा स्यानिटाइजर राखिदिएर राम्रोसँग हात मिच्न आग्रह गर्दछन् । क्यास काउण्टरमाबाट पैसा लिँदा, चेक दिँदा दूरी कायम गरिन्छ ।

रुघाखोकी, ज्वरो आएको शंकास्पद जो कोहीलाई बैंकका सुरक्षाकर्मीले अस्पताल जाने सल्लाह दिँदै बाहिरैबाट फर्काउने गर्दछन् । यो देख्दा लाग्छ बैंक तथा वित्तीय संस्थाहरुले कोरोना भाइरस संक्रमण नियन्त्रणमा उच्च सावधानी अपनाएका छन् । हुन पनि बैंकमा जस्तोसुकै व्यक्तिको पनि प्रवेश हुने हुँदा कुनै एक संक्रमितले बैंकमा कार्यरत कर्मचारीमा संक्रमण सारे त्यसपछि आउने अधिकांश सेवाग्राहीमा उक्त कर्मचारीबाट संक्रमण फैलिने सम्भावना पनि उत्तिकै हुन्छ । संक्रमण रोक्न बैंक तथा वित्तीय संस्थाको उक्त सावधानी विधि एकदमै राम्रो र अनुकरणीय छ ।

बैंक तथा वित्तीय संस्थाहरुले शाखा कार्यालयहरुबाट हुने कारोबारमा जति सावधानी अपनाएका छन्, त्यति सावधानी एटीएमबाट पैसा निकाल्नको लागि एक प्रतिशत पनि अपनाएका छैनन् । एकातिर डिजिटल प्रविधिलाई प्रोत्साहन गर्ने भन्ने अर्कोतिर प्रविधिबाट निम्तिनसक्ने जोखिमको बारेमा ख्याल नगर्नुले बैंक तथा वित्तीय संस्थाहरुलाई पूर्ण रुपमा स्वार्थीको दर्जामा राख्दा कुनै फरक पर्दैैन । आफ्ना कर्मचारीहरुको स्वास्थ्यलाई मध्यनजर सुरक्षाका उपाय अपनाउने तर कर्मचारीभन्दा टाढा आमनागरिकको पहुँचमा रहेका एटीएम बुथहरुमा कुनै सावधानी नपनाई जसलाई जे भए हुन्छ भन्ने सांकेतिक आशय सर्वसाधारणमाथि गरिएको अदृश्य प्रहार हो ।

जुन प्रहारले यदि कुनै एक कोरोना भाइरस संक्रमित एटीएमबाट पैसा निकालेर जान्छ, त्यसपछि उक्त एटीएमबाट पैसा निकाल्न जानेहरुलाई पनि भाइरस संक्रमणको खतरा उत्तिकै हुन्छ । जसले एक, दुई गर्दै हजारौंमा संक्रमण फैलाउन पनि बेर लाग्दैन । वित्तीय संस्थाहरुले राखेका तीन÷तीन फिट लम्बाइ, चौडाइ र सात फिट उचाइ रहने बन्द अवस्थामा भुसुना पनि छिर्न नसक्ने अधिकांश एटीएम बुथहरुमा हेलमेट, कालो चस्मा, मास्क लगाएर बुथभित्र प्रवेश गर्न मनाही गरिएको हुन्छ ।

जहाँबाट जस्तोसुकै व्यक्ति आएर पनि एटीएमको प्रयोग गरेको हुन सक्छ । सबै स्वास्थ्य र स्वच्छ मान्छेले मात्र एटीएमको प्रयोग गर्दछन् भन्ने हुँदैन । २४ घण्टे सेवामा जसलाई जतिबेला आवश्यकता भयो उसले उतिबेला प्रयोग गर्दछ । एटीएम प्रयोग गर्ने समयमा न कसैले साबुन पानीले हात धुन्छ, न त वित्तीय संस्थाले स्यानिटाइजर लगाउन आग्रह गर्दछन् र दिन्छन् । शिक्षित मानिसले पैसा झिकेपछि पैसामा पनि संक्रमण हुनसक्ने डरले जेनतेन स्यानिटाइजर लगाऔँला तर आम एटीएम प्रयोगकर्ताहरुले त्यो विधि प्रयोग गर्दछन् भन्ने छैन । जेनतेन पैसा झिकेपछि स्यानिटाइजर लगाए पनि पैसा झिक्ने बेलामा मास्क खोल्नुपर्ने बाध्यात्मक अवस्थाको समय उसको लागि सबैभन्दा जोखिमपूर्ण बन्न सक्छ । एउटा संक्रमित व्यक्तिले पैसा निकाल्दा उक्त बुथमा किटाणु खसेर संक्रमण फैलियोे भने त्यसको जवाफदेहिता को ? कहाँबाट संक्रमण भयो भन्ने पनि पत्तो पनि हुँदैन ।

नेपालमा तरकारी आउने ठाउँका भारतीयमा कोरोना संक्रमण देखियो भनेर अहिले अधिकांशले भारतबाट आयातित तरकारी खान नाक खुम्च्याउँछन् । कसैले कसैलाई एक अर्काको घरमा आवजावत गरेको राम्रो मान्दैन । घरमा कोही पनि नआओस् भन्ने चाहना सबैको हुँदा यो समयमा विशेष सावधानी अपनाउनु जरुरी छ ।

एटीएमबाट पैसा निकाल्दैमा संक्रमण हुन्छ भन्ने होइन । तर एक संक्रमितले एटीएमबाट पैसा निकालेपछि त्यसपछि जानेलाई नसर्ला भन्ने कुनै ग्यारेण्टी छैन । बैंक तथा वित्तीय संस्था र उनीहरुको नियामक निकायले पनि एटीएम सुरक्षा जोखिमप्रति विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ । आमनागरिकले पनि सुरक्षालाई मध्यनजर गर्दै हरेक गतिविधि सावधानीका साथ गर्नु नै बुद्धिमानी कार्य हो । जसले आफू पनि बाँचिन्छ र अरुलाई पनि बचाउन महत्वपूर्ण भूमिका खेल्दछ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया