Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदोलखाका किसानलाई मल र बीउको समस्या

दोलखाका किसानलाई मल र बीउको समस्या


दोलखा,बैशाख ९
करिब एक महिनादेखि चलिरहेको लकडाउनका कारण दोलखामा रासायनिक मल र बीउको अभाव हुन थालेको छ । सरकारले कोरोना रोकथामको लागि भन्दै गत चैत ११ गतेदेखि देशलाई लकडाउन गरेपछि यसको प्रभाव मुख्यतया कृषिक्षेत्रका किसानलाई परेको छ । दोलखा अधिकांश मानिस कृषि पेसामा आबद्ध रहेका छन् ।

जिल्लाको खेतीयोग्य जमिनमा यो समय मकै, आलु र तरकारी खेतीको सिजन हो । बालीमा मल हाल्ने बेला भए पनि मल नपाएपछि किसान चिन्तित बनेका छन् । लकडाउनका कारण निजी तथा सरकारी कम्पनीले मल, बीउ बिक्री नगरेको र व्यवसायीले ढुवानी गर्न नपाएको कारण जिल्लामा मल बीउको चरम अभाव भएको छ ।

जिल्लामा कृषि कार्यालय नहुनु, मल, बीउ कारोबार गर्ने सीमित एग्रोभेटले पनि ती सामग्री ढुवानी गर्न नपाउँदा पहाडी जिल्लाको मुख्य खेती गर्ने मौसमका बेला मल, बीउ अभावले समस्या भएको किसानहरूको भनाइ छ । मकै गोड्ने बेलामा युरिया मल हाल्न नपाए उत्पादन घट्ने भीमेश्वर नगरपालिका ४, जिलुका किसान पर्वत चौलागाईले बताए । जिल्लाको माथिल्लो भू–भागमा मकै रोपिसकेका किसानलाई मल अभाव र तल्लो भूभागका किसानले मकैको बीउ नै अभावको समस्या झेलिरहेको थापा एग्रोभेटका प्रोप्राइटर बासु थापाले जानकार दिए । लकडाउनले बिहान बेलुका अत्यावश्यक समयमा पसल खोल्दा धेरै किसान मल, बीउ खोज्न आउने गरेको उनले बताए । त्यस्तै वर्षे आलु पनि गोड्ने बेला भएको छ ।

आलु गोड्ने बेलामा मल नपाउँदा उत्पादन घट्ने र लागतसमेत नउठ्ने हुँदा दोहोरो मारमा पर्ने भन्दै किसानले चिन्ता गरेका छन् । इजाजत प्राप्त निजी डिपो र सहकारीमार्फत रासायनिक मलको आपूर्ति तथा बिक्री हुने गरेकोमा उनीहरूले पनि करिब एक महिनादेखि ढुवानी गर्न पाएका छैनन् । लकडाउनका कारण खेतीपातीको काम गर्न समस्या भइरहेका बेला मलसमेत नपाउँदा चिन्ता थपिएको किसानहरू बताउँछन् । लकडाउन यथावत रहेकाले खेतीपाती गर्न र मल तथा बीउबिजनको जोहो गर्न सकिँदैन कि भन्ने चिन्ता किसानहरूमा थपिएको ओली एग्रोभेट चरिकोटका प्रोप्राइटर शान्तिप्रसाद ओली बताउँछन् ।

तत्कालीन कृषि विकास कार्यालयको तथ्यांकअनुसार जिल्लामा करिब तीन हजार टन रासायनिक मल खपत हुने गरेको थियो । विशेषत जिल्लामा युरिया, डीएपी र पोटास मलको प्रयोग हुने गरेको पाइएको छ । जिल्लाको लागि आवश्यक धानको बीउको मौज्दात शून्यजस्तै रहेको विभिन्न स्थानीय तहहरूले जनाएको छन् । २१९१ वर्ग किलोमिटर क्षेत्रफल रहेको दोलखाको २६ दशमलव ४५ प्रतिशत क्षेत्रफलमा कृषि खेती हुने गरेको तथ्यांक पाइन्छ । दोलखाका पाँच स्थानीयतहमा जेठदेखि साउनसम्म धान खेतीको सिजन सुरु हुन्छ । धान खेतीका किसान चैतदेखि वैशाखसम्म धानको बीउ जोहो गर्न थाल्छन् । तर, किसानले धान, मकै र कोदोको बीउ पाउन नसकेको गुनासो गरिरहेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया