नेपालमा किन आवश्यक छ चिनियाँ अनुभव, प्रविधि र लगानी ?

पशुपति मुरारका ,
गत अप्रिलमा गएको विनाशकारी भूकम्पको पीडाबाट छट्पटाइरहेका नेपाली जनतालाई मित्रराष्ट्र चीन सरकार तथा त्यहाँका जनताबाट पाएको मानवीय सहयोग एवं एकताका लागि नेपाली निजी क्षेत्रका तर्फबाट मित्रराष्ट्र चीन सरकार तथा चिनियाँ जनतामा हार्दिक आभार प्रकट गर्दछु । यस महत्वपूर्ण अवसरमा नेपालमा व्यवसायका अवसर तथा सहयोग एवं सहकार्यका सम्भावित क्षेत्रका विषयहरुमा नेपाली निजी क्षेत्रका तर्फबाट केही तथ्यसहितका झलकहरु राख्न चाहन्छु । चीन सरकारले अगाडि सारेको ‘एक क्षेत्र एक सडक’ परिकल्पनामा नेपाल एक हिस्सा हुन पाएकोमा दुई देशबीचको ऐतिहासिक दौत्य सम्बन्ध तथा आर्थिक सम्बन्धले थप उचाइ लिनेमा म पूर्णरुपमा विश्वस्त छु । साथै सील्करोड इकोनोमिक वेल्टको प्रवद्र्धनबाट हाम्रा आपसी व्यावसायिक सम्बन्ध अझ बढी परिणाममुखी हुने हाम्रो विश्वास छ । यसबाट साँच्चिकै नेपाल, चीन तथा दक्षिण एसियाकै व्यावसायिक पारवहन विन्दुको रुपमा रुपान्तरण हुने हाम्रो विश्वास छ । नेपाल र चीनबीच विशेष आर्थिक मार्गको शुभारम्भ तथा त्यसको आधुनिकीकरणबाट दुवै देशका जनताका साथै समग्रमा यो क्षेत्र नै लाभान्वित हुने हाम्रो विश्वास छ ।

व्यापार :
मित्रराष्ट्र चीन नेपालको प्रमुख व्यापारिक साझेदार पनि हो । तर नेपालको चीनसँगको व्यापारघाटा निकै उच्च रहेको कुरामा हामी सबै जानकार छौं । आर्थिक वर्ष सन् २०१४–१५ को व्यापारघाटा करिब ९९० मिलियन अमेरिकी डलर रहेको थियो । उक्त आर्थिक वर्षमा नेपालले चीनतर्फ करिव २३ दशमलव ७ मिलियन अमेरिकी डलरको वस्तु तथा सामानहरु निर्यात गरेको थियो भने चीनबाट करिब १०१३ दशमलव ७ मिलियन अमेरिकी डलरको वस्तु तथा सामानहरु आयात गरेको थियो । मित्रराष्ट्र चीन सरकारले करिब ८ हजार नेपाली उत्पादनहरुलाई दिएको शून्य भन्सार महसुलको सुविधाप्रति चिनियाँ सरकारमा आभार प्रकट गर्दछौं । चीन सरकारले उपलब्ध गराएको यस सुविधाबाट नेपाली उत्पादनहरुको चीनमा निर्यात प्रवद्र्धन तथा व्यापार अभिवृद्धिमा भरपूर उपयोग गरी व्यापारघाटा कम गर्ने महत्वपूर्ण औजार बन्नुपर्ने हाम्रो धारणा छ । बढ्दो व्यापारघाटा कम गर्न तथा नेपाली वस्तुहरुको चीनमा निर्यात बढाउनका लागि हामी चिनियाँ लगानीकर्ताहरुलाई नेपालमा वस्तु तथा सेवा उत्पादन गरी त्यसलाई चीन तथा दक्षिण एसियाको बजारमा निर्यात गर्न हामी खुला रुपमा आह्वान गर्दछौं । यति बेला नेपाल आर्थिक रुपमा अत्यन्त कमजोर रहेको र नीतिगत रुपमा बाह्य लगानीका लागि अत्यन्त सहज वातावरण भएकाले नेपालमा लगानी गरी नेपालको आर्थिक विकासमा सहयोग गर्न हामी चिनियाँ निजी क्षेत्रलाई विशेष आग्रह गर्दछौं ।

व्यापार मेला तथा प्रदर्शनी :
नेपाल उद्योग वाणिज्य महासंघले हरेक वर्ष नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्दै आएको छ । यस वर्षको पाँचौं अन्तर्राष्ट्रिय व्यापार मेला हिजो मात्र सकिएको छ । उक्त मेलामा करिब ३०० वटा स्टलहरुमार्फत वस्तु तथा सेवाहरुको प्रदर्शनी गरिएको थियो भने उक्त मेलामा चीनबाट करिब ९० वटा कम्पनीहरुका साथै १२० जना चिनियाँ व्यावसायिक प्रतिनिधिमण्डलको सहभागिता रह्यो । यसबाट उक्त मेलाप्रति चिनियाँ व्यवसायीहरुको निकै धेरै अभिरुचि रहेको पाइयो । म यस अवसरको भरपूर उपयोग गर्दै यहाँ उपस्थित हुनुभएका चिनियाँ उद्यमी व्यवसायी तथा लगानीकर्ताहरुलाई अर्को वर्षको उक्त मेलामा अझ बढी सहभागिताका लागि हार्दिक आमन्त्रण समेत गर्दछु ।  

नेपालमा लगानीका अवसरहरु :
एसियाका आर्थिक शक्ति राष्ट्रहरु चीन तथा भारतको बीचमा रहेको करिब ३ करोड जनता बसोबास गर्ने सुन्दर देश नेपालमा लगानीका असीमित अवसरहरु रहेका छन् । साथै पूरै दक्षिण एसियाक्षेत्र नै सिंगो बजारको रुपमा रहेको छ । यस सम्भावनालाई नै देखेर नेपाल उद्योग वाणिज्य महासंघले केही महत्वपूर्ण लगानीका क्षेत्रहरु जस्तो ऊर्जा तथा जलविद्युत्, पर्यटन, खानी तथा खानीजन्य, कृषि, पूर्वाधार, सूचना तथा सञ्चार प्रविधि तथा शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रमुख लगानीका क्षेत्रको रुपमा प्रवद्र्धन गरिरहेको छ ।
ऊर्जा :
नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा सहकार्यका प्रशस्त अवसर तथा सम्भावनाहरु रहेका छन् । जसबाट समग्र दक्षिण एसियाकै बढ्दो ऊर्जा मागलाई सम्बोधन गर्न सकिन्छ । त्यसैगरी चीनको लगानी तथा प्राविधिक सहयोगमा नेपालमा सौर्य ऊर्जा, थर्मल ऊर्जा, वायु ऊर्जा, जियोथर्मलका क्षेत्रको विकास तथा उपयोगको अनगिन्ती सम्भावना रहेका छन् । म यस महत्वपूर्ण अवसरमा सम्पूर्ण चिनियाँ लगानीकर्ताहरु, प्रबुद्ध उद्यमी व्यवसायीहरुलाई नेपालमा ऊर्जा क्षेत्रमा लगानीका लागि आह्वान गर्दछु ।
पर्यटन:
नेपाल र चीनबीचको सहकार्यमा गर्न सकिने अर्को महत्वपूर्ण क्षेत्र भनेको पर्यटन हो । नेपालमा पर्यटन अर्को महत्वपूर्ण आकर्षणको क्षेत्र पनि हो । शान्तिका प्रतीक भगवान् गौतम बुद्धको जन्मभूमि नेपाल बौद्ध धर्मावलम्बीहरुका लागि अत्यन्त पवित्रस्थल पनि हो । यो सबैभन्दा आकर्षणको थलो पनि हो । बौद्ध परिक्रमको अवधारणालाई दुवै पक्षको सहकार्यमा अगाडि बढाउन सकिने प्रशस्त सम्भावना छ । नेपालबाट चीनका महत्वपूर्ण सहरहरु जस्तो ल्हासा, छेङदु, ग्वाङझाउ र कुनमिङसँग प्रत्यक्ष हवाई सम्पर्क विस्तार भएका कारण चिनियाँ पयर्टकहरुका लागि नेपाल एक प्रमुख गन्तव्य हुन सक्दछ जहाँबाट दक्षिण एसियाका अन्य देशहरुमा समेत भ्रमण गर्न  सहज हुनुको साथै दक्षिण एसियाली पर्यटकहरुलाई चीन भ्रमण गर्ने प्रमुख स्थल समेत ।
खानी तथा खानीजन्य क्षेत्र :
नेपाल हिमालय क्षेत्रमा अवस्थित देश हो । यस देशको उत्तरी क्षेत्र निकै लामो पर्वतमालाहरुले ढाकेको छ । नेपालको यो सबैभन्दा महत्वपूर्ण क्षेत्र पनि हो । यस क्षेत्रमा निकै उच्च गुणस्तरका खानीजन्य उत्पादनहरु, बहुमूल्य पत्थरहरुको भण्डारण रहेको छ । यस अवसरमा अथाह भण्डारण रहेका यस्ता बहुमूल्य उत्पादनहरुको खोजी तथा उत्खननमा चिनियाँ सहयोगका लागि म हार्दिक आह्वान गर्दछु ।   
कृषि :
त्यस्तै सहकार्यको सम्भावना रहेको अर्को महत्वपूर्ण क्षेत्र कृषि हो । कृषि उत्पादन, वनजन्य उत्पादनहरुको विकासमा महासंघले चिनियाँ संयुक्त लगानी तथा प्रविधिमा थुप्रै काम गर्न सक्ने सम्भावना रहेको छ । यस क्षेत्रमा चिनियाँ लगानी, प्रविधि तथा प्रविधिगत तौरतरिकाहरुको उपयोगमार्फत नेपालले ठूलो लाभ उठाउन सक्ने सम्भावनातर्फ विशेष ध्यानाकर्षण गराउँदछु ।
पूर्वाधार विकास :
कुनमिङ र छेङदुबाट नेपाल हुँदै दक्षिण एसिया जोड्ने व्यापारिक मार्गको परिकल्पनाबाट यस क्षेत्रको आर्थिक विकासमा निकै ठूलो तरंग ल्याउनेछ । यसलाई मनन गरी नेपालमा आधुनिक सहरी पूर्वाधार निर्माण, भवनहरु तथा ड्याम्स, सडक तथा पुलपुलेसाहरुलगायत अन्य महत्वपूर्ण क्षेत्रको निर्माणमा चिनियाँ अनुभव, प्रविधि तथा लगानीका लागि म विशेष आग्रह गर्दछु । यस्तै गरी, सूचना तथा सञ्चार प्रविधि, शिक्षा तथा स्वास्थ्य तथा यससँग सम्बन्धित अन्य केही क्षेत्रहरु नेपालमा लगानीका लागि सबैभन्दा उर्वर र आकर्षक क्षेत्रहरु हुन् ।
सिल्क रोड इकोनमिक बेल्ड निर्माणको अभियान, सरकार तथा निजी क्षेत्र दुवैबाट सबैभन्दा बढी लगानी हुने परियोजना हो । यस बृहत् परियोजनाअन्तर्गत लगानीका लागि निकै धेरै क्षेत्रहरु खुला गर्ने हाम्रो विश्वास छ ।  
विशेष आर्थिक क्षेत्र :
हामी नेपालमा चिनियाँ लगानी प्रवद्र्धनमा सहकार्यको लागि अत्यन्त उत्साही छौँ । विशेष गरी विशेष आर्थिक क्षेत्रमा चीनले हासिल गरेको अनुभवका आधारमा नेपाल–चीन सीमा नजिक रहेका नेपाली भूभागमा विशेष आर्थिक क्षेत्र निर्माणका लागि बढीभन्दा बढी चिनियाँ लगानीको अपेक्षा हामीले गरेका छौँ । यस्ता क्षेत्रमा उत्पादन हुने वस्तुहरुको चीनमा निर्यातमार्फत यसले दुवै देशका जनता लाभान्वित हुने विश्वास नेपाली निजी क्षेत्रको रहेको छ ।  
महासंघ र सीसीपीआईटीको सम्बन्ध :
म यस समयको भरपूर उपयोग गर्दै यो अत्यन्त महत्वपूर्ण बैठकको आयोजना गर्ने आयोजक सीसीपीआईटी र नेपाल उद्योग वाणिज्य महासंघबीचको आपसी सम्बन्धका विषयमा केही बोल्न चाहन्छु । सन् २००२ को नोभेम्बर ३० मा आपसी लाभका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यसहित एक सहमतिपत्र (एमओयू)मा दुवै संस्थाबीच हस्ताक्षर भई व्यापार, लगानी तथा आर्थिक सहयोगका क्षेत्रमा सहकार्य हुँदै आएको छ । निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था महासंघले सीसीपीआईटीको आयोजनामा कुनमिङमा प्रत्येक वर्ष हुने चीन दक्षिण एसिया व्यावसायिक फोरम तथा छेङदुमा हुने दक्षिण एसिया सिचुवान व्यावसायिक प्रवद्र्धन राउण्ड टेवल कन्फरेन्समा नेपालको तर्फबाट सक्रिय रुपमा भाग लिँदै आएको छ । महासंघले कुनमिङमा आयोजना हुने चीन साउथ एसिया एक्स्पोमा नेपाली व्यवसायी प्रदर्शनकर्ताहरुको सहभागिताको व्यवस्थापन गर्दै आएको छ । सन् २०१५मा आयोजना भएको नवौं चाइना साउथ एसिया बिजनेश फोरममा भाग लिनुको साथै सोही समयमा आयोजना भएको २२औं कुनमिङ मेला तथा दोस्रो चाइना साउथ एसिया एक्स्पोमा महासंघले नेपालका तर्फबाट नेपाल पेभिलियनको निर्माणका साथै नेपाली सांस्कृतिक कार्यक्रम आयोजनाको व्यवस्थापन गरेको थियो । तत्कालीन सम्माननीय प्रधानमन्त्री सुशील कोइराला उक्त मेलामा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन आउनुभएको थियो ।
आगामी दिनहरु :
म यस महत्वपूर्ण बैठकको भरपूर उपयोग गर्दै महासंघ र सीसीपीआईटीबीच आगामी सहकार्यका केही क्षेत्रहरुका बारेमा केही प्रस्ताव राख्न चाहन्छु ।   
    हामीले आगामी दिनमा व्यापार तथा लगानीसम्बन्धी विशेष मेला तथा प्रदर्शनीको आयोजनामा जोड दिनुपर्दछ ।
    नेपाल चीन व्यापार, आर्थिक तथा संस्कृतिक सहयोगका क्षेत्रमा संयुक्त अध्ययन प्रकाशन गरिनुपर्दछ ।
    आपसी अनुकूलतालाई समेत हेरेर महासंघको स्वर्ण महोत्सव वर्षका अवसरमा नेपालमा नेपाल–चीन लगानीसम्बन्धी सेमिनारको आयोजनाका लागि महासंघ व्यग्र प्रतीक्षामा रहेको छ ।
    चाइना साउथ एसिया बिजनेश फोरम तथा चाइना साउथ एसिया एक्स्पोका माध्यमबाट दक्षिण एसियामा आर्थिक समृद्धि ल्याउने कार्यका लागि महासंघले सदैव ती कार्यक्रमहरुमा महत्वपूर्ण रुपमा आफ्नो सहभागिता जनाउँदै आएको र महासंघले आगामी दिनमा पनि निरन्तर लागिरहनेछ ।
यस महत्वपूर्ण बैठकपश्चात् हाम्रा सम्बन्ध तथा सम्पर्क अझ बढी बाक्लिँदै जानुको साथै महासंघ र सीसीपीआईटी तथा निजी क्षेत्रका माध्यमबाट समेत आउँदा दिनमा निकै धेरै ठोस परियोजनाहरुको थालनी भई दुवै देशका जनताहरु लाभान्वित हुनेछन् ।   
(प्रधानमन्त्री केपी ओलीसँगै चीन भ्रमणमा रहेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष मुरारकाले बेइजिङमा मंगलबार दिएको भाषणमा आधारित)


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अस्वस्थ प्रतिस्पर्धा बैंकिङ क्षेत्रकै सबैभन्दा ठूलो समस्या हो

रूपन्देहीबाट उदाएका सक्षम बैंर्कसको रूपमा चिनिने प्रदिपकुमार श्रेष्ठ वित्तीय क्षेत्रको परिचित नाम हो । क्षेत्रीयस्तरबाट सञ्चालनमा आएका रूपन्देहीका दुई विकास बैंकहरू एक आपसमा मर्जर भएर बन्न लागेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रूपमा पदीय जिम्मेवारी सम्हाल्नुले पनि श्रेष्ठको वित्तीय क्षेत्रमा सफल र सक्षम नेतृत्वले कुशल कार्यव्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको प्रष्ट...

प्रदिपकुमार श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत, तिनाउ मिसन डेभलपमेण्ट बैंक लि., रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com