नेपाल टेलिकमका ग्राहक ठगी धन्दामा ‘लक्की ग्रुप’

टेलिटक नेपालले सञ्चालन गरेको ‘भ्वाइस च्याट सर्भिस’बाट ग्राहकको खाताबाट वार्षिक करोडौ रुपैया ठगी गर्ने गरेको खुलासा

मदन भण्डारी  ,
काठमाडौं, चैत २७ ,
तपाईं नेपाल टेलिकमबाट सञ्चालित मोबाइल सेवाको प्रयोगकर्ता हुनुहुन्छ ? तपाईंको मोबाइलबाट अस्वाभाविक तरिकाले खुसुक्क ब्यालेन्स चोरी भएको छ ? यदि छ भने, सम्झिनुस त्यसरी चोरी भएको ब्यालेन्स नेपाल टेलिकमका कर्मचारीसँगको मिलेमतोमा कुनै व्यापारीको खातामा गएको हुनसक्छ । नेपाल टेलिकमबाट सञ्चालित मोबाइल प्रयोगकर्ताहरुको खातामा रहेको रकम एकाएक हराउने, सम्बन्धित निकायले गैरजिम्मेवार जवाफ दिने र पीडित ग्राहकहरुले न्याय नपाउने समस्याले विकराल रुप लिँदै गर्दा आर्थिक दैनिकलाई प्राप्त सूचनाको आधारमा विगत करिब तीन महिनादेखि सूक्ष्म तरिकाले गरेको तथ्य संकलन र प्राप्त भएका  प्रमाण केलाउँदै जाँदा अनधिकृत तवरले ग्राहकको ब्यालेन्स चोरी गर्ने धन्दामा नेपाल टेलिकमका कर्मचारी र नेपालको एक व्यापारिक घरानाको संलग्नता पुष्टि हुने प्रशस्त आधार भेटिएको छ ।           

देशको प्रतिष्ठित व्यापारिक घराना ‘लक्की ग्रुप’ले नेपाल टेलिकमका कर्मचारीहरुसँगको मिलेमतोमा नेपाल टेलिकमका मोबाइल ग्राहकहरुलाई विभिन्न सेवा सुविधाको नाममा वर्षौँदेखि ठगी गर्दै आएको प्रमाण समेत आर्थिक दैनिकलाई प्राप्त भएको छ । ग्रुपका अध्यक्ष सतिश मोरे र नेपाल टेलिकमको तत्कालीन नेतृत्वको मिलेमतोमा करिब छ वर्ष अगाडि अवैध तरिकाले ग्रुपको भगिनी संस्था टेलिटक नेपाल प्रालिलाई नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत चार अंकको १६०८ नम्बरबाट भ्वाइस च्याट सञ्चालन गरेर वर्षौँदेखि नेपाल टेलिकमका लाखौँ मोबाइल प्रयोगकर्ताहरुबाट हालसम्म एक अर्बभन्दा बढी रकम ठगी गरिसकेको र सो कार्य हालसम्म पनि जारी रहेको स्रोतको दाबी छ । 

नेपाल टेलिकमको तत्कालीन नेतृत्वले आर्थिक प्रलोभनमा परेर  टेलिटकको नाममा आईभीआर  सर्भिसअन्तर्गतको “डायल १६०८“ सेवाको गोप्य अनुमति दिएको खुल्न आएको छ ।   नेपाल टेलिकमका उच्चपदस्थ कर्मचारीहरुको विशेष मिलेमतोमा टेलिटकले करिब छ वर्षदेखि सञ्चालनमा ल्याएको “डायल १६०८“ भ्वाइस च्याट सर्भिसको नाममा नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताहरुलाई झुक्याउँदै उनीहरुको खाताबाट खुसुक्क रकम चोरी गर्ने गरेको स्रोतको दाबी छ । नेपाल टेलिकमले आफ्ना ग्राहकहरुको सुविधाको लागि सञ्चालनमा ल्याएको आईभीआर सर्भिसअन्तर्गत एसएलसीको नतिजा सुन्नको लागि १६००, कक्षा ११ र १२ को नतिजा सुन्नको लागि १६०१, त्रिभुवन विश्वविद्यालयअन्तर्गतको परीक्षाको नतिजा सुन्नको लागि १६०२, ल्याण्डलाइन टेलिफोनको बिल इन्क्वाइरीको लागि १६०६ र जीएसएम मोबाइलको पुक कोड सोधपुछ सेवाको लागि १६०७ कोड नम्बर टेलिकम आफैँले  सञ्चालनमा ल्याएको छ भने  सोही नम्बरहरुसँग मिल्दोजुल्दो र ग्राहक झुक्किनेखालको १६०८ नम्बर सञ्चालनको लागि नेपाल टेलिकमले निजी कम्पनी टेलिटक नेपाल प्रालिलाई गोप्य अनुमति दिएको छ ।

‘नेपाल टेलिकमले एक हजार छ सय सिरियलको नम्बरहरु आफैँ सञ्चालन गरिरहेको अवस्थामा सोही सिरियलको नम्बरबाट भ्वाइस च्याट संचालनको अनुमति दिनु नै अत्यन्त शंकास्पद देखिएको छ । नेपाल टेलिकमको अनुमतिमा अवैध तरिकाले सञ्चालित १६०८ नम्बरमा नेपाल टेलिकमको मोबाइलबाहेक अन्य नम्बरबाट फोन जाँदैन । जब कि सोही सिरियलमा सञ्चालित १६००, १६०१, १६०२, १६०६ र १६०७ नम्बरमा नेपाल टेलिकमको पीएसटीएन (ल्याण्डलाइन) फोनबाट कल गर्दा ग्राहकले चाहेको सुविधा उपभोग गर्न पाउँछ तर १६०८ मा त्यो सुविधा उपलब्ध छैन ।  किनकि ल्याण्डलाइन फोनमा निश्चित ब्यालेन्स भए पनि मासिक रुपमा बिल बुझाउनुपर्ने र बिल हेर्दा ग्राहकले रकम चोरिएको सहजै पत्ता लगाउन सक्दछन् । त्यसरी ग्राहकले रकम चोरिएको पत्ता लगाएमा उक्त अवैध धन्दा सतहमा आउने र समस्या उत्पन्न हुने भएकोले उक्त नम्बरमा मोबाइलबाट मात्र फोन लाग्ने गराइएको हुनसक्ने सहजै अनुमान गर्न सकिन्छ ।

सामान्यतया नेपाल टेलिकम आफैँले सञ्चालन गरेको आईभीआर सर्भिसको सिरियल नम्बरसँग मेल खाने र ग्राहक झुक्किने खालको नम्बर सञ्चालनको लागि निजी कम्पनीलाई नदिने प्रावधान रहे पनि नेपाल टेलिकमको तत्कालीन नेतृत्वले लक्की ग्रुपको आर्थिक प्रलोभनमा पर्दै टेलिकमका मोबाइल प्रयोगकर्ताहरुलाई झुक्याउने र ग्राहकहरुको सोझोपनाको फाइदा उठाउँदै खुसुक्क ग्राहकको खातामा रहेको ब्यालेन्स रकम चोरी गर्ने उद्देश्यका साथ उक्त सेवा सञ्चालनको अनुमति दिएको स्रोतले जानकारी दिएको छ । मानौँ कुनै ग्राहकले पुक सोधपुछको लागि १६०७ मा कल गर्छुभन्दा झुक्किएर एउटा नम्बर गल्तीले १६०८ मा डायल भयो भने एक घण्टीमै स्वतः सेवा सुचारु हुन्छ ।

आर्थिक दैनिकलाई प्राप्त प्रमाणअनुसार टेलिटकले भ्वाइस च्याटको लागि सञ्चालन गरेको उक्त नम्बर १६०८ मा कुनै मोबाइल प्रयोगकर्ता ग्राहकले झुक्किएर डायल ग¥यो भने पहिलो घण्टीमै उक्त सेवा स्वतः सुचारु हुन्छ । उक्त सेवा सुचारु भएलगत्तै ग्राहकको ब्यालेन्सबाट २५ रुपैयाँ ९ पैसा स्वतः काटिन्छ । तर रकम काटिएको कुनै सन्देश पनि ग्राहकलाई आउँदैन । उक्त सेवा सुचारु भएपछि ग्राहकले पुनः सेवा प्रयोग नगरे पनि प्रत्येक महिना सेवा लिएबापत नेपाल टेलिकमले ग्राहकको खाताबाट २५ रुपैयाँ ०९ पैसा भ्याटसहित ग्राहकको ब्यालेन्सबाट खुसुक्क काटेर टेलिटक नेपाल प्रालिको खातामा जम्मा गरिदिन्छ ।  तर ग्राहकलाई त्यसको कुनै जानकारी दिइँदैन ।

त्यस्तै सो नम्बरबाट सञ्चालित भ्वाइस च्याटको कल गरेमा प्रतिमिनेट तीन रुपैयाँ ७६ पैसा (भ्याटसहित)का दरले ब्यालेन्स रकमबाट पैसा काट्ने गरिएको र ग्राहकले भ्वाइस च्याट सेवा प्रयोग नगरे पनि सुरु घण्टीदेखि नै समय गणना गर्ने गरेको र प्रतिमिनेट तीन रुपैयाँ ७६ पैसाको दरले ग्राहकको खाताबाट काटिने रकम स्वचालित तवरले टेलिटकको खातामा जम्मा हुने गर्दछ । अर्कोतर्फ नेपाल टेलिकमबाट सञ्चालित १६ सय सिरियलको अन्य नम्बरमा प्रत्येक दस सेकेन्डको एक ‘पल्स’ तोकिए पनि १६०८ को हकमा प्रति ६० सेकेन्डको एक ‘पल्स’ कायम गरिनुलाई निकै अर्थपूर्ण रुपमा लिन सकिन्छ ।

टेलिकम स्रोतका अनुसार यसरी देशभरका ग्राहकहरुको खाताबाट खुसुक्क काटिने रकम मासिक करिब पाँच करोड हुन आउँछ । जम्मा भएको सो रकममध्ये ५० प्रतिशत रकम नेपाल टेलिकमको खातामा जाने र बाँकी प्रतिशत रकम टेलिटक नेपाल प्रालिले पाउने गरी गोप्य सम्झौता गरिएको र सोही सम्झौताअनुसार टेलिटकले वार्षिक करिब २५ करोड रुपैयाँका दरले ग्राहकको खाताबाट चोरेको रकम कुम्ल्याउँदै आएको स्रोतको दाबी छ ।  गणपति वनस्पति प्रालि, फोनिक्स इन्टरनेशनल ट्रेडिंग, लुम्बिनी विद्युत् उद्योग प्रालि, टायर हाउस प्रालि, लक्की नेपाल कम्पनी प्रालि, शिवम् सिमेन्ट उद्योग लगायतका करिब एक दर्जन कम्पनीको छाता संगठन लक्की ग्रुपले विदेशी मोबाइलहरुको आयात तथा बिक्री समेत गर्दै आएको छ ।  नेपाल टेलिकमको मिलेमतोमा भ्वाइस च्याटको नाममा डायल १६०८ सञ्चालन गरेर नेपाल टेलिकमका ग्राहक ठगी गरेको विषयमा टेलिफोनमार्फत प्रतिक्रिया लिँदा टेलिटक नेपाल प्रालिको सीईओ  प्रतिक जालानले आफूहरु कानुनसम्मत तरिकाले नेपाल टेलिकमसँगको सहकार्यमा उक्त सेवा सञ्चालन गरेको दाबी गर्दै समाचार नलेख्न अनुनय विनय गरे । “तपाईंहरुलाई विज्ञापन अथवा अन्य केही चाहिएको छ भने भन्नुस्, भेटेरै कुरा गरौँ, तर प्लिज न्युजचाहिँ नलेखिदिनुस्“, जालानले भने । उक्त विषयमा नेपाल टेलिकमको आधिकारिक धारणा बुझ्न टेलिफोन गर्दा नेपाल टेलिकमका महाप्रबन्धक बुद्धि प्रसाद आचार्यले फोन रिसिभ गरेनन् ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अस्वस्थ प्रतिस्पर्धा बैंकिङ क्षेत्रकै सबैभन्दा ठूलो समस्या हो

रूपन्देहीबाट उदाएका सक्षम बैंर्कसको रूपमा चिनिने प्रदिपकुमार श्रेष्ठ वित्तीय क्षेत्रको परिचित नाम हो । क्षेत्रीयस्तरबाट सञ्चालनमा आएका रूपन्देहीका दुई विकास बैंकहरू एक आपसमा मर्जर भएर बन्न लागेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रूपमा पदीय जिम्मेवारी सम्हाल्नुले पनि श्रेष्ठको वित्तीय क्षेत्रमा सफल र सक्षम नेतृत्वले कुशल कार्यव्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको प्रष्ट...

प्रदिपकुमार श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत, तिनाउ मिसन डेभलपमेण्ट बैंक लि., रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com