पाँच वर्षभित्र सडक यातायातमा आठ खर्ब १६ अर्ब खर्च गरिने

भारत र चीन जोड्ने राजमार्गहरु पाँच वर्षभित्रै पूरा गरिने

रामप्रसाद पुडासैनी ,
काठमाडौं, वैशाख ५ ,
सरकारले पाँच वर्षभित्र सडक निर्माण, मर्मत र स्तरोन्नतिका लागि आठ खर्ब १६ अर्ब रुपैयाँ खर्च गर्ने महत्वाकांक्षी योजना ल्याएको छ । पाँचपटक भौतिक पूर्वाधार तथा यातायातमन्त्री बने पनि सडक यातायातको विकासको लागि उल्लेखनीय काम गर्न नसकेको भनेर आलोचना खेपिरहेका उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा ‘समृद्ध नेपालको लागि सडक, रेल तथा यातायात विकासको पाँच वर्षे रणनीतिक योजना’ सार्वजनिक गर्दै देशका सबै राजमार्गहरु कम्तीमा दुई लेनको हुने, सडक यातायातलाई सहुलियत, भरपर्दो र सुरक्षित बनाउन सुरुङ सडकलाई प्राथमिकता दिने र भारत तथा चीन जोड्ने विभिन्न राजमार्ग बनाइछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्त्रिपरिषद्ले गत चैत १ गते स्वीकृत गरेको उक्त रणनीतिक योजनाअनुसार लम्बाई मात्रै बढी रहेका नेपालका सडकहरुको अब चौडाइ पनि द्रुतरुपमा बढ्नेछ । यसले सडक यातायातलाई सुरक्षित र भर पर्दो बनाउने अपेक्षा गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत आफूलाई पटक–पटक ‘विजयजी भौतिक मन्त्रालयमा तपार्इं कतिऔँ पटक मन्त्री बन्नुभयो रे !’ भनेर सोधिरहने र भूकम्प आउँदा र अन्य राजनीतिक कारणले एउटा नाका बन्द हुँदा ४० लाख मानिसको बसोबास रहेको राजधानी नै प्रभावित भएकाले सडकको विकासमा केही नयाँ काम गरेरै छाड्ने सोच आएर पाँच वर्षे रणनीति तयार पारेको मन्त्री गच्छदारले बताए । भारत र चीन जोड्ने धेरै राजमार्ग बनाउने तथा एक लेनका सबै राजमार्गलाई दुई र चार लेनमा विस्तार गर्न लागिएको समेत भौतिक मन्त्री गच्छदारले प्रष्ट पारे । गत वैशाख १२ गते भूकम्पले क्षति पु-याएपछि नेपाल र चीन जोड्ने अरनिको राजमार्ग बन्द हुँदा र सबै नाका खुल्दा पनि मधेशी मोर्चाको धर्नाको कारण वीरगञ्ज नाका खुल्न नसक्दा काठमाडौं उपत्यका लगायत देशैभरको जनजीवन पूर्णतः प्रभावित बनेको थियो । त्यही भएर मन्त्रालयले आइतबार सार्वजनिक गरेको पाँच वर्षे रणनीतिमा विभिन्न ठाउँबाट भारत र चीन जोड्ने सडक निर्माण गर्ने र सडक विस्तारलाई उच्च प्राथमिकतामा राखिएको हो ।

मुलुक संघीय संरचनामा प्रवेश गरिसकेको अवस्थामा पाँच वर्षे रणनीतिले संघ र प्रदेशहरुबीच, प्रदेश–प्रदेशबीच, प्रदेश स्थानीय निकायहरुबीच र छिमेकी मुलुकहरुसँगको यातायात सम्पर्कका लागि प्रभावकारी, दिगो, भरपर्दो सुरक्षित र कम खर्चिलो यातायात सेवा प्रदान गर्न राष्ट्रिय सडकसञ्जालको विकास र सुदृढीकरण, रेलमार्गको क्रमिक विकास तथा प्रभावकारी यातायात व्यवस्थापन गरी समृद्ध नेपाल निर्माणमा सहयोग पु-याउने अपेक्षा सरकारले गरेको छ । मन्त्रिपरिषद्बाट पारित भइसकेको कारण उक्त रणनीतिक योजना कार्यान्वयन गर्न बजेटको अभाव नहुने मन्त्री गच्छदारको भनाइ छ ।
भौतिक मन्त्रालयका अनुसार पाँच वर्षे रणनीति कार्यान्वयनका लागि नियमित वार्षिक बजेटको अतिरिक्त आर्थिक वर्ष २०७३/०७४ का लागि १०५ अर्ब, आव ०७४/७५ का लागि १५० अर्ब, आव ०७५/०७६ का लागि १७७ अर्ब, आव ०७६/०७७ का लागि १८७ अर्ब र आव ०७७/०७८ का लागि १९७ अर्ब गरी ८ सय १६ अर्ब बजेट विनियोजन हुने छ । उक्त बजेट आन्तरिक स्रोत र विभिन्न दातृनिकाय, विकास साझेदार तथा मित्रराष्ट्रहरुबाट सहयोग एवं आन्तरिक ऋण परिचालनको माध्यमबाट व्यवस्था गरिनेछ ।

राजनीति गर्नेहरु राति होइन दिउँसै र काम गर्दागर्दै सपना देख्ने तथा ती सपना साकार गराएरै छाड्ने उदाहरण दिँदै मन्त्री गच्छदारले पाँचवर्षे सडक रणनीति विना बाधा÷अवरोध कार्यान्वयन हुँदै जाने प्रष्ट पारे । ‘काठमाडौंमा खानेपानीको अभाव हुँदा कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी ल्याउँछु भनेका थिए’, मन्त्री गच्छदारले भने, ‘कतिपयले यसलाई सपना भने । तर, त्यो सपना अब पूरा हुँदै छ । बन्द, हडताल र भूकम्प गएको थिएन भने यही वैशाखमै मेलम्चीको पानी आइसक्थ्यो । तर एक वर्ष ढिला भए पनि आउँछ नै ।’ मन्त्री गच्छदारले आफूले देखेको राजपूर तथा अन्य स्थानको सडक र पुल निर्माण गर्ने सपना पनि पूरा भएको बताए । पाँच वर्षे रणनीतिले राष्ट्रिय एकता, अखण्डता, क्षेत्रीय सन्तुलन र देशका विभिन्न भूभागका जनताका बीच आपसी सुसम्बन्ध कायम गरी समृद्ध नेपाल निर्माणको आधार तयार हुने दाबी मन्त्रालयको छ । पाँच वर्षको अवधिमा राजधानी काठमाडौं र प्रत्येक प्रदेशको राजधानीलाई राष्ट्रिय राजमार्गसँग कम्तीमा एउटा चार लेन सडक र अन्य वैकल्पिक सडकबाट समेत जोडिनेछ ।


पाँच वर्षे रणनीति सार्वजनिक कार्यक्रममा भौतिक सचिव अर्जुन कार्कीले दिएको जानकारीअनुसार पाँच वर्षभित्र सामाजिक आर्थिक एकीकरण, उद्योग व्यापारको विकास, पर्यटन विकास, वस्तु र सेवा उत्पादन तथा वितरणको प्रभावकारी व्यवस्थापनलाई टेवा पु¥याउने गरी सडक सञ्जालको विकास तथा विस्तार गरिनेछ । सडक सञ्जालको विकास तथा विस्तार सम्बन्धमा विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा व्यक्त गरिएका प्रतिबद्घता लागू गर्ने गरी कार्यक्रमहरm सञ्चालन गरिनेछ । त्यस्तै, सडक विभागबाट निर्माण हुने रणनीतिक महत्वका सडक तथा पुलहरु न्यूनतम दुई लेनमा निर्माण गरिनेछ । सडक उपक्षेत्रमा हुने आन्तरिक तथा बाह्य लगानीको स्रोतलाई छरिन नदिई आर्थिक तथा प्राविधिक सम्भाव्यता एवं प्रतिफलका आधारमा मात्र योजना छनौट, निर्माण, सम्भार एवं स्तरोन्नतिका कार्यहरm कार्यान्वयन गर्ने परिपाटी अनिवार्य रmपमा लागू गरिनेछ ।

भौतिक मन्त्रालयका अनुसार लामो दूरीको मालसामान ढुवानी तथा यात्रुको आवागमनलाई किफायती एवं प्रभावकारी रुपमा सञ्चालन गर्न पूर्व–पश्चिम (मेची– महाकाली) तथा रसुवागढी– काठमाडांै–पोखरा–लुम्बिनी विद्युतीय रेलमार्ग निर्माणका साथै भारतीय सीमाबाट महत्वपूर्ण औद्योगिक व्यापारिक सहर÷क्षेत्रहरुमा रेल सेवा सञ्चालन गर्ने कार्य प्रारम्भ गर्ने गरी रेल यातायातको विकास गरिनेछ । यस्तै, विद्यमान यातायात व्यवस्थापन प्रणालीमा सुधार गरी सर्वसाधारणको आवागमन र वस्तुहरुको ओसारपसार सुरक्षित, भरपर्दो, सर्वसुलभ रकम खर्चिलो बनाइनेछ । पाँच वर्षभित्र भौतिक मन्त्रालयले भूकम्पबाट क्षतिग्रस्त सडक संरचनाहरुको पुनर्निर्माण, आधारभूत सडकसञ्जाल विस्तार, प्रमुख राजमार्गहरुको विकास, उत्तर–दक्षिण जोड्ने प्रमुख व्यापारिक एवं महत्वपूर्ण सडकहरुको विकास, द्विदेशीय व्यापारिक नाका जोड्ने सडकहरुको विकास, काठमाडौं उपत्यका सडक सुदृढीकरण, पुल निर्माण, सुरुङ्ग मार्ग विकास र सडक सुरक्षाका विभिन्न कार्यक्रम सञ्चालन गर्नेछ ।
भौतिक मन्त्रालयका अनुसार अरनिको राजमार्ग, बीपी राजमार्ग, गोरखा–बारपाक सडकलगायत भूकम्पले क्षति पु-याएका सडक र पुल निर्माणकार्य तीन वर्षमा पूरा गरिनेछ । तीन वर्षभित्रमा दोलखा–सिंगटी, पाँचखाल–मेलम्ची र धादिङ्ग–आरुघाट–गोरखा सडक गरी जम्मा १३५ किलोमिटर सडकलाई भूकम्पपछिको पुनर्निर्माणको नमूना सडकहरmको रुपमा स्तरोन्नति तथा पुनर्निर्माण गरिनेछ । सडकसञ्जालबाट नजोडिएको हुम्लाको सिमीकोट चीनबाट दुई वर्षमा तथा नेपालको कालिकोटबाट पाँच वर्षमा र डोल्पाको दुनैलाई डेढ वर्षमा सडक सञ्जालबाट जोडिनेछ । कालोपत्रे हुन बाँकी भोजपुर, खोटाङ्ग, मुस्ताङ्ग र बाजुरालाई दुई वर्षभित्रमा र मनाङ्ग र मुगुलाई पाँच वर्षभित्रमा सदरमुकामसम्म कालोपत्रे गरिनेछ ।

भौतिक मन्त्रालयका अनुसार नदाहा–कोशी पुल, चतरा रुपनगर सडक, हलेसी–दिक्तेल सडक, लेगुवाघाट–भोजपुर सडक, सहिद मार्ग, लुम्बिनी बुद्धिष्ट सर्किट सडकलगायत १७ वटा सडकको पाँच सय ८९ किलोमिटर डबल लेनमा स्तरोन्नति दुई वर्षमा गरिनेछ । त्यस्तै, सगरमाथा लोकमार्ग, राँके–रवि–भेडेटार, सडक, लामोसाँघु–तामाकोशी–जिरी, गैँडाकोट–रामपुर–राम्दी (पिपलडाँडा) सडक, बर्दिबास–जलेश्वर सडकलगायत १८ वटा सडकका एक हजार दुई सय ९९ किलोमिटर पनि पाँच वर्षमा डबल लेनको बनाइनेछ । पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टादेखि बुटवलसम्मको पाँच सय ८८ किलोमिटर सडक चार लेनमा विस्तार गरिनेछ । उक्त विस्तारकार्यको दुई वर्षमा डिजाइन तथा खरिदकार्य र पाँच वर्षमा निर्माणकार्य पूरा हुनेछ । बुटवलदेखि गड्डाचौकीसम्मको चार सय ३९ किलोमिटर सडकको डीपीआर तयार गरी लेन विस्तारको कार्य पाँच वर्षभित्रै सुरु गरिनेछ । भौतिक मन्त्रालयका अनुसार पूर्व–पश्चिम राजमार्गको वैकल्पिक राजमार्गको रुपमा रहेको धरान–चतरा–गाईघाट–कटारी–सिन्धुलीबजार–हेटौंडासम्मको तीन सय १८ किलोमिटर सडक तीन वर्षमा दुई लेनमा विस्तार गरिनेछ । त्यस्तै, मुग्लिङ–पोखरा ९० किलोमिटरको सडक तीन वर्षमा चार लेनको बनाइनेछ भने कोहलपुर–सुर्खेतको ८५ किलोमिटर र बुटवल–पोखराको एक सय ५७ किलोमिटर सडक पनि तीन वर्षमै दुई लेनको बनाइनेछ ।

भौतिक मन्त्रालयका अनुसार उत्तर–दक्षिण जोड्ने ठोरी–भण्डारा–मलेखु–गल्छी–त्रिशूली–वेत्रावती–स्याफ्रुबेसी–रसुवागढीको एक सय ८८ किलोमिटर सडक दुई वर्षमा दुई लेनमा विस्तार गरिनेछ । गल्छी–त्रिशूली–वेत्रावती–स्याफ्रुबेसी–रसुवागढीको ८२ किलोमिटरको काम दुई वर्षमा सक्ने गरी सुरु भएको छ । ठोरी–भण्डारा–मलेखुको १०६ किलोमिटर सडक पाँच वर्षमा विस्तार पूरा गरिनेछ ।
भिट्टामोड–ढल्केबर–सिन्धुली–मन्थली–दोलखा–सिंगटी–लामाबगर लाप्चाको तीन सय १० किलोमिटर सडकको लामाबगर–लाप्चाको बाँकी १८ किलोमिटरको ट्र्याक तथा करिब एक किलोमिटर सुरुङ निर्माण तीन वर्षभित्र पूरा गरिनेछ । उक्त तीन सय १० किलोमिटर सडक सात वर्षभित्र पूरै कालोपत्रे गरिनेछ । भौतिक मन्त्रालयका अनुसार मुग्लिङ–नौबीसे–काठमाडौंको एक सय १० किलोमिटर सडक पाँच वर्षमा चार लेनमा सुदृढ गरिनेछ भने धुलिखेल–दोलालघाट–बाह्रबीसेको ६२ किलोमिटर सडक पाँच वर्षमा चार लेनमा स्तरोन्नति गरिनेछ । त्यस्तै, जमुनियाँ–नेपालगञ्ज–बाँगेसिमल–खुलालु–लैफु–सिमीकोट–हिल्साको पाँच सय १२ किलोमिटरको एक सय ४३ किलोमिटर ट्र्याक सडक निर्माणसम्पन्न गरी कालोपत्रेस्तरमा स्तरोन्नति गर्ने कार्य पाँच वर्षभित्रमा सुरु गरिनेछ ।

‘सडक विस्तार गर्न मैले थाले, जस बाबुरामले लिए’
काठमाडौं उपत्यकाको सडक विस्तारको सुरुवात आफूले गरे पनि त्यसको जस डा. बाबुराम भट्टराईलाई गएकामा मन्त्री गच्छदारले गुनासो गरेका छन् । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री समेत रहेका भौतिक मन्त्री गच्छदारले भने, ‘पूर्वप्रधानमन्त्रीहरुको विरोधको बाबजुद पनि मैले आर्थिक वर्ष २०५३/०५४ सालदेखि कोटेश्वरलगायतका ठाउँमा डोजर चलाउन लगाएर सडक विस्तार सुरु गरेको थिएँ । तर, पछिल्लो समयमा बाबुराम भट्टराईले सडक विस्तार गरेको भनेर प्रचार गरियो ।’ मन्त्री गच्छदारले धेरैले एभरेष्ट होटलको पर्खाल कसरी भत्काउँछस् भनेका र होटलका मालिकले अदालतबाट पर्खाल नभत्काउनु भन्ने अन्तरिम आदेश दिएर आए पनि आफूले उक्त होटलको गेट भत्काएर बानेश्वरमा पनि सडक विस्तारको प्रारम्भ गरेको बताए । पर्खाल नभत्काउनु भन्ने अन्तरिम आदेश ल्याए पनि गेट नभत्काउनु भन्ने आदेश नल्याएको कारण त्यतिबेला एभरेष्ट होटलको गेट भत्काउन सफल भएको बताए ।

अरनिको राजमार्ग चाडै सुचारु
भौतिकमन्त्री विजय गच्छदारले एक वर्षदेखि बन्द अरनिको राजमार्ग केही दिनमै सुचारु भएर नेपाल–चीनबीचको व्यापार पूर्ववत् रुपमा हुने दाबी गरे । उक्त सडक गत वर्ष वैशाख १२ गतेको भूकम्पपछि बन्द छ । चीन उक्त सडक खुलाउन इच्छुक नभए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो महिना भएको चीन भ्रमणको बेला चिनियाँ अधिकारीहरु तातोपानी नाका खोल्न सहमत भएको कारण केही हप्तामै अरनिको राजमार्ग सञ्चालनमा आउनलागेको मन्त्री गच्छदारले बताएका हुन् । ‘तातोपानी नाका चीनको प्राथमिकतामा परेको थिएन’, मन्त्री गच्छदारले भने, ‘प्रधानमन्त्री ओलीका चीन भ्रमणको बेला चिनियाँ पक्ष सहमत भएको कारण उक्त सडक सञ्चालनमा आउनलागेको हो ।’

सुरुङ सडकलाई उच्च प्राथमिकता
भौतिक मन्त्रालयले सडकलाई सुरक्षित र भर पर्दो बनाउन अब सुरुङ सडकलाई प्राथमिकता दिने भएको छ । भौतिक मन्त्रालयका अनुसार नागढुंगा–थानकोट सडकको सुरुङमार्ग पाँच वर्षमा पूरा गरिनेछ । त्यस्तै, काठमाडौंको टोखा–गुर्जेभन्ज्याङ्ग सडकलाई टोखा (काठमाडौं)–छरे (नुवाकोट) र बुटवल–पाल्पा सडकको सिद्धबाबा खण्डमा पनि सुरुङमार्ग बनाउन सम्भाव्यता अध्ययन गरी पाँच वर्षभित्रमा निर्माण थालिनेछ । विभिन्न जलविद्युत् आयोजना र मेलम्ची खानेपानी आयोजनाको लागि सुरुङमार्ग बनाइए पनि सडक निर्माणमा सुरुङ पद्धति अपनाउन नसकिएकामा नेपालका इन्जिनियरहरुमाथि नै प्रश्न उठेको बेला भौतिक मन्त्रालयले सुरुङमार्गलाई प्राथमिकतामा राखेको हो ।

फास्ट ट्र्याकको निर्णय छिट्टै
काठमाडौं–तराई/मधेश जोड्ने फास्ट ट्र्याक अर्थात् द्रुतमार्ग निर्माणसम्बन्धी निर्णय केही हप्ताभित्रै हुने भएको छ । भौतिकमन्त्री विजय गच्छदारका अनुसार केही हप्तामा नै निर्णय भएर नामअनुसारकै काम द्रुतरुपमा भएर पाँच वर्षमा पूरा हुने प्रतिबद्धता व्यक्त गरे । उनले अहिले देखिएका कानुनी अड्चन हटाएर फास्ट ट्र्याकको निर्माण थाल्ने विषय अन्तिम चरणमा पुगेको दाबी गरे । फास्ट ट्र्याकको विवाद सर्वोच्च अदालतमा विचाराधीन छ । उक्त विषयलाई कसरी टुंगो लगाउने भन्नेबारे मन्त्री गच्छदारले केही बताएनन् । ‘फास्ट ट्र्याक बन्छ, केही हप्तामा निर्णय हुन्छ, अरु कुरा केही नभनौँ’, मन्त्री गच्छदारले भने ।

काठमाडौं रिङरोडभित्रका सबै सडक कालोपत्रे गरिने
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले सरकारले रिङरोडभित्रका सबै सडकलाई चाँडै कालोपत्रे गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । रिङरोडभित्रका सबै ठाउँमा कालोपत्रे सडक नभएको कारण धूलोले वायु प्रदूषण बढेको कारण सरकारले कालोपत्रे गर्ने योजना ल्याएको जानकारी दिए । तर, पत्रकार सम्मेलनमा सडक विभागका महानिर्देशक माधव कार्कीले रिङरोडभित्रका सबै सडक सडक विभागअन्तर्गत नभएको कारण कालोपत्रे गर्न विभागलाई समस्या परेको बताए । महानिर्देशक कार्कीले रिङरोडभित्रका सबै सडक कालोपत्र हुनका लागि स्थानीय निकाय अर्थात् महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र जिल्ला विकास समिति पनि सक्रिय हुनुपर्ने बताए ।






प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अस्वस्थ प्रतिस्पर्धा बैंकिङ क्षेत्रकै सबैभन्दा ठूलो समस्या हो

रूपन्देहीबाट उदाएका सक्षम बैंर्कसको रूपमा चिनिने प्रदिपकुमार श्रेष्ठ वित्तीय क्षेत्रको परिचित नाम हो । क्षेत्रीयस्तरबाट सञ्चालनमा आएका रूपन्देहीका दुई विकास बैंकहरू एक आपसमा मर्जर भएर बन्न लागेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रूपमा पदीय जिम्मेवारी सम्हाल्नुले पनि श्रेष्ठको वित्तीय क्षेत्रमा सफल र सक्षम नेतृत्वले कुशल कार्यव्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको प्रष्ट...

प्रदिपकुमार श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत, तिनाउ मिसन डेभलपमेण्ट बैंक लि., रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com