मेलम्ची आयोजनाले जगाएको आशा

रूपनारायण खतिवडा
दशकौंदेखि राजनीतिक नेतृत्वको भाषण गर्ने माध्यम, उपत्यकावासीहरुको आशाको केन्द्र र कतिपय सन्दर्भमा हँसीमजाकको विम्बसमेत बन्नेगरेको मेलम्ची खानेपानी आयोजनाले पछिल्लो समयमा केही गति लिएको छ । केही दिनअघि मेलम्ची खानेपानी विकास समितिले आयोजनाको सुरुङमार्गअन्तर्गतको सबैभन्दा लामो खण्डका रुपमा रहेको नौ दशमलव चार किलोमिटर लामो सुन्दरीजल–सिन्धुखण्ड पूरा भएको तथ्य विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ । सँगसँगै, आगामी २०७४ सालको दशैंअघि यो आयोजना पूरा गर्ने लक्ष्य प्राप्तिको सम्मुखमा पुगेको पनि समितिले सार्वजनिक गरेको छ । आयोजना पूरा हुने समयसीमा पटकपटक धकेलिने गरेको र दुई दशकदेखि कार्यान्वयन भइरहेको यो आयोजना अपेक्षा गरेभन्दा एकदशक बढी अवधि नै ढिलो भएको भए पनि पछिल्लो प्रगति स्थितिले भने उपत्यकाबासीमा आशा जगाएको छ ।


मेलम्ची खानेपानी आयोजना काठमाडौं उपत्यकामा स्वच्छ खानेपानी उपलब्ध गराई उपत्यकाबासीले भोगिरहेको खानेपानीको विकराल समस्या दीर्घकालीनरुपमा समाधान गर्ने अभीष्टका साथ सुरुवात भएको आयोजना हो । यो आयोजनाको प्रारम्भिक अवधारणा नेपाली कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईले सार्वजनिक गरेका थिए । २०५१ सालमा भएको उपनिर्वाचनको प्रचारप्रसारका क्रममा उम्मेदवार रहेका भट्टराईले उनलाई निर्वाचित गरे मेलम्चीको पानीले काठमाडौंको सडक पखालिदिने उद्घोष गरेका थिए । काठमाडौंमा उतिबेलै देखिएको खानेपानीको विकराल संकटलाई सम्बोधन गर्नका लागि सांकेतिक रुपमा उनले गरेको यो उद्घोष तत्कालीन समयमा राजनीतिक वृत्तमा हँसीमजाकको माध्यमसमेत बनेको थियो । भट्टराईले २२ वर्षअघि सपना देखेको र चुनावी नारा बनाएको यो आयोजना उनको निधन भएको छ वर्षपछि पूरा हुने तरखरमा आइपुगेको हो । पछिल्लो समयमा केही दिनअघि आयोजनाको सुन्दरीजल–सिन्धुखण्ड पूरा हुनु सफलताको महत्वपूर्ण खुड्किलो भएको मेलम्ची खानेपानी विकास समितिले दाबी गरेको छ ।


औपचारिकरुपमा यो आयोजना २०६४ सालको अन्त्यसम्ममा मेलम्चीको पानी काठमाडौं ल्याएर वितरण गरिने महत्वकांक्षी लक्ष्यका साथ आर्थिक वर्ष २०५५÷५६ मा सुरुवात भएको थियो । आयोजनाको लागतमा पटकपटक बढोत्तरी हुँदै हालसम्म आइपुग्दा दुई सय ८७ मिलियन अमेरिकी डलर पुगेको यो आयोजनाको मुख्य लगानीकर्ता एसियाली विकास बैंक रहेको छ । आमनागरिकको सामान्य बोलीचालीमा मेलम्चीको पानी काठमाडौं ल्याउने भन्ने गरिएको भए पनि यो आयोजना दुई चरणमा पूरा गरी तीनवटा नदीहरुको दैनिक ५१ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याउने सरकारी योजना रहेको छ । जसअन्तर्गत सिन्धुपाल्चोक जिल्लाका मेलम्ची, यांग्री र लार्के खोलाबाट १७÷१७ करोड लिटर पानी उपत्यकामा दैनिक आपूर्ति गरिनेछ । हाल सम्पन्न हुनलागेको पहिलो चरणको आयोजनाअन्तर्गत मेलम्ची खोलाको मुहानमा बाँध बनाई प्रतिदिन १७ करोड लिटर पानी सुरुङमार्फत काठमाडौंको सुन्दरीजलस्थित प्रशोधन केन्द्रसम्म ल्याएर प्रशोधित पानी खानेपानीका रुपमा उपत्यकामा वितरण हुनेछ । दोस्रो चरणमा यांग्री र लार्के खोलाको पानी ल्याउने लक्ष्य रहेको छ । यांग्री र लार्के खोलाको पानी ल्याउनका लागि दोस्रो चरणको आयोजनाको डिजाइनका लागि परामर्शदाताको छनौट भइसकेको र आगामी आर्थिक वर्षबाट निर्माण कार्य प्रारम्भ हुने मेलम्ची खानेपानी विकास समितिको दाबी छ ।


मेलम्चीलगायत सिन्धुपाल्चोक जिल्लाका तीनवटै खोलाको पानी काठमाडौं उपत्यकामा ल्याउने निर्विकल्प माध्यम सुरुङमार्ग रहेको छ । यो आयोजनाअन्तर्गत मेलम्ची खोलाको पानीलाई काठमाडौं उपत्यकामा भित्र्याउनका लागि कुल २७ दशमलव ५८ किलोमिटर लामो सुरुङ निर्माण गर्नुपर्ने हुन्छ । जसमध्ये केही दिनअघिको ब्रेक थु्रसम्म गरी हालसम्म २२ किलोमिटर सुरुङ निर्माण भइसकेको तथा अब सिन्धु–ग्यालथुम खण्डमा दुई हजार पाँच सय मिटर र ग्यालथुम–अम्बाथान खण्डमा दुई हजार छ सय मिटर गरी करिब पाँच किलोमिटर सुरुङ खन्ने कार्य मात्रै बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिद्वारा हालै जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।  दोस्रो चरणमा बाँकी दुईवटा खोलाबाट पानी ल्याउने क्रममा हाल निर्माण भएको सुरुङमार्ग वा टनेलबाटै दुवै खोलाको पानी आपूर्ति हुने स्थिति रहन्छ । हालसम्म निर्मित सुरुङमध्ये चिनियाँ कम्पनी चाइना रेल्वे कन्स्ट्रक्सन कम्पनी (सीआरसीसी)ले करिब साढे छ किलोमिटर निर्माण गरेको थियो भने बाँकी निर्माणकार्य हालको पछिल्लो ठेकेदारका रुपमा रहेको इटालेली कम्पनी कोअपरेटिभ मुरातोरी एण्ड सिमेन्टिस्टी (सीएमसी)ले गरिरहेको छ ।


यसरी हेर्दा, सुरुङमार्गको निर्माण कार्यमा ८० प्रतिशतभन्दा बढी प्रगति भएको देखिन्छ भने सुन्दरीजलमा दैनिक साढे आठ करोड लिटर प्रशोधन क्षमता भएको पानी प्रशोधन केन्द्रका इकाइहरुको निर्माणकार्य सम्पन्न हुने चरणमा रहेको समितिले जनाएको छ । दोस्रो चरणमा हालकै जति क्षमता रहने प्रशोधन केन्द्र निर्माणका लागि समेत ठेक्का सम्झौता भइसकेको छ । अर्कोतर्फ, खानेपानीको वितरण लाइन निर्माणका लागि यतिबेला काठमाडौंका सडकपेटीहरु धमाधम भत्काउन थालिएको छ । उपत्यकाभित्र काठमाडौं उपत्यका खानेपानी लिमिटेडको अगुवाइमा पाइपलाइन निर्माण गर्ने र बिछ्याउने कार्यले दिनरात गति लिएको देखिन्छ । विगत वर्षहरुमा सडक विस्तारको अभियानसँगै हिलो र धूलोको मार सहिराखेका उपत्यकाबासीहरुले फेरि मेलम्ची आयोजनाको पाइपलाइन बिछ्याउने क्रममा अर्को मार सहनुपरेको छ ।


तथापि, मेलम्चीको खानेपानी आपूर्ति भई विकराल संकट समाधान हुने आशामा आमनागरिकले यसकिसिमको मार र कष्ट सहेरै दैनिकी चलाइरहेका छन् । उपत्यकाका तीनवटै जिल्लामा गरी कुल छ सय २२ किलोमिटर पाइपलाइन बिछ्याउने योजना रहेकोमा हालसम्म एक सय २२ किलोमिटर पाइपलाइनको काम भइसकेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडको तथ्यांक छ । यसैगरी उपत्यकाका ८३ हजार पाँच सय ५५ घरमा धारा जडान गरिनुपर्नेमा हालसम्म आठ हजार एक सय सात घरमा धारा जडानकार्य सम्पन्न भएको देखिन्छ । पाइपलाइन विस्तार र धारा जडानको कार्य आगामी असोज महिनाभित्रै सम्पन्न गर्ने योजना काठमाडौं उपत्यका खानेपानी लिमिटेडले राखेको र यसैअनुरुप तीव्रगतिमा काम भइरहेको अवस्था छ ।


यसकिसिमको स्थितिमा एकातर्फ, सरकारले उच्च प्राथमिकता दिएको र ‘पूर्वाधार विकासबाट आर्थिक रुपान्तरण’को लक्ष्य बोकेको यसकिसिमको राष्ट्रिय गौरवको आयोजना सुरुवाती चरणमा अनुमान गरिएको निर्दिष्ट समयसीमाभन्दा एक दशक बढी अवधिमा सम्पन्न हुनलाग्दा पनि खुशी नै मान्नुपर्ने बाध्यात्मक अवस्थाबाट हामी गुज्रिरहेका छौं । अर्कोतर्फ, राष्ट्रिय रुपले विशेष महत्व बोकेको र राजधानीमा तीव्ररुपमा खड्किएको खानेपानीको आवश्यकता पूर्ति गर्ने महत्वपूर्ण आयोजनाको यसकिसिमको निराशाजनक कार्यान्वयनले यसबीचमा पटक–पटक राष्ट्रिय लज्जाबोधको अवस्थासमेत देखापरेको थियो । यसकिसिमको स्थिति देखापर्नु र निर्धारित समयसीमाको दोब्बरभन्दा बढी अवधिमा मात्रै कार्यसम्पन्न हुने अवस्था निम्तिनुमा विभिन्न कारणहरु जिम्मेवार रहेका छन् । पछिल्लो समयमा सन् २०१३ सेप्टेम्बरभित्र सुरुङ र मुहान निर्माणको कार्य सम्पन्न गर्नेगरी सन् २००९ मा सरकारले चिनियाँ कम्पनी सीआरसीसीसँग ठेक्का सम्झौता गरेको थियो । तर, उक्त कम्पनीले करिब तीन वर्षमा साढे छ किलोमिटर मात्रै सुरुङ निर्माण गरेको र विभिन्न कारणहरु देखाउँदै ठेक्का रकममा चार अर्बभन्दा बढी थप गर्नुपर्ने सर्त राखेसँगै सरकारले सन् २०१२ मा सीआरसीसीसँगको ठेक्का भंग गरेको थियो । तत्पश्चात पुनः ठेक्काको प्रक्रिया सुरु भएको र यसबीचमा करिब एक वर्ष आयोजनाको निर्माणकार्य ठप्प बन्नपुगेको थियो । पुनः टेन्डर आह्वान भएसँगै हालको इटालेली कम्पनी सीएमसीसँग ठेक्का सम्झौता भएपश्चात मात्र सुरुङ निर्माण कार्यले गति लिएको देखिन्छ ।  


आयोजनाको मुख्य र महत्वपूर्ण कामका रुपमा रहेको सुरुङ निर्माणका क्रममा देखापर्ने भौगोलिक जटिलता र कमजोर भूबनावटले समेत मेलम्ची आयोजनाको निर्माणकार्य लम्ब्याउन मलजल गरेको देखिन्छ । हालकै अवस्थामा पनि सिन्धु–ग्यालथुम खण्डमा लगातार कमजोर चट्टान आइरहेकोले सुरुङ निर्माणकार्यमा कठिनाइ भइरहेको मेलम्ची आयोजना विकास समितिले जनाएको छ । यसकिसिमको खराब चट्टान सुरुङ खन्दै जाँदा लामो दूरीसम्म भेटियो भने यसले आयोजनाको कार्यप्रगति समस्या निम्त्याउने अवस्था रहन्छ । यसबाहेक औसत सरकारी आयोजना व्यवस्थापनमा देखिनेगरेका रोगहरुबाट मेलम्ची आयोजना पनि मुक्त हुनसकेको छैन । ठेकेदारको कमजोर कार्यक्षमता र ढिलाइ, सरकारको अप्रभावकारी अनुगमन प्रणाली, अनावश्यक राजनीतिक हस्तक्षेप, विकास प्रशासनको असक्षमताजस्ता समस्याहरुबाट पनि यो आयोजना अछुतो रहन सकेन । यस्ता आयोजनाहरुको कार्यान्वयनका लागि छुट्टै विशिष्ट नीति र कानुनको तर्जुमा गरी निर्माणकार्यलगायतका प्रक्रियाहरु ‘फास्ट ट्र्याक’बाट अघि बढाइनुपर्ने हो । अन्य औसत आयोजनाहरुमा देखिएका कमजोरी र असफल अभ्यासबाट पृष्ठपोषण लिएर यसकिसिमका आयोजनाहरुमा त्यस्तो असफलताको पुनरावृत्ति हुन नदिन विशेष व्यवस्थाहरुको अवलम्बन गरिनुपर्ने हो । आयोजना प्रमुखलगायतका विकास व्यवस्थापकहरुलाई आयोजना कार्यान्वयनका सन्दर्भमा कानुनतः अधिकारसम्पन्न र पूर्ण उत्तरदायी बनाइनुपर्ने हो । तर, यी सबै पक्षहरुलाई नजरअन्दाज गरी पुरानै प्रक्रियागत ढाँचामा सञ्चालित आयोजनाबाट समयमै उत्तम नतिजा खोजिनु र नवीन अपेक्षा गरिनु नै आफैंमा त्रुटिपूर्ण रहेको छ । यसैगरी, पछिल्लो समयमा गतवर्षको विनाशकारी भूकम्पको मार र भारतद्वारा गरिएको अघोषित नाकाबन्दीले अन्य निर्माणाधीन आयोजनाहरु जस्तै यो आयोजनामा पनि इन्धन अभाव भई करिब १० महिना काम बन्द हुनपुगेको थियो । यसबीचमा व्यवस्थापिका–संसद्को विकास समितिलगायत विभिन्न नियामक निकायहरुले मेलम्ची आयोजनाको काम समयभित्रै सम्पन्न गर्न सरकारलाई पटक–पटक निर्देशन दिएका थिए । तर, यसकिसिमका विभिन्न समस्याहरुको विद्यमान स्थितिमा आयोजनाले आफ्नै सुस्त गति कायम राखिरहेकै कारण समयमै निर्माण सम्पन्न हुन नसकी सुरुवाती चरणदेखि नै विलम्ब भइरहेको छ ।


निर्धारित समयसीमाभन्दा धेरै विलम्ब हुनुका साथै विभिन्न समस्याहरुबाट ग्रस्त बनेरै भए पनि मेलम्ची खानेपानी आयोजना लक्ष्यप्राप्तिको समीपमा आइसकेको छ । यो लक्ष्य पूरा भएसँगै उपत्यकाबासीहरुले खानेपानीको विकराल संकटबाट मुक्ति पाउनुका साथै अस्वस्थ खानेपानीका कारण समयसमयमा देखापर्नेगरेका पानीजन्य रोगहरुबाट समेत धेरै हदसम्म बँच्नसक्ने अवस्था रहन्छ । यसो हुनसकेमा उपत्यकाबासीहरुले खानेपानीका सन्दर्भमा दीर्घकालीनरुपमा राहत महसुस गर्नसक्ने आशा र अपेक्षा गर्न सकिन्छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com