उत्पादनमूलक क्षेत्रमा बैंकहरुको १७ प्रतिशत कर्जा

काठमाडौं, जेठ १२
उत्पादनमूलक क्षेत्रमा वाणिज्य बैंकहरुले १७ दशमलव एक प्रतिशत कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रस्तुत गर्दै कृषि, ऊर्जा र पयर्टन क्षेत्रमा मात्र २८ वटा वाणिज्य बैंकहरुले कुल कर्जाको १७ दशमलव एक प्रतिशत अर्थात् चार खर्ब १७ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जानकारी दिएको हो । राष्ट्र बैंकको निर्देशनअनुसार वाणिज्य बैंकहरुले आफ्नो कुल कर्जामध्ये कृषि क्षेत्रमा न्यूनतम १० प्रतिशत र ऊर्जा तथा पर्यटन क्षेत्रमा न्यूनतम १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्छ ।

यसैगरी वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले आफ्नो कुल कर्जा सापटको न्यूनतम पाँच प्रतिशत अनिवार्य रुपमा विपन्न वर्गमा प्रवाह गर्नुपर्छ । तर यसअनुरुप चालू आवको चैत मसान्तसम्ममा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले विपन्न वर्गमा छ प्रतिशत कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ । प्राथमिकताप्राप्त क्षेत्रतर्फ कर्जा लगानी प्रवर्द्धन गर्न तथा निर्यात विस्तारमा समेत सहयोग पु-याउने उद्देश्यले सहुलियत दरमा प्रदान गरिने पुनर्कर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । राष्ट्र बैंकका अनुसार चालू आवको चैत मसान्तसम्ममा २३ अर्ब छ करोड रुपैयाँबराबरको सहुलियत पुनर्कर्जा लगानीमा रहेको छ ।

बैंक तथा वित्तीय संस्थालाई चार प्रतिशतमा साधारण पुनर्कर्जा दिने व्यवस्था रहेकोमा बैंक तथा वित्तीय संस्थाले यस्तो कर्जामा ऋणीबाट आठ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था कार्यान्वयनमा ल्याइएको जानकारी पनि तेस्रो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले दिएको छ । निर्यातलाई प्रोत्साहन गर्ने उद्देश्यले एक प्रतिशत ब्याजमा राष्ट्र बैंकले दिँदै आएको निर्यात पुनर्कर्जामा बैंक तथा वित्तीय संस्थाले ऋणीसँग तीन प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था कार्यान्वयनमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ ।

भूकम्पपीडितहरुलाई आवासीय घर निर्माणको लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइएको पुनर्कर्जाको बक्यौता २०७५ चैत मसान्तमा दुई अर्ब ५८ करोड रहेको छ । यस्तो कर्जा एक हजार पाँच सय ७७ जनाले उपयोग गरेको राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसार चालू आवको चैत मसान्तसम्म नेपाल सरकारबाट ब्याज अनुदानमा प्रवाह गरिने व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा १४ हजार छ सय ३९ जनाले उपयोग गरेका छन् । यसअन्तर्गत प्रवाह भएको कर्जामध्ये २५ अर्ब १८ करोड कर्जा बक्यौता रहेको छ । राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो अवधिमा अनुत्पादक क्षेत्रको रुपमा गणना हुँदै आएको ओभर ड्राफ्ट, घरजग्गा, हायर पर्चेज र मार्जिन प्रकृतिको कर्जामा भने पछिल्लो समय घटेको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com