अल्मलिएको हाम्रो जनशक्ति

अच्युतप्रसाद पौडेल 'चिन्तन'
क) सार :- मुलुकमा श्रमयोग्य जनशक्ति प्रसस्त भए पनि त्यसको सदुपयोग हुनसकेको छैन । हामीकहाँ युवाशक्ति नभएको होइन । युवाशक्तिको प्रचुर संभावनाकै कारण मुलुकले ठूलाठूला ऐतिहासिक परिवर्तन गर्नसकेको छ । दक्ष र प्रविधियुक्त युवाजमातको कारण एसियाको सम्पन्न मुलुक थाइल्यान्डले प्रसस्त आर्थिक विकास गर्नसकेको छ । थाइल्यान्डको बैंककशहरमा अधिकांश युवा नेतृत्वको वाहुल्यता छ र युवाजनशक्तिको इच्छा र आकाँक्षालाई अन्य समूहले प्रशस्त सहयोग र समर्थन गरेका छन् ।

हामीकहाँ धेरै युवाशक्ति बेरोजगार छन्, कष्टकर जीवन विताउँन वाध्य छन्, बाध्यतावश वैदेशिक रोजगारमा संलग्न छन् । शिक्षित र तालिम प्राप्त जनशक्तिको प्रतिभा पलायन भएको छ । विकासको मूलप्रवाहबाट वाहिर रहेका नयाँपुस्ता एवं नयाँ जोस र जाँगर भएका यस्ता समूहलाई सामूदायिक कार्यमा सरीक गराउँन सके राष्ट्र निर्माण, नयाँ नेपाल निर्माण कार्य भरपर्दो वन्न सक्छ । उत्पादनशील रोजगारीको अवसर सिर्जना गर्नु संगठनको कार्य हो । संगठन संचालन गर्ने मुख्य अभिभारा मानवशक्तिले नै लिएको हुन्छ । कृषि र ग्रामीण क्षेत्रमा रहेको अर्धबेरोजगारी र बेरोजगारी समस्या हाम्रो अर्को चुनौती हो । प्रशासनयन्त्रमा दक्ष र भरपर्दो जनशक्ति परिचालन भएन भने मुलुकको स्तर माथि उठ्न सक्तैन ।

समग्रमा जीवनशैलीमा परिवर्तन आउन सक्तैन । दक्ष र स्वस्थ जनशक्ति निर्माण गर्नु कुनै पनि मुलुकका लागि केन्द्रीय महत्वको विषय हो । हामी अहिले नयाँनेपाल सुरक्षित र भरपर्दो नेपाल, नयाँनेपाल स्वस्थ नेपाल भन्ने नारा लिएर अगाडि वढिरहेका छौँ । मानवशक्तिको सकारात्मक सोच, तिनको सदुपयोगकै कारण आजको विश्व समुन्नत हुनसकेको परिप्रेक्षमा मानव संशाधन विकास र हाम्रा चुनौती वारे उजागर गर्नु यस लेखको मुख्य उद्देश्य हुनेछ ।

ख) परिभाषा :- मानव संशाधन विकास र जनशक्ति योजनालाई प्रशासन एवं व्यवस्थापनका विज्ञहरुले पर्यायवाची रुपमा हेर्ने गरेका छन् । मुलुकको उन्नतिको लागि त्यस मुलुकभित्र दक्ष जनशक्ति पर्याप्त मात्रामा हुनु जरुरी छ । पेशाविद्, प्राविधिक र व्यवस्थापकीय अनुभव प्राप्त जनशक्तिबाट मुलुकको विकासमा योगदान पुग्न सक्छ । मुलुक संचालनमा धेरै किसिमका संगठनहरु हुन्छन् । ती संगठनको नेतृत्व व्यक्तिको हातमा हुन्छ । संगठनको आवश्यकता अनि संगठनसँग आवद्ध व्यक्तिको संलग्नता र सन्तुष्टिका लागि तयार गरिने योजना प्रक्रिया नै जनशक्ति योजना हो ।

जनशक्ति योजनाले मुलुकका लागि संचालित संगठनको आवश्यकीय दक्ष जनशक्ति उचित समयभित्र, उचित मात्रामा उपलव्ध गराउने एक निश्चित प्रक्रिया तोकेको हुन्छ । प्रशासन विज्ञ सीबी मेमोरियाले जनशक्ति योजनाले भविष्यमा आइपर्ने जनशक्तिको प्रक्षेपण गर्छ र भविष्यका लागि जनशक्तिको विकास समेत गर्छ भन्नु भएको छ । अर्का विद्वान् डा. डेभिड र स्टेफेन पी. रोबिन्सका अनुसार जनशक्ति योजना त्यो प्रक्रिया हो जसमा संगठनमा उचित एवं उपयुक्त संख्यामा उचित कर्मचारीहरु उचित स्थान र समयमा उपलव्ध हुन्छन् र संगठनको उद्देश्यमा सहयोग पुग्न जान्छ ।

माइकल आम्स्ट्र्रंग अगाडि भन्नुहुन्छ – जनशक्ति योजना संगठनको दीर्घकालीन व्यावसायिक आवश्यकता पूर्ति हेतु चाहिने स्रोत साधनहरुसँग तालमेल मिलाउने कामसँग सम्वन्धित हुन्छ । तर कुनै बेला संगठनले अल्पकालीन आवश्यकतालाई समेत सम्बोधन गर्नुपर्ने हुन्छ । यस अर्थमा जनशक्ति योजना भन्नाले संगठनको विद्यमान र भविष्य दुवैको लागि सदुपयोग गर्ने कार्यमा सुधार ल्याउन निरन्तर रुपमा विभिन्न उपयोगी पद्धतिहरु खोजी गरिरहन्छ । संक्षेपमा भन्नुपर्दा साधन र स्रोतको व्यवस्थापन, त्यसको प्रक्रियाको अभ्यास नै जनशक्ति योजना हो । साधन भन्नाले म्यान, मनी, मटेरियल भन्ने बुझिन्छ र मनी/मटेरियलको परिचालन म्यान ले गरेको हुन्छ । यस अर्थमा मानव संशाधनको भूमिका कुनै पनि संगठनमा अहं हुन्छ ।

जनशक्तिको माग र आपूर्तिको प्रक्षेपण त्यसको रणनीति र कार्यनिति समेतलाई ध्यान दिइनुपर्ने हुन्छ । मुलुकले लिने जनशक्ति विकास नीतिले दिगो विकास र विकास प्रशासन समेतलाई प्रभाव पारेको हुन्छ । मुलुकले उन्नति, राष्ट्रिय, अन्तराष्ट्रिय पहिचानदेखि भविष्यमा आइपर्ने चुनौतीहरुसँग मुकाविला गर्नुपर्ने हुन्छ । निजीक्षेत्रबाट प्राप्त हुने जनशक्ति, गैरसरकारी, सरकारीक्षेत्रबाट प्राप्त हुने जनशक्ति र तिनको व्यवस्थापन समेत जनशक्ति योजनाका विषय वस्तुहरु हुन् । भविष्यमा स्रोत र साधन कम हुँदै जाने परिप्रेक्ष र मुलुकभर वृद्धि भैरहने इच्छा र आकाँक्षा समेतलाई तालमेल गराउन पनि आधुनिक समयमा जनशक्ति योजनालाई वढी महत्वका दृष्टिले हेर्ने गरिन्छ ।

ग) केही सैद्धान्तिक पक्षहरुः- मुलुकभित्र विभिन्न संगठनात्मक स्वरुपहरु हुन्छन् । आवश्यकता अनुसार यी स्वरुपहरु थपघट पनि हुनसक्छन् । शिक्षा, स्वास्थ्य, सडक, यातायात, संचार, सूचना प्रविधिदेखि शान्ति सुरक्षासम्मका लागि जनशक्ति तय गर्नुपर्ने हुन्छ । प्रगतिको मार्ग पहिल्याउँदै नयाँ चुनौतीसँग मुकाविला गर्दै, संभावित समस्याहरुको पहिचान गर्दै मुलुकका संगठनहरुले दिगो र भरपर्दो उत्तरदायित्व समेत बहन गर्नुपर्ने हुन्छ । दक्ष, सिपयुक्त र उच्च मनोवल भएका जनशक्तिबाट कुनै पनि वेलाको हाँकसँग मुकाविला गर्ने दक्षता हुन्छ । कुन समय कस्ता व्यक्तित्वहरुको परिचालन गर्ने भन्ने धारणासमेत राज्यभित्रका संगठनहरुले योजना तयार गर्नुपर्ने हुन्छ । माग र आपूर्तिको सामान्जष्यता गर्नु सजिलो काम होइन । अन्य स्रोत साधन तत्काल कतैबाट (अनुदान, सहयोग आदि) क्षणिक पूर्ति गराउन सकिए पनि मानवीय स्रोत, साधन भने यसरी तत्कालै पूर्ति हुने विषय होइन ।

उच्च मनोवल वृत्ति विकासका संभावनाहरु, उत्पादन र उत्पादकत्वको अभिवृद्धिको साथसाथै सिप विकास लगायत तालिम र क्षमताको भरपूर उपयोग विना संगठनका लक्ष्यहरु परिपूर्ति हुन सक्तैनन् । मानवीय मूल्य र मान्यता सहितको वातावरण तयार नगरी कुनै पनि संगठनले दिगो उद्देश्य हासिल गर्नसक्तैन मुलुकभरि रहेका विभिन्न संगठनहरु स्वरुपहरुको केन्द्रीय समन्वय अर्को मूल मुद्धाको विषय हुन सक्छ । केन्द्रमा केन्द्रीय नेतृत्वदेखि क्षेत्रगत र स्थानीय श्रम, सिपको सदुपयोगसम्मका समूचित प्रवन्धका लागि कुनै पनि मुलकमा जनशक्ति योजनाको सर्वाधिक महत्व रहेको हुन्छ ।

जनशक्ति योजनाको राष्ट्रिय तहले समष्टिमा आवधिक विकास योजनालाई समेत ध्यान दिएको हुन्छ । मुलुकभरि आवश्यक पर्ने सम्पूर्ण जनशक्ति, वर्तमानको अवस्था, अतीतको अनुभव र भविष्यको सोच समेतमा ध्यान दिनुपर्ने हुन्छ । अनुमान र प्रक्षेपण समेत गर्ने केन्द्रीय निकायहरु योजना आयोगदेखि विभिन्न केन्द्रीय संगठनहरु र तहगत रुपमा अन्य धेरै संगठनहरु हुनसक्छन् । जनशक्ति योजनाले क्षेत्रगततहमा वन, वातावरण, उद्योग, पर्यटनदेखि समग्रमा कृषिक्षेत्र, औद्योगिकीकरणसम्म अलग अलग क्षेत्रका लागि हालको जनशक्ति र भविष्यमा आवश्यक पर्ने जनशक्तिको प्रक्षेपण गर्नुपर्ने हुन्छ । संगठनको स्वरुप र तत् तत् संगठनलाई आवश्यक पर्ने जनशक्तिको सही प्रक्षेपण तिनको पूर्तिको योजना समेत तय गर्नुपर्ने हुन्छ ।

जनशक्ति योजनाको अर्को तह छ त्यो हो सांगठनिक सबै किसिमका संगठन, तिनको स्तर, तिनमा हाल भएको जनशक्ति र भविष्यमा आवश्यक पर्ने जनशक्ति, तिनको अधिकतम उपयोगसमेतलाई ध्यान दिनुपर्ने हुन्छ । मूलतः विद्यमान जनशक्तिको अभिलेख, विद्यमान परिस्थितिमा त्यो जनशक्तिको प्रयोग, भविष्यमा त्यो जनशक्तिको वहिर्गमन, तत्काल पूर्ति गरिने माध्यम, अनावश्यक छ भने त्यसको वैकल्पिक प्रयोग, स–सम्मान अवकाशको योजना समेतलाई ध्यान दिइनुपनि त्यतिकै आवश्यक हुन्छ । यस अर्थमा कुशल जनशक्ति योजना तर्जुमादेखि त्यसको व्यावहारिक प्रयोगको विषय सजिलो चाहिँ छैन । मानव कल्याण, मानवहितदेखि संगठनको हितसम्म र समग्र राष्ट्रिय नीतिको तालमेलसम्मको विषय कम चुनौतीपूर्ण भन्न मिल्दैन ।

संगठनभित्र रहेका व्यक्तिहरुको उच्च मनोवल र सन्तुष्टिविना कुनैपनि संगठनले आफ्नो उद्देश्य पूरा गर्न नसक्ने हुँदा संगठनमा संलग्न व्यक्तिको दैनिक आवश्यकतादेखि भविष्यसम्मको आत्मसन्तुष्टिलाई संगठनले पुर्णतः ध्यान दिनुपर्ने हुन्छ । त्यसको लागि संगठनको साथै संगठनभित्र रहने व्यक्ति, समूहको भावी योजना, रणनीति, कार्ययोजना तय गरी आधुनिक प्रविधिलाई समेत आत्मसात् वैज्ञानिक पद्धति प्रयोग गरी छिटो, सरल र भरपर्दो अनि उत्तरदायीपूर्ण र परिणाममुखी जनशक्ति व्यवस्थापन पनि कम चुनौतीपूर्ण कार्य होइन । नेपाल जस्ता विकासोन्मुख मुलुकहरुका लागि यो झन् गंभीर विषय बनेको छ ।

अझ भन्नुपर्दा हाम्रा लागि राष्ट्रिय, क्षेत्रगत र साँगठनिक जनशक्ति योजनाबीच सामान्जस्यता अर्को समस्याको विषय हो । वैज्ञानिक पद्धति विना आत्मसात् गरिएको योजना भरपर्दो र दिगो नहुने स्पस्ट छ । अल्पकालीन र दीर्घकालीन योजना छनौटका लागि सम्वन्धित विज्ञहरुको सहभागिता झन् वढी जरुरी छ । भौगोलिक विकटताको कारण नेपाल जस्ता मुलुकका लागि केन्द्रीय नेतृत्व प्रतिवद्ध रहनुपर्ने हुन्छ भने क्षेत्रगत एवं साँगठनिक नेतृत्व पनि उत्तिकै कटिवद्ध हुन जरुरी छ ।

समग्र्रमा भन्नुपर्दा जनशक्ति योजना एउटा व्यावसायिक कार्य हो जसका लागि विशेषज्ञ समूहको आवश्यकता पनि अझ दरिलो रुपमा देखापर्छ । नेपालको परिप्रेक्षमा भन्नुपर्दा छिटो छिटो ठूला ठूला परिवर्तनहरु देखापरिरहेको परिप्रेक्षमा मानव संशाधनको विद्यमान अवस्थाको पहिचानदेखि भावी माग र आपूर्तिको सामान्जस्यता सजिलो कुरो छैन । साँच्चै भन्नुपर्दा सदैव परिक्षणकै घढीमा रहेका हाम्रा लागि हाम्रो राजस्वको स्थिति, खर्चको व्यवस्थापन, वाह्य स्रोतदेखि आन्तरिक स्रोतसम्मको पहिचान गरी निश्चित अवधिको लागि एउटा खाका तयार गर्न बौद्धिक जगत्को भरपूर उपयोग सदैव आवश्यक छ ।

घ) केही व्यवहारिक पक्षहरुः- मुलुकमा दक्ष र भरपर्दो जनशक्ति तयार गर्ने क्रममा केन्द्रीय तहमा त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, पोखरा विश्वविद्यालयदेखि क्षेत्रगत र साँगठनिक रुपमा जनशक्ति तयार गर्ने हजारौँ शैक्षिक संस्थाहरु संलग्न छन् । केन्द्रीयतहमा शिक्षा मन्त्रालयदेखि विषयगत मन्त्रालयहरु – विभाग एवं सम्वद्ध संगठनहरु धेरै छन् । जनशक्ति योजना तय गर्ने क्रममा एसियाको विकसित मुलुक थाइल्यान्डमा विश्वविद्यालय हेर्ने मन्त्रालय छुट्टै रहेको छ । हामीभन्दा तेव्वर वढी भूगोल र तेव्वर वढी जनसंख्या भएको थाइल्यान्डमा सानो आकारको जम्मा १४ वटा मन्त्रालयहरु मात्र छन् जसमध्ये शैक्षिक जनशक्ति तयार गर्ने विश्वविद्यालय हेर्ने मन्त्रालय छुट्टै रहेको छ ।

हामीकहाँ राज्य पुनर्संरचना हुँदैछ । यसका लागि केन्द्रीय निकाय मन्त्रालयहरुदेखि क्षेत्रगत र जिल्लाहरुको समेत पुनः संरचना हुने क्रम छ । संगठन विस्तार आफैमा नराम्रो हुँदैन तर तिनमा आपूर्ति गर्नुपर्ने दक्ष जनशक्तिको व्यवस्थापन भने वढी चुनौतीपूर्ण हुनेगर्छ । राजनैतिक र प्रशासनिक दायित्व एवं जिम्मेवारीका बीच समन्वय आजको मूलभूत चुनौती हो । साधन र स्रोतको पर्याप्त व्यवस्थापन विना कुनै पनि उद्देश्य पूर्ण हुनसक्तैन । वि.सं. २००७ देखि परीक्षणको प्रयासमा रहेका हामीहरु आजसम्म आइपुग्दा पनि केवल परीक्षणमै छौँ ! मुलुकको सामाजिक, सांस्कृतिक र आर्थिक रुपान्तरण युवाशक्तिकोे हातमा हुन्छ । हाम्रो मुलुकमा विगतदेखि वर्तमानमा आइपुग्दा अधिंकाश परिवर्तनहरु युवा शक्तिबाटै भएका छन् । तर त्यही युवाशक्ति मुलुकबाट पलायन छ । विश्वको समृद्धि प्राप्त मुलुक जापानले वृद्धहरुको सम्मान गरेको छ भने दिन दुई गुणा र रात चौगुणाले विकास गर्ने मुलुक थाइल्याण्डमा युवा शक्तिको गतिलो परिचालन भएको छ ।

सिर्जनशीलता अनि साहस सिक्ने क्षमता र उच्च आत्मविश्वास युवाशक्तिमा रहेको हुन्छ । उद्यमशीलताको विकासमा नेतृत्व विकासमा उनीहरुलाई प्रयोग गर्ने सकिए मुलुकको समृद्धि टाढा हुन्न । क) नेपालको कूल जनसंख्यालाई विश्लेषण गर्दा १६ देखि ४० वर्ष उमेर समूहका मानिसहरु ४१ प्रतिशत रहेका छन् । हाम्रा सबै युवा शिक्षित, सीप सम्पन्न, अनुसाशित र उद्यमशील हुने हो भने हामीले सोचेको विकासको रफ्तार टाढा हुन्न । युवा जनशक्ति भनौँ मानव पुँजी पलायन हुन नदिने र श्रमशक्ति मुलुकमै प्रयोग हुने वातावरण सिर्जना गर्ने काम सरकारको हो । सबैलाई सरकारले रोजगारी दिन नसके पनि रोजगारीका अवसर सिर्जना गर्न सक्छ । मुलुकमा अहिले सरकार स्थीर छ तर नीति स्थीर छैन । नाना, खाना र छानाकै लागि युवाशक्ति विदेशिएको छ । आफु र आफन्त आश्रित बुढाबुढीहरुको सपना पुर्तिका लागि पनि घरजग्गा बेचेर युवाशक्ति पलायन छ । उद्योग, उद्यमशीलता, लगानी र रोजगारीको क्षेत्र युवामैत्री भएन ! कुनैपनि सरकारी काम बढी प्रक्रियामुखी झन्झट र अपारदर्शी छ ।

रोजगारी सिर्जना गरी उद्यमशीलतामा, उद्योगमा युवाशक्ति सरिक गराउने काममा लघु, घरेलु साना उद्योगहरुको बढी हात हुन सक्छ । सरकारले अर्को अभियान फागुन १ लाई रोजगार दिवस भन्दै लागु गर्ने घोषणा ग-यो ! निजी क्षेत्र संशकित बन्न पुगे ! यसै अभियान अन्तर्गत दिने भनिएको बेरोजगार भत्ता नाम मात्रको भयो । हाल मुलुकका धेरै निजी क्षेत्र सञ्चार, दूर सञ्चार, शिक्षा, सहकारी एवं बैंकहरुमा धेरै युवाशक्ति परिचालित छ । मुलुकमा पछिल्लो समय देखिएको निजी क्षेत्रको संलग्नताले युवा रोजगारी सिर्जनामा धेरै सहयोग पुगेको छ । स्वदेशमा उच्च शिक्षाकोे वातावरण तय भएन । मध्यम र उच्च शिक्षा प्राप्त युवा शक्ति विदेश पलायन रोक्नुपर्छ । मुलुकमै आर्थिक, उत्पादन, सेवा क्षेत्रमा संलग्न हुने अवसर पाए विदेश जाने रहर हुँदैन । व्यवहारिक र व्यवसायिक शिक्षाको अभाव छ मुलुकमा ! युवा जोस जाँगरको प्रयोग हुनेगरी दिइने शिक्षण, प्रशिक्षणको अभाव छ ! तालिम, शिक्षण, प्रशिक्षण संस्थाहरु भएपनि समन्वयको अभाव छ ! पर्यटन क्षेत्रमा युवाशक्ति अत्यधिक प्रयोग हुन सक्छ ।

लोकतन्त्र स्थापनाका लागि धेरै युवा शक्तिले आफ्नो जोस्, जाँगर देखाए तर त्यही जनशक्तिलाई मुलुकले विकासको अभियानमा लगाउन सकेको छैन । राजनैतिक इच्छा शक्तिको कमी भयो । युवाको सक्रिय जोस् जाँगर मुलुकको रुपान्तरणमा प्रयोग भएन । राजनैतिक दलहरुसँग सक्रिय हुन पाएका बाहेक अरु श्रमशक्ति खेर गइरह्यो । युवाशक्तिको प्रयोगबाटै राष्ट्र निर्माण सम्भव छ । यो शक्ति मुलुकको सम्बाहक हो । मुलुकमा जलस्रोत कमी छैन । विद्युत उत्पादनमा, सडक निर्माणमा खानेपानी आपूर्तिदेखि पूर्वाधार विकासका क्षेत्रमा हाम्रै युवा शक्ति प्रयोग हुन जरुरी छ । मेलम्ची, अरुण, सिक्टा आयोजना – राजमार्ग, दु्रतमार्ग जस्ता विकास निर्माणमा नेपाली शक्ति परिचालन गर्नु पर्छ ।

राष्ट्रभित्रै रोजगारीको अवसर दिएर राष्ट्र हितमै प्रयोग गरिनुपर्छ नयाँ पुस्तालाई । युवामा प्रविधिमैत्री शिक्षाको जरुरी छ । सीपमूलक तालिमबाट आत्म निर्भर बनाउने अवसर दिनुपर्छ । राज्यका हरेक तहमा युवा पहुँच हुनुपर्छ । खेतबारी सबै बाँझो छ अहिले । कृषि जमिनको उपयोग, पशुपालन, मत्स्यपालन, भेडा, चौरी, फलफुल खेती, चिया, अलैची, उत्पादन, बजार विविधीकरणमा युवाशक्ति प्रयोग हुन सक्छ । समाजमा विद्यमान गरिबी, अशिक्षा, विभेद, हिंसा, छुवाछूत अन्त्यका लागि सामाजिक अभियानमा युवा शक्तिको गर्नु पर्छ ।

असल शिक्षाको अभावमा हाम्रा युवा शक्ति पश्चिमीकरणतिर लागेको छ । पश्चिमी संस्कृतिलाई सर्वस्व ठानिरहेको छ । धुम्रपान र मद्यपान, दुर्व्यसनमा सरीक छन् । कार्लमार्क्स, सिद्धार्थ गौतम, नेपोलियन, महात्मा गान्धीहरुलाई पनि युवा जोस् नआएको होइन तर उनीहरुले यस्ता होस् जोस्लाई शक्तिमा, विचारमा परिणत गरे लक्ष्मीप्रसाद देवकोटा, मोतिराम भट्ट, भानुभक्त, पृथ्वीनारायण शाहहरु युवा नै थिए । श्रम मिहिनेतविना नै धनी बन्ने, पसिना बेगर नै ठुला उद्यमी, व्यापारी बन्ने सोच राख्नु गलत हो । मुलुकमा उच्च आर्थिक वृद्धिदर,गरीवी निवारणको लागि जनशक्ति योजना आवश्यक छ । उद्योग, शिक्षा, पर्यटन, जलश्रोत, स्वास्थ्य, सडक, यातायात, दूरसंचार सेवामा संलग्न जनशक्ति सिपयुक्त हुनु जरुरी छ ।

हाम्रो मुलुकमा उच्चशिक्षाको माध्यमबाट सर्वाङ्गीण विकास गर्ने उद्देश्यले स्थापित त्रिभुवन विश्वविद्यालयले देशव्यापीरुपमा विविध विषय र क्षेत्रगतरुपमा समेत जनशक्ति आपूर्ति गरिराखेको छ । राष्ट्रिय र अन्तराष्ट्रिय स्तरको जनशक्ति तयार गर्ने क्रममा विभिन्न संकाय, अध्ययन संस्थान, आँगिक क्याम्पस, विभागहरु रहेका छन् । सम्वन्धन प्राप्त क्याम्पसहरु पनि धेरै छन् । प्राविधिक एवं अप्राविधिक जनशक्ति उत्पादन गर्ने कार्यमा त्रिभुवन विश्वविद्यालय लगायत काठमाडौँ विश्वविद्यालयमा विज्ञान, प्रविधि, कला, व्यवस्थापन, शिक्षा, स्वास्थ्यक्षेत्रमा ठूलो जनशक्ति उत्पादन भैरहेको छ भने पूर्वाञ्चल विश्वविद्यालयले मुलुकको उच्चक्षेत्रमा वहुआयामिक नवीनतम शैक्षिक कार्यक्रम संचालन गरिराखेको छ ।

नेपाल संस्कृत विश्वविद्यालयले संस्कृत भाषा प्रशिक्षणदेखि कला, साहित्य, आयुर्वेद विषयलाई प्राथमिकता दिएको देखिन्छ । पोखरा विश्वविद्यालयले व्यवस्थापन संकाय, विज्ञान र प्रविधि, मानवीकि एवं समाजशास्त्रका जनशक्ति तयार गर्दैछ । श्रम तथा सिप विकासका सम्वन्धमा र उच्च माध्यमिक, माध्यमिक, निम्न माध्यमिक एवं प्राथमिक शिक्षाक्षेत्रमा जनशक्ति तयार गर्ने क्रममा हजारौँ संगठनहरु संलग्न छन् निजी एवं सरकारी स्तरमा ! सही वातावरण तयार हुन सकेमा जनशक्तिको लागि विदेश जानु पर्दैन । अनौपचारिक शिक्षा केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, पाठ्यक्रम विकास केन्द्र, शैक्षिक जनशक्ति विकास केन्द्र आदि निकायहरुबाट पनि मुलुकको लागि आवश्यक पर्ने जनशक्ति आपूर्ति भैराखेको छ  । तर शिक्षा र सिपको गुणस्तर आजको मूल चुनौतीको विषय भएको छ । प्रमाणपत्र लिँदैमा व्यक्ति प्रविधि र सिपयुक्त हुन्छ भन्ने होइन व्यक्तिमा कत्तिको गुणस्तर छ त्यो विषय गहन हुन्छ ।

विकसित मुलकहरुको धारणा आफ्नो जनशक्ति आफ्नै मुलुकमा प्रयोग होस् भन्ने हो । थाइल्यान्ड; चीन र जापानको समेत उदाहरण यही हो अन्य विकसित मुलुकहरुले पनि जनशक्ति योजना तय गर्दा यस्तै रणनीति अपनाएका छन् । नेपालको परिप्रेक्ष भिन्न छ औपचारिक अनौपचारिक रुपमा धेरै नेपालीहरु विदेशमा छन् आफु उत्साहित भएर वा वाध्य भएर ! स्वास्थ्यक्षेत्रमा हेर्ने हो भने नेपाल मेडिकल काउन्सिलमा एम.वि.वि.एस., वि.डि.एस. तथा विशेषज्ञहरुसमेत हालसम्मको दर्ता संख्या दक्ष जनशक्तिको कम छ, आवश्यकभन्दा कम वढ्दै गएको जनसंख्याको अनुपातमा धेरै नै कम । शिक्षा र स्वास्थ्यक्षेत्रमा अतीतदेखि मुलुकले ठूलो रकम लगानी गरे पनि उपलव्धि नगन्य छ ।

(ङ) अव के गर्ने त :- मुलुकमा दक्ष र सिपयुक्त जनशक्तिको साथै साक्षर जनशक्तिको आपुर्ति गर्न शैक्षिक पाठ्यक्रमलाई व्यवहारिक र कार्यमूलक बनाउनु पर्छ । विद्यार्थी शिक्षकको अनुपात, विरामी चिकित्सकको अनुपात, विकास निर्माण, इन्जिनियर, प्राविधिक जनशक्तिको अनुपात समेत मिलाई शिक्षाको पहिलो घामको रुपमा रहेका जनशक्तिलाई प्राविधिक ज्ञान, विज्ञान र सिपमुखी बनाउनु पर्छ । शैक्षिकक्षेत्रमा गरेको लगानी भरपर्दो भएन । प्राज्ञिक नेतृत्वबीच तालमेलको अभाव, विद्यालय र श्रमवजारभन्दा अधिकांशत जनशक्ति विदेशोन्मुख हुने गरेको यथार्थ र अन्य स्वास्थ एवं इन्जिनियरिङ्गक्षेत्रको हविगत पनि यस्तै प्रकारको हुन जानाले यी विषयमा विदेशोन्मुखभन्दा स्वदेशोन्मुख हुने नीति तय हुनु जरुरी छ । अन्य मुलुकमाा १२ कक्षासम्म अनिवार्य र निःशुल्क रहेको सन्दर्भमा हाम्रो परिप्रेक्षमा गुणात्मक शिक्षा दिइने नाममा प्राथमिकतहदेखि नै शिक्षा महंगो हुनाले जनशक्ति आपुर्तिको प्रथम खुड्किलामा नै व्यवधान देखिएको हो ।

दक्ष प्रशासनिक जनशक्ति विना मुलुककोे उद्देश्य सम्भव छैन । नयाँ चुनौतीसँग मुकाविला गर्ने प्रशासनिक जनशक्ति तयार गर्न ढिलो भयो । भौगोलिक समस्याको कारण स्वास्थ्यकर्मीलाई दूर्गमक्षेत्रमा टिकाइराख्न सकिएन जसका कारण स्वास्थ्यसेवा संचालन भरपर्दो बन्न सकेन । दूर्गमक्षेत्रका अन्य सेवा हुलाक, शिक्षा, संचार, कृषिसँग सम्वद्ध संगठनहरु जनशक्ति विहीन बन्नपुगे, त्यसतर्फ राज्यले चासो दिनुपर्ने भयो । स्थानीय तहमा जनप्रतिनिधिहरु खारिएका छैैनन् । सामाजिक, आर्थिक, राजनैतिकक्षेत्रका संगठनहरु बीच जनशक्ति तालमेल भएन विकासको मार्ग अवरुद्ध बन्यो ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com