सिन्धु सर्जिकल कन्सर्नद्वारा नक्कली सामान बिक्री

रोशन कार्की
काठमाडौं, असार २६
काठमाडौंको थापाथलीमा रहेको सिन्धु सर्जिकल कन्सर्नले मानव शरीरमा प्रत्यारोपण गरिने सामग्री (इम्प्लान्ट डिभाइस)को अपारदर्शी व्यापार गरेको पाइएको छ । उक्त सर्जिकल सेन्टरले अधिकांश उत्पादक कम्पनीको नामविनाको सामान चिकित्सकसँग मिलेर उपत्यकाबाहिर बिक्री वितरण गर्दै आएको पाइएको हो । सो कम्पनीको म्यानेजिङ डाइरेक्टर यज्ञबहादुर भण्डारी हुन् भने सेल्स म्यानेजरका रूपमा रञ्जन भण्डारीलाई जिम्मा दिइएको छ । कम्पनीका प्रोपाइटर भण्डारीको एक समूहले सम्बन्धित अस्पताललाई सर्जरीका आफ्नो मूल्यमा खरिद गरेको खण्डमा डाक्टरलाई कमिसन समेत पठाउँदै आएको स्रोतको दाबी छ ।

अधिकांश बिरामीहरू सवारी दुर्घटनामा परेर मेरुदण्डमा चोट लागेपछि उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुग्ने गरेका छन् । सोही मौका छोप्दै सो सिन्धु सर्जिकल कन्सर्नका प्रोपाइटर भण्डारीले गुणस्तर मापन नै नगरेको सर्जिकलका सामग्री सो अस्पताललाई बिक्री गर्दै आएका छन् । यसरी उक्त अस्पतालले सामान खरिद गरेको खण्डमा डाक्टरलाई कमिसन पठाएको विभिन्न बैंकको भौचरबाट खुलेको छ । सो सेन्टरले हाडजोर्नीको समस्या, मुटु रोग, दन्तरोग आदिका बिरामीको शरीरमा प्रयोग हुने सामग्री समेत अपारदर्शी रूपमा खरिदबिक्री गर्दै आएको छ भने तिनको गुणस्तर र मूल्य समेत अपारदर्शी रहेको छ ।

केही निश्चित एजेन्टमार्फत बिक्री गरिँदै आएका त्यस्ता उपकरणबाट बिरामीलाई फाइदाभन्दा पनि झन् बेफाइदा पुग्दै आएको आरोप समेत लागेको छ । एकातर्फ बिरामीले उच्च मूल्य तिर्नुपरेको छ भने यी सामग्रीको अधिकतम खद्रा मूल्य, ब्याच नम्बरलगायतका विवरण समेत नखुलाई बिक्री हुँदा सरकारले कुनै अनुसन्धान समेत गरेको छैन । बिरामीको ढाडमा राखिएको ‘स्क्रु’ नामको सामग्रीलाई सिन्धु सर्जिकल कन्सर्न प्रालिले न्यूनतम ५० हजार रूपैयाँमा बिक्री गर्ने गरेको छ । सो सामग्री खरिद गरेको कुनै पनि मूल्य अभिवृद्धि कर (भ्याट) बिल नदिई साधारण बिल दिने गरेको छ, जसमा सो सर्जिकलको नाम समेत उल्लेख गरेको छैन । कम्पनीले बिक्री गर्दै आएको उक्त सामग्रीको खोलमा मूल्य र गुणस्तरबारेको कुनै पनि सूचना उल्लेख गरिएको छैन ।

त्यस्तै कहाँ उत्पादन भयो भन्ने समेत जानकारी राखिएको पाइएको छैन । दुर्घटनाबाटै ढाडमा समस्या भई स्टिल राख्नुपरेमा पनि बिरामीले चर्को मूल्य तिर्नुपरेको छ । सो कम्पनीद्वारा छोडिएका केही एजेन्टमार्फत राजधानीका अधिकांश अस्पतालहरूमा न्यूनतम ४५ हजार रूपैयाँमा बिक्री हुँदै आएको छ । यस्ता इम्प्लान्ट डिभाइसको मूल्य बिक्रेताले मनपरी लिने गरेका छन् । प्रत्यारोपणका सामग्रीमा भइरहेको अपारदर्शी कारोबारले बिरामीलाई ठूलो आर्थिक भार पर्नुका साथै थप जटिलता समेत निम्त्याउने गरेको छ ।

संसारभर मेरुदण्डमा स्टेनलेस स्टिल, टाइटानियम र पिक गरी तीन थरिका स्पाइन इम्प्लान्ट डिभाइस प्रयोगमा आएका छन् । तर, चिकित्सकहरू हड्डीजस्तै हुने र मानव शरीर अनुकूल हुने भएकाले टाइटानियमको प्रयोग बढी हुने गरेको बताउँछन् । तुलनात्मक रूपमा सस्तो भएकाले भारतमा निर्मित इम्प्लान्ट डिभाइस बढी रुचाइए पनि भारत, अमेरिकालगायत अन्य मुलुकबाट समेत आयात भइरहेका यस्ता सामग्रीको अधिकतम खुद्रा मूल्य भने आयातकर्ताले नै तोक्ने गरेको छ ।

राष्ट्रिय ट्रमा सेन्टरका अनुसार विदेशबाट आयात हुने प्रत्यारोपण सामग्रीको वास्तविक मूल्यबारे चिकित्सक समेत जानकार नहुने जनाएको छ । नेपाली आयातकर्ताले मूल्य आफैं तोक्ने हुँदा बिरामीलाई आर्थिक भार परिरहेको सो ट्रमा सेन्टरले जनाएको छ । सो कम्पनीले दन्त रोगका सामग्रीको समेत अधिकतम खुद्रा मूल्य निर्धारण नगरिएका कारण ठगिनुपरेको छ । कमजोर दाँतलाई टिकाउन राखिने ‘डेन्टल क्राउन’लाई अस्पतालहरूले चार हजारदेखि ४० हजार रूपैयाँसम्ममा बिक्री गरिरहेको पाइएको छ ।

डेन्टल ल्याबका अनुसार गुणस्तरअनुसार न्यूनतम १२ हजारदेखि अधिकतम सात हजार रूपैयाँसम्मका डेन्टल क्राउन अस्पताललाई बिक्री गरिने र सो सामग्री बिरामीलाई ४५ हजार रूपैयाँसम्ममा बिक्री गर्ने गरेको छ । प्रत्यारोपणका सामग्रीमा आफूले बढी मूल्य नलिएको दाबी सो कम्पनीले गरे पनि खरिद मूल्यमा सामान्य नाफा राखेर बिक्री गर्दै आएको दाबी सो कम्पनीले गरेको छ । सिन्धुले अमेरिकी कम्पनी मेडट्रोनिकबाट हाडजोर्नीको उपचारका लागि चाहिने प्लेट, स्क्रु र मुुटु रोगको उपचारमा चाहिने पेसमेकरजस्ता प्रत्यारोपणका सामग्री बिक्री गर्दै आएको छ ।

सो कम्पनीबाट बिरामीका आफन्तले प्रत्यारोपणका सामग्री औषधि पसलबाट सोझै खरिद गर्न नपाउने र सो सामान चाहिएको खण्डमा एजेन्टमार्फत मात्र खरिद गर्न सकिने व्यवस्था गरेको छ । तर, अधिकांश बिरामी वा उनीहरूका आफन्तलाई एजेन्टबारे जानकारी नहुँदा उनीहरू चिकित्सकमै निर्भर हुनुपर्ने भएकाले चिकित्सकबाट कमिसन मिलान हुने कम्पनीको सामग्री माग गरी उच्च मूल्यमा बिक्री गरिने गरेको छ । यसरी एजेन्टका रूपमा सम्बन्धित अस्पतालका डाक्टरहरू नै रहने गरेको समेत खुलेको छ ।

सो सम्बन्धमा पटक–पटक सिन्धुका म्यानेजिङ डाइरेक्टर भण्डारीको फोनमा सम्पर्क गर्दा उनले फोन रिसिभ गरेनन् भने उनको मोबाइलमा पठाएको एसएमएस तथा उनको अफिसको ल्याण्डलाइन फोनमा पनि सम्पर्क हुनसकेन । हाडजोर्नी र मुटु रोगका केही चिकित्सकले बिरामीको उपचारमा चाहिने प्रत्यारोपणका सामग्रीका लागि बिरामीका आफन्तलाई एजेन्टसँग सम्पर्क गराइदिने समेत काम गर्दै आएका छन् । यसरी सिफारिस भएर गएकाहरूसँग महँगोमा सामान किन्नुपर्ने अन्तिम बाध्यता पार्ने काम चिकित्सकबाटै हुँदै आएको छ ।

चिकित्सक डा. भगवान कोइरालाका अनुसार एजेन्ट र चिकित्सकहरूको मिलेमतोकै कारण हाडजोर्नीसम्बन्धी प्रत्यारोपणका सामग्रीको मूल्य अत्यधिक हुन गएको छ । सरकारी अस्पतालमै यस्तो अवैध रूपमा फैलिएका विभिन्न कम्पनीका एजेण्टहरूको सहज पहुँच रहेको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शल्यक्रिया कक्षसम्मै एजेन्टहरूको पहुँच रहेको छ । एजेन्ट वा उत्पादक कम्पनीसँगको मिलेमतोमा प्रत्यारोपणका सामग्रीहरू चर्को मूल्यमा बिरामीलाई भिडाउने चलन वर्षौँदेखि चलिरहेको छ ।

डाक्टरबाट नेपाल मेडिकल काउन्सिलले तयार पारेको ‘कोड अफ इथिक्स’अनुसार कुनै पनि चिकित्सकले बिरामीलाई निश्चित कम्पनीका सामान खरिद गर्न उत्प्रेरित गर्न नपाउने व्यवस्था भए पनि सो व्यवस्थालाई लत्याउँदै आफूखुसी सामान खरिद गर्न उत्पेरित गर्दै आएका छन् । २०७४ जेठ १९ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको ‘प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणसम्बन्धी निर्देशिका २०७४’मा प्रत्यारोपणलगायतका स्वास्थ्य सामग्री बिक्री वितरणको इजाजत दिने, गुणस्तर जाँच गर्ने, मूल्य तोक्नेलगायतका जिम्मेवारी औषधि व्यवस्था विभागलाई दिइएको छ । तर, जारी भएको लामो समय बितिसक्दा समेत पनि सो निर्देशिका कार्यान्वयन हुनसकेको छैन ।

नेपालमा प्रत्यारोपणका सामग्री बिक्री गर्ने त्रिपुरेश्वरको सिन्धु सर्जिकल कन्सर्नले अमेरिकाको मेडट्रोनिक्स कम्पनीका सामग्री आयात गरेको उल्लेख गरे पनि सो सामग्रीहरू गुणस्तरहीन भएको पाइएको छ । सिन्धुले मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्स प्लान्ट सेन्टरमा समेत प्रत्यारोपणका सामग्री सप्लाई गरिरहेको छ । मेडट्रोनिक्स त्यही कम्पनी हो, जसले उत्पादन गरेका इम्प्लान्ट डिभाइस गुणस्तरहीन रहेको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट (आईसीआईजे)ले २०१८ नोभेम्बर २५ मा खुलासा गरेको थियो । आईसीआईजेको अनुसन्धानमा मेडट्रोनिक्सले आफ्ना उपकरण युरोपेली मुलुकहरूमा बिक्री गराउन चिकित्सकहरूलाई घुस दिने गरेको पाइएको थियो ।

आईसीआईजेले गरेको खुलासामा मेडट्रोनिक्सले विगत दश वर्षदेखि उत्पादन गरेका प्रत्यारोपणका सामग्रीहरूको अनधिकृत बिक्री गरेको, विभिन्न देशका सरकारी स्वास्थ्य कार्यक्रमलाई धोका दिएको र कम्पनीलाई अनुकूल हुने गरी अध्ययन–अनुसन्धान गर्न चिकित्सकहरूलाई रकम दिने गरेको उल्लेख छ । भारतका नियामक निकायहरूको अनुगमनबाट समेत मेडट्रोनिक्सले बढी मूल्यमा प्रत्यारोपण सामग्री बिक्री गरेको पाइएको थियो । त्यस्तै, चीनको नियामक निकायले मेडट्रोनिक्सलाई बजारमा एकाधिकारको अभ्यास गरेको भन्दै जरिवाना तिराएको थियो ।

जर्मनीको कार्ल स्टोर्ज नेपालमा प्रत्यारोपणका सामग्री निर्यात गर्ने अर्को कम्पनी हो । कार्लको नेपाली एजेन्ट इष्टवेस्ट कन्सर्न प्रालिमाथि पनि आफ्ना सामान बिक्री गराउन चिकित्सकहरूलाई कमिसन दिने गरेको आरोप लाग्ने गरेको छ । आईसीआईजेले सार्वजनिक गरेको मेडिकल ‘इम्प्लान्ट फाइल’ बारेको डेटाबेसमा पनि कार्ल स्टोर्जबारे उल्लेख छ । यसैगरी पुठ्ठाको हड्डी प्रत्यारोपणका लागि नेपालमा अमेरिकाको जोनसन एण्ड जोनसन कम्पनीका सामग्रीहरू आयात भइरहेको छ ।

आईसीआईजेको अनुसन्धानले भारतमा हिप प्रत्यारोपणमा प्रयोग भएका सामग्री विषालु भएको पाइएपछि त्यस्ता उत्पादन भारतीय बजारबाट फिर्ता पठाएको थियो भने अमेरिकामा सन् २०१५ यता जोनसन एण्ड जोनसनका गुणस्तरहीन उत्पादन प्रयोग गरेका बिरामीमा थप जटिलता आएपछि कम्पनीले चार दशमलव तीन विलियन अमेरिकी डलर क्षतिपूर्ति समेत तिरिसकेको सो कम्पनीका सर्जिकलका सामग्री बिक्रीमा युरोप, अमेरिका, अफ्रिकालगायतका मुलुकमा प्रयोग गर्न रोक लगाइए पनि नेपालमा भने बिनारोकतोक आयात भइरहेको पाइएको छ । जसका कारण ती सामग्रीका खोलहरू सबै नेपाली कम्पनीहरूले परिवर्तन समेत गरेको हुनसक्ने आशंका गरिएको छ । हाडजोर्नी, मुटु, मस्तिष्क र स्तनसम्बन्धी रोगका बिरामीका शरीरभित्र प्रयोग गरिने इम्प्लाण्ट डिभाइसमाथि भएको अनुसन्धानले विभिन्न मुलुकमा परीक्षण नगरिएका प्रत्यारोपण सामग्रीहरू प्रयोग भइरहेको खुलासा भएको छ ।

गुणस्तर परीक्षण नगरिएका प्रत्यारोपण सामग्रीका कारण ८३ हजारको ज्यान गएको उल्लेख गरेको उक्त रिपोर्टमा अफ्रिकी, एसियाली, दक्षिण अमेरिकी मुलुकमा इम्प्लान्ट मेडिकल डिभाइसमाथि नियमन गर्न कुनै नियमनकारी निकाय नभएको समेत जनाइएको छ । सरकारले मुटुको उपचारमा प्रयोग हुने केही उपकरण तथा सामग्रीमा भ्याट छुट गरेको छ । तर सिन्धुले भ्याट छुट गरेको सामग्रीको कुनै सूची सार्वजनिक नगरी सबैलाई भ्याटमूल्य जोडेर बिक्री गरेको आरोप समेत लागेको छ । सरकारले स्टेन्ट, भल्भ, पेसमेकरलगायतका सामग्रीमा भ्याट छुट गरेको छ । सिन्धुले ती सामग्रीमा समेत भ्याट लगाई बिक्री गर्दै आएको छ भने बिल समेत नदिने गरेको पाइएको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अस्वस्थ प्रतिस्पर्धा बैंकिङ क्षेत्रकै सबैभन्दा ठूलो समस्या हो

रूपन्देहीबाट उदाएका सक्षम बैंर्कसको रूपमा चिनिने प्रदिपकुमार श्रेष्ठ वित्तीय क्षेत्रको परिचित नाम हो । क्षेत्रीयस्तरबाट सञ्चालनमा आएका रूपन्देहीका दुई विकास बैंकहरू एक आपसमा मर्जर भएर बन्न लागेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रूपमा पदीय जिम्मेवारी सम्हाल्नुले पनि श्रेष्ठको वित्तीय क्षेत्रमा सफल र सक्षम नेतृत्वले कुशल कार्यव्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको प्रष्ट...

प्रदिपकुमार श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत, तिनाउ मिसन डेभलपमेण्ट बैंक लि., रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com