सरकारी सेवामा बढ्दो आकर्षण

रुपनारायण खतिवडा
पछिल्लो समयमा मुलुकमा श्रमशक्तिको उत्पादन र मागबीचमा रहेको खाडल विकराल रूपमा फराकिलो बन्दै गएको छ । मुलुकमा रोजगारीका अवसरहरू घट्दै र खुम्चिदै गएका कारण बेरोजगारहरूको सङ्ख्या वर्षेनी बढ्दै गइरहेको छ । नेपालमा सरदर वार्षिक पाँच लाख श्रमशक्ति श्रम बजारमा प्रवेश गर्दछन् भने यीमध्ये अत्यन्त न्यून सङ्ख्याले मात्र मुलुकभित्र रोजगारीको अवसर प्राप्त गर्दछन् । सरकारी तथ्याङ्कमा कुल श्रमशक्तिमध्ये वैदेशिक रोजगारीमा गएकाबाहेक करिब दुई प्रतिशत हाराहारी मात्रै बेरोजगार र ३० प्रतिशत श्रमशक्ति अर्धबेरोजगार रहेको देखिए पनि यथार्थमा बेरोजगारहरूको हिस्सा योभन्दा निकै बढी रहेको अनुमान गर्न सकिन्छ । यही कारण वर्षेनी लाखौँ युवाहरू बाध्य भएर रोजगारीका लागि विदेशिने गरेका छन् । मुलुकमा शिक्षित बेरोजगारहरूको सङ्ख्या विकराल ढंगले बढेसँगै सरकारी क्षेत्रमा रोजगारीको प्रमुख क्षेत्रका रूपमा रहेको निजामती सेवामा प्रवेश गर्न चाहने योग्यताप्राप्त युवा, युवतीहरूको सङ्ख्या पनि व्यापक बढिरहेको छ ।

निजामती सेवामा रिक्त हुन आउने पदहरूको पदपूर्तिका लागि परीक्षा सञ्चालन गर्ने जिम्मेवारी पाएको संवैधानिक अङ्ग लोकसेवा आयोगले केही समयअघि स्थानीय तहमा रिक्त रहेका विभिन्न सेवा, समूहका चौथो, पाँचौ र छैटौँ तहका विभिन्न नौ हजार एक सय ६२ पदका लागि विज्ञापन प्रकाशन गरेको थियो । विज्ञापन भएका पदहरूमा दरखास्त दिने अन्तिम म्यादसम्म दरखास्त दिने उम्मेद्वारहरूको सङ्ख्या चार लाख ४० हजार एक सय ६३ पुगेको तथ्याङ्क सार्वजनिक भएको छ । दरखास्त दिनेको यो सङ्ख्या माग गरिएको पदभन्दा ४८ गुणाभन्दा बढी रहेको देखिन्छ । स्थानीय तहको विज्ञापन हुनुभन्दा केही समयअघि लोकसेवा आयोगले आफ्नो ५९ औँवार्षिक प्रतिवेदन सार्वजनिक गरेको थियो ।

सार्वजनिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७४/७५ मा विज्ञापन भएका पाँच हजार नौ सय ७० पदका लागि पाँच लाख ७१ हजार तीन सय २२ जना आवेदकहरूले दरखास्त पेश गरेको देखिन्छ । यद्यपि, अघिल्लो आर्थिक वर्षमा प्रशासनिक संघीयताको कार्यान्वयन र कर्मचारी समायोजनको सिलसिलाका कारण अत्यन्तै न्यून पदहरूमा मात्रै दरखास्त आह्वान भएको थियो । त्यसअघिको आर्थिक वर्ष २०७३/७४ मा नियमितरूपमा विज्ञापन भएका विभिन्न १० हजार तीन सय ६८ पदहरूका लागि आठ लाख ४४ हजार दूई सय ९७ जना उम्मेद्वारहरूले दरखास्त पेश गरेको देखिन्छ । यसरी हेर्दा, आयोगले विज्ञापन गरेका पदसङ्ख्या र आवेदन दिएका उम्मेद्वारहरूको सङ्ख्याका बीचमा सयौँ गुणा अन्तर रहेको अवस्था छ ।

अघिल्ला वर्षहरूको अवस्था पनि योभन्दा धेरै पृथक रहेको छैन । लोकसेवा आयोगले आव २०६८/६९ मा दुई हजार आठ सय विभिन्न पदहरूको पूर्तिका दरखास्त माग गरेकोमा कुल दुई लाख ७० हजार आवेदकहरूले दरखास्त पेश गरेका थिए भने आव २०६९/७० मा पाँच हजार ७८ पदका लागि कुल तीन लाख ७० हजारले आवेदन पेश गरेका थिए । आव २०७०/७१ मा आइपुग्दा छ हजार आठ सय पदका लागि साढे पाँच लाखभन्दा बढीको दरखास्त परेको आयोगको तथ्याङ्क छ । आर्थिक वर्ष २०७१/७२ मा आयोगले सात हजार नौ सय ९१ विभिन्न पदका लागि विज्ञापन प्रकाशन गरेकोमा दरखास्त दिने उम्मेद्वारहरूको सङ्ख्या पाँच लाख ९९ हजार छ सय ६८ अर्थात् करिब छ लाख पुगेको देखिन्छ ।

यसैगरी, आर्थिक वर्ष २०७२/७३ मा १३ हजार पदका लागि पाँच लाख ९५ हजार आवेदकहरूले आफ्नो दरखास्त पेश गरेका थिए । यस हिसाबले लोकसेवा आयोगद्धारा विज्ञापन गरिएका विभिन्न पदहरूमा दरखास्त दिने योग्यताप्राप्त आवेदकहरूको सङ्ख्यामा वर्षेनी लाखौँले वृद्धि हुँदै गईरहेको र निजामती सेवा प्रवेशका लागि शिक्षित बेरोजगारहरूको आकर्षण पनि निरन्तर बढिरहेको देखिन्छ ।

पछिल्लो समयमा लोकसेवा आयोगको परीक्षामा सामेल भई निजामती सेवा प्रवेश गर्न चाहने युवाहरूको सङ्ख्यामा यसरी निरन्तर वृद्धि हुनुका केही ठोस कारणहरू रहेका छन् । मुलुकमा शिक्षित बेरोजगार युवाहरूको सङ्ख्यामा वर्षेनी विकरालरूपमा वृद्धि भइरहेको छ । लोकसेवा आयोगले निजामती सेवाको पदपूर्तिका लागि सञ्चालन गर्दे आएका परीक्षाहरूको प्रणालीमाथि हालसम्म कतैबाट पनि ठोसरूपमा प्रश्न उठ्नसकेको छैन । नेपालमा रहेका सरकारी संगठनहरूमध्ये तुलनात्मक रूपमा उच्चस्तरको सार्वजनिक छवि र उच्च साख भएको सफल संवैधानिक अङ्गका रूपमा लोकसेवा आयोग रहेको छ । आयोगले अपनाउँदै आएको निष्पक्ष पदपूर्ति प्रणालीका कारण पनि लाखौँ मिहिनेती युवाहरूको आशाको केन्द्रका रूपमा लोकसेवाद्वारा सञ्चालन गरिने परीक्षाहरू रहँदै आएका छन् ।

अर्कोतर्फ, सरकारी सेवामा प्रवेश गरिसकेपछि रोजगारीको स्थायीत्व पनि कायम रहन्छ । कानुनी दायरा उल्लंघन नगरेमा वा गैरकानूनी कार्य नगरेसम्म निजामती सेवामा निजी क्षेत्रमा जस्तो ‘हायर एण्ड फायर’ हुने स्थिति रहन्न । सेवाबाट अवकास भएपछि राज्यले पेन्सन कोषमार्फत पेन्सन सुविधा उपलब्ध गराउने गर्दछ । सरकारी जागिरको सामाजिक प्रतिष्ठा पनि तुलनात्मक रूपमा उच्च रहेको छ । राज्यको मूल प्रवाहमा रहेर नागरिक सेवामा समर्पित हुनपाउने अवसरलाई प्राप्त गर्ने मनोकांक्षा योग्यताप्राप्त धेरैले राख्ने गर्दछन् । निजामती सेवा प्रवेश गरिसकेपछि यसभित्र व्यक्तित्व विकास र प्रगतिका धेरै अवसरहरू रहने गर्दछन् । अध्ययन, तालिम, वैदेशिक भ्रमण, छात्रवृत्तिजस्ता अवसरहरूको उपभोग गर्नसमेत सेवा प्रवेशको ढोका खोल्न मरिमेटेर लाग्नेहरूको सङ्ख्या बढिरहेको छ ।

मुलुकमा लोकतन्त्रको प्राप्तिसँगै निजामती सेवा ऐनको दोस्रो संशोधनमार्फत २०६४ सालदेखि निजामती सेवालाई समावेशी तुल्याउन रिक्त पदहरूको पदपूर्ति गर्दा आरक्षणको व्यवस्था अवलम्बन गरिएको छ । आरक्षण व्यवस्थाका कारण पनि लोकसेवा आयोगका खुला प्रतियोगिताहरूमा प्रतिस्पर्धा गर्न चाहने उम्मेद्वारहरूको सङ्ख्या वर्षेनी तीव्ररूपमा वृद्धि भईरहेको देखिन्छ । आरक्षणको सुविधा प्राप्त गरेका वर्ग, लिंग र क्षेत्रबाट आरक्षित कोटाहरूमा प्रतिस्पर्धा गर्न चाहने उम्मेद्वारहरूको सङ्ख्या वर्षेनी बढिरहेको छ ।

आरक्षित कोटाहरूमा प्रतिस्पर्धा गर्न चाहने उम्मेद्वारहरूको सङ्ख्या मात्र बढिरहेको छैन, निजामती सेवाभित्र पहिला नसमेटिएका वा कम समेटिएका वर्गको उपस्थिति पनि बढिरहेको छ । विगत ८ वर्षको अवधीमा समावेशी समूह अर्थात् आरक्षण कोटाबाट १६ हजार नौ सय ३९ जना उम्मेद्वारहरू निजामती सेवाका विभिन्न पदमा सिफारिस भईसकेको तथ्याङ्क छ । पदपूर्तिमा आरक्षित गरिएका महिला, आदिवासी, जनजाति, मधेसी, दलित, अपाङ्ग र पिछडिएका क्षेत्रबाट निजामती सेवामा उल्लेख्य प्रवेश भईरहेको छ । आरक्षण व्यवस्था लागू भएसँगै निजामती सेवा प्रवेश गर्न चाहने आरक्षित वर्गका बेरोजगार युवायुवतीहरूको ‘क्रेज’ पनि ह्वात्तै बढेको छ ।

यति हुँदाहुँदै पनि निजामती सेवामा बजारका ‘क्रिम’ जनशक्ति भित्र्याउन नसकिएको भनेर समय–समयमा सरकारी उच्च पदाधिकारीहरू र यस क्षेत्रका विज्ञहरूले समेत धारणा राख्नेगरेका छन् । हुन पनि, निजामती सेवाभित्र केही प्राविधिक पदहरूको अपवादलाई छोड्ने हो भने सरकारी स्कुल र क्याम्पसबाहेक अन्य निजी क्षेत्रबाट उत्पादित जनशक्तिको सङ्ख्या अझै पनि शून्यप्रायः रहेको छ । निजामती सेवामा बजारका राम्रा जनशक्ति आउन नचाहनु र विज्ञापन गरिएका पदहरूमा आवेदन नै नदिनुका विभिन्न कारणहरू छन् । जीवन निर्वाह गर्न नै धौ–धौ हुने न्यून तलब र अस्वस्थ कार्यवातावरण नै निजामती सेवामा प्रवेश गर्न नचाहनुको प्रमुख कारण हो ।

पछिल्लो समयमा निजामती सेवाको सार्वजनिक छवि पनि धुमिल बन्दै गइरहेको छ । यससँगै, सेवाभित्र रहेको पदीय अहंता र सेवासुविधाको वितरणमा रहेको अपारदर्शीताले राम्रा जनशक्तिको आकर्षणलाई घटाइरहेको छ । पदपूर्तिका लागि विज्ञापन गरिएका न्यून सङ्ख्यामा रहने पदहरूका लागि लाखौँको दरखास्त पर्ने र धेरै उम्मेद्वारहरूबीचमा तीव्र प्रतिस्पर्धा गर्नुपर्ने स्थितिका कारण यसका लागि गर्नुपर्ने कठोर मेहनतको जोखिम उठाउन कतिपय शिक्षित बेरोजगारहरू तम्तयार नभएको स्थिति पनि विद्यमान छ । कठोर मेहनत गरेर सेवा प्रवेश गर्नभन्दा सेवाभित्र सरुवा, बढुवा हुन अझै गाह्रो हुने भएका कारण पनि नवयुवामा भएको जोश जाँगर त्यत्तिकै सेलाएर जाने गरेको छ । कर्मचारीतन्त्रमा ट्रेड युनियनका नाममा अत्याधिक राजनीतीकरण हुने गरेको तथा सक्षम र लगनशील भन्दा पनि राजनीतिक आस्थाका आधारमा कर्मचारीहरूबीचमा अवसरको बाँडफाँड गरिने परिपाटीका कारण पनि धेरै युवाहरू सेवा प्रवेश गर्न हच्किने गरेका छन् ।

राज्य सञ्चालनको मियोका रूपमा रहेको निजामती सेवा सक्षम र प्रभावकारी नभएसम्म मुलुकले कोल्टे फेर्न सक्दैन । सेवालाई सक्षम, प्रतिस्पर्धी र व्यावसायिक बनाउन यसभित्र प्रवेश गर्ने जनशक्तिको गुणस्तरले अहम् भूमिका खेल्दछ । मुलुकभित्र रोजगारीका अन्य अवसरहरू साँघुरिदै जाँदा न्यून सङ्ख्यामै भए पनि वर्षेनी नियमितरूपमा पदपूर्ति गर्दै आएको लोकसेवा आयोगको परीक्षामा सहभागी हुनु शिक्षित बेरोजगारहरूको बाध्यात्मक अवस्था पनि हो । यसबाट सङ्ख्यात्मक रूपमा धेरै उम्मेदवारहरू बीचबाट न्यून सङ्ख्यामा रहने आवश्यक जनशक्ति छनौट गर्दा तीव्र प्रतिस्पर्धा हुने भएका कारण केही मात्रामा गुणस्तरीय जनशक्ति भित्रिने अवस्था रहन्छ । तथापि, बढिरहेको यो आकर्षणमा बजारमा उपलब्ध रहेका अझ सक्षम र क्षमतावान् प्रतिभाहरूलाई पनि समाहित गर्नसकेमा भविष्यमा निजामती सेवाको गरिमाले अझै उचाई लिनसक्ने विश्वास गर्न सकिन्छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com