Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगएसईईपछिको शैक्षिक यात्राको मार्गचित्र

एसईईपछिको शैक्षिक यात्राको मार्गचित्र


बाबुकाजी कार्की
विद्यालय शिक्षाको महत्वपूर्ण खुड्किलोको रुपमा लिइने एसईई परीक्षा उत्तीर्ण साथै अध्ययन गरिने विषयले पेशागत भविष्यको बाटो तय गर्छ । आन्तरिक मूल्यांकनको आधारमा एसईईको नतिजा सार्वजनिक भएपछि कक्षा ११ मा कुन विषय किन र कहाँ पढ्ने भन्ने निष्कर्षमा पुग्न अभिभावक र अनुभवीको सल्लाह र सुझाव विद्यार्थीलाई मार्गदर्शन हुनसक्छ । कक्षा ११मा अध्ययन गरिने विषयको आधारमा नै विद्यार्थीको शैक्षिक यात्राको साथै भावी पेशागत यात्राको समेत तय गर्दछ ।

कोरोना कहरको अनिश्चयको कारण विद्यार्थीले पर्याप्त सल्लाह सुझाव सहज रुपमा पाउनसकेको अवस्था छैन । यस विषम परिस्थितिमा विद्यार्थीलाई उपयुक्त सल्लाह र सहयोग प्रदान गर्न अभिभावक तथा विद्यालयले कुनै कसर बाँकी राख्नुहुँदैन । विद्यार्थीको चाहनाअनुसारको पठनपाठनलाई व्यवस्थापन कसरी गर्न सकिएला ? शिक्षण संस्था सञ्चालकहरुको चिन्ता र चिन्तनको विषय बन्नुपर्दछ ।

गुणस्तरीय पठनपाठनको सहज वातावरण तर्जुमाका लागि क–कसले के–के भूमिका निर्वाह गर्नुपर्ला ? जस्ता प्रश्नहरुको जवाफ खोज्न विद्यार्थी, अभिभावक शिक्षण संस्था तथा राज्यबीचको सहकार्य र समीक्षाबाट गम्भीरतापूर्वक समयमा नै दूरदर्शी निष्कर्षमा पुग्नु बुद्धिमानी ठहर्छ । उच्च शिक्षाको खुड्किलोमा पाइला टेक्न तयार भएका विद्यार्थीहरुलाई आवश्यक सल्लाह र सहयोग सरकार र सरोकार पक्षले इमानदारीपूर्वक आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न चुक्नुहुँदैन ।

भविष्यमा अपनाउने पेशागत दक्षताको लागि आवश्यक उच्च शिक्षा अध्ययन विषय र शिक्षण संस्था छनोटमा सावधानीपूर्वक गरिनु बुद्धिमानी ठहर्छ । प्लस टुमा अध्ययन गर्ने विषयको चयन गर्दा अरुको दबाब र प्रभावको आधारभन्दा पनि पढ्ने विद्यार्थीको रुचिलाई पहिलो प्राथमिकता दिइनु दूरदर्शिता हुन्छ । अल्लारे उमेरका विद्यार्थीले लहैलहैमा लागेर पढ्ने विषय र शिक्षण संस्था हचुवामा छान्दा पढाई ओल्लो घाट न पल्लोतिर भएर हण्डर खाएको धेरै उदाहरण छन् ।

त्यसकारण एसईई पार भएका विद्यार्थीलाई श्रमबजारमा सहज प्रतिस्पर्धा गर्नसक्ने नागरिक बनाउने शिक्षा प्रदान गर्नेतर्फ समयमा नै आवश्यक सल्लाह र सहयोग गर्न सरकार र सरोकारपक्षले कञ्जुस्याइँ गरिनुहुँदैन । श्रमबजारमा तीव्र प्रतिस्पर्धा भएको आजको विश्वमा हरेक क्षेत्रमा अवसर र चुनौतीहरु थपिँदै गएका छन् । यस्तो बदलिँदो परिवेशको चुनौतीपूर्ण र प्रतिस्पर्धी श्रम बजारमा खरो प्रतिस्पर्धा गर्न समयको मागअनुसार अध्ययन विषयको छनोट होस पु-याएर गरिनुपर्दछ ।

विद्यार्थी आफैँलाई मात्र आफ्नो खुबी यथार्थमा थाहा हुन्छ । त्यसकारण आफूले कक्षा १ देखि १० सम्म पढेको अनुभवका आधारमा मात्र उच्च शिक्षाको लागि विषय छान्ने निर्णय गर्नुपर्छ । कुनै पनि विषय सानो हुँदैन । आफूले पढेको विषयमा सतही ज्ञान मात्र नगरेर विशेषज्ञता हासिल गर्नुपर्दछ । पढ्ने विषय रोज्दा आफ्नो रुचि क्षमता, शिक्षण संस्थाको साधनस्रोत, भौतिक सुविधा, योग्य शिक्षकको उपलब्धता आदि कुरामा विशेष ध्यान दिनुपर्छ ।

शिक्षण संस्थाको विज्ञापन तथा ब्रोसियरमा लेखिएका कुरालाई मात्रै विश्वास नगरी त्यसको शैक्षिक सफलताका ऐतिहासिक पृष्ठभूमि, शैक्षिक उपलब्धिको दिगोपन, व्यवस्थापनको स्तर, साधनस्रोतको पर्याप्तता, मानवीय सुसम्बन्ध, भौतिक संरचना, फराकिलो विद्यालय हाता, खानेपानी, शौचालय उपलब्धता सरसफाइ आदिको प्रत्यक्ष स्थलगत अवलोकनले वास्तविकता अनुभव गर्न मद्दत पुग्छ । भविष्यमा अपनाउने पेशा, त्यसको लागि श्रमबजारको माग तथा आफूले छानेको विषय पढ्न चाहिने लगानी, समयावधि, आफ्नो आर्थिक क्षमताका बारेमा यथार्थपरक भएर गम्भीर विश्लेषण गर्नुका साथै अभिभावकसँग धक फुकाएर छलफल गरेर मात्र पढ्ने विषय र शिक्षण संस्था छनौटको निष्कर्षमा पुग्नु बुद्धिमानी ठहर्छ ।

अभिभावकले विद्यार्थीको चालचलन, योग्यता र क्षमताबारे अरुलाई भन्दा बढी थाहा हुन्छ । छोराछोरीको इच्छाविपरीतका विषय जबर्जस्ती पढ्न लाउँदा निरन्तर असफलताका कारण मानसिक तनावले आत्महत्या समेतका अप्रिय घटना हुने गरेको पाइन्छ । छोराछोरीको क्षमता र रुचिअनुसारको विषय छनोट गर्न बाबु आमाले मित्रवत् सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्छ । उनीहरूको भावनाको कदर गर्दै अध्ययन गरेको विषयगत उपलब्धिहरूको आधारमा मात्रै विषय छनोट गर्न प्रोत्साहित गरिनुपर्छ । जसले गर्दा भविष्यमा आफूले पढेको विषयमा विशेषज्ञता हासिल गर्न उनीहरू सक्षम होऊन् ।

छोराछोरीको विगतको शैक्षिक उपलब्धि पृष्ठभूमि जान्न शिक्षण संस्थासँग सम्पर्क गरेमा अझ सार्थक हुन्छ । त्यस्तै एक जिम्मेवार अभिभावकले आफ्नो आर्थिक हैसियतलाई ख्याल गर्दै पढाउने शिक्षण संस्थाको प्रचारप्रसारको वास्तविक धरातल समेतको अध्ययन अवलोकन गरेर मात्र शिक्षण संस्था छनौेट गरेको खण्डमा पछि पछुताउनु नपर्ला ।

शिक्षा प्रदान गर्ने सामाजिक एवं परोपकारी दायित्व लिएका शिक्षण संस्थाले पनि आफ्नो साधनस्रोत र शैक्षिक उपलब्धिको हैसियतबारे पारदर्शी रुपमा नढाँटी इमानदारीपूर्वक जानकारी गराउनुपर्छ । किनकि मानवीय संसाधन विकास गर्ने अभिभारा लिएकाले यदि त्यसमा हेलचेक्य्राइ भएमा व्यक्ति समाज र अन्ततोगत्वा देशलाई नै धोका दिएको ठहर्छ । त्यसकारण त्यस्तो दूरगामी असर पार्ने शिक्षण संस्थाले क्षणिक लाभको लागि बेइमानी गरेमा प्रकारान्तरमा स्वयंको लागि आत्मघाती कदम नहोला भन्न सकिन्न । अतः प्रचलित नीति नियमलाई इमान्दारीपूर्वक अनुसरण गरी कुशल व्यवस्थापन गर्ने शिक्षण संस्थाले निश्चय नै भविष्यमा ख्याति कमाउन सफल हुन्छ ।

सार्थक दूरदर्शी सोच राखेर मात्रै अनुशासित वातावरणमा शिक्षण संस्था सञ्चालन गर्नुपर्छ । भनिन्छ, बाली लगाउन कम्तीमा ६ महिनाको, फलफूल रोप्न १० वर्षको र मान्छेलाई शिक्षित बनाएर सफल नागरिक बनाउन एक सय वर्षको योजना बनाउनुपर्छ । देखासिकी गरी धुरी चढ्नुको साटो गम्भीरतापूर्वक संस्थाको दिगोपन तथा निरन्तर प्रगतिका लागि सम्भाव्यताको अध्ययन अनुसन्धानपछि मात्र शिक्षण संस्था सञ्चालन गर्ने निष्कर्षमा पुग्दा फलदायी हुन्छ । शिक्षण संस्थाले आफ्नो लक्ष्य निर्विवाद हासिल गर्न व्यवस्थापनलाई चुस्त दुरुस्त राख्दै सेवाग्राहीको विश्वास जित्नुपर्छ ।

विद्यार्थी, शिक्षक, अभिभावकको आस्था र विश्वासको केन्द्रको रुपमा संस्थालाई स्थापित गर्ने लक्ष्यबाट व्यवस्थापन निर्देशित हुनुपर्छ । सरकारी गैरसरकारी तथा राष्ट्रिय, अन्तर्राष्ट्रिय विभिन्न संघ-संस्थाहरुबाट प्रदान गरिने छात्रवृत्ति बारेको यथार्थ जानकारी राख्न अल्छी गर्नुहुन्न । तोकिएका सेवा शर्तअनुसार शिक्षण संस्था सञ्चालन भएका छन् कि छैनन् नियमनका लागि सरोकार निकायबाट निरन्तर अनुगमन निरीक्षण अपरिहार्य हुन्छ ।

मनोमानी शुल्क लिने प्रवृत्तिलाई निरुत्साहित गर्न पारदर्शी र औचित्य पुष्टि गराउने व्यवस्था हुनुपर्छ । शिक्षण संस्थालाई विद्यार्थीको उपलब्धिप्रति जवाफदेही बनाउन राज्य र स्वयं सेवाग्राही चनाखो हुनुपर्छ । विद्यार्थीको भाग्य र भविष्यलाई सदैव सर्वोपरी मानेर शैक्षणिक कार्यक्रमहरु सञ्चालन गरिनुपर्छ । त्यसका लागि राज्यको सहयोग र सकारात्मक नीतिनियम अपरिहार्य हुन्छ । (लेखक काठमाडौंका पूर्वजिल्ला शिक्षा अधिकारी हुन्।)


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया