प्रदेशमा हस्तान्तरण भएकै सडक डिभिजनबाट केन्द्रीय सडकको काम

काठमाडौँ,साउन २

 यसअघि प्रदेशमा हस्तान्तरण भएका १४ वटा सडक डिभिजनहरुबाटै केन्द्रीय सरकारले चालू आर्थिक वर्ष २०७६÷०७७ को केही समय संघको बजेट खर्च गरेर सडकको पुनर्निर्माण तथा मर्मतको काम गर्ने भएको छ । गत पुस ९ गतेको मन्त्रिपरिषद् बैठकले प्रत्येक प्रदेशमा दुईवटाको दरले १४ वटा सडक डिभिजनलाई सम्बन्धित प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । अस्ति(मंगलबार) असार मसान्तसम्म ती सडक डिभिजनहरुले केन्द्र र प्रदेश दुवैतर्फको सडकको काम गर्दै आएका थिए । साउन लागेपछि पनि फेरि त्यसैगरी केन्द्र र प्रदेशको सडकको काम ती डिभिजनहरुले गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । 

भौतिक मन्त्रालयहरुले देशभरका सडक कार्यालयहरु कति रहने र ती कार्यालयमा कति कर्मचारी रहने भन्ने ओ एण्ड एम अर्थात् संगठन तथा व्यवस्थापन सर्वेक्षणको काम पूरा गर्नसकेको छैन । प्रदेशमा सडक डिभिजनहरु हस्तान्तरण भएपछि भौतिकले नयाँ संरचना प्रस्ताव गरे पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन सकिएपछि पेस गर्नु भनेर फाइल फर्काइदिएको थियो । केही सडकहरु प्रदेशबाट संघमा फिर्ता आएको, राष्ट्रिय राजमार्गहरु पहिचान गरिएको र नयाँ पुल तथा सडकहरु थप भएको कारण भौतिकले कतिवटा डिभिजनमार्फत काम गर्ने तथा कुन डिभिजनले कुन–कुन जिल्लाका सडकहरुको रेखदेख गर्नेजस्ता कुरा टुंगोमा पु¥याउनसकेको छैन । साथै कुन डिभिजनमा कति दरबन्दी राख्ने र ती दरबन्दी कसरी पूर्ति गर्ने भन्ने पनि एकीन नहुँदै वर्षात्पछि आएको बाढी र पहिरोका कारण देशभरका सडक सञ्जाल ध्वस्त भएका छन् । ध्वस्त सडकलाई आवतजावत सहज बनाउन खर्च गर्ने वैधानिक निकाय चाहिन्छ ।

तत्काल ओएण्डएमको काम नसकिने भएकाले पुरानै डिभिजनहरुबाट केही समयका लागि काम गर्ने वातावरण मिलाउन लागिएको भौतिक मन्त्रालयका सचिव देवेन्द्र कार्कीले बताए । ‘प्रदेशमा डिभिजनहरु हस्तान्तरण भएपछि ओएण्डएम भएको छैन । सडकहरुलाई सुचारु गर्नुपर्ने भएकाले केही समयका लागि प्रदेशमा हस्तान्तरण भएकै डिभिजनहरुबाट काम गर्ने निर्णय गर्न मन्त्रिपरिषद्मा प्रस्ताव गएको छ’, सचिव कार्कीले भने, ‘ओएण्डएमको काम पनि चाँडै सक्ने तयारी छ ।’गत पुसमा प्रदेशमा हस्तान्तरण भए पनि १४ वटा सडक डिभिजनहरुले लामो समयसम्म केन्द्रको मात्रै काम गरेका थिए । केही महिनादेखि प्रशको सडकको काम पनि गर्दै आएका थिए । अब फेरि ती डिभिजनहरुलाई केन्द्रको काम थपिएको छ ।

प्रदेशमा हस्तान्तरण भएको भनिए पनि ती १४ वटै डिभिजन सडक कार्यालयमा केन्द्र सरकारकै इन्जिनियरहरुले काम गरिरहेका छन् । प्रदेशसँग हाइवे इन्जिनियरको अभाव भएको कारण केन्द्र सरकारले तत्कालको लागि हाइवे इन्जिनियरहरु नहटाएको हो । ‘हाइवे इन्जिनियरहरु हटाउनासाथ काम रोकिन्छ’, सडक विभागका एक अधिकारीले भने, ‘नयाँ ओएण्डएम भएर आएपछि मात्र प्रदेशमा हस्तान्तरण भएका डिभिजनबाट केन्द्रका हाइवे इन्जिनियरहरु आआफ्नै कार्यालयमा जान्छन् । अहिलेको काम उनीहरुले नै चलाउँछन् ।’ प्रदेशमा हस्तान्तरण भएर आए पनि १४ वटा डिभिजनहरुमा प्रदेश सरकारले इन्जिनियहरु पठाएको छैन । प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयबाटै आफ्ना काम गराइरहेको छ । केही जिल्लामा पूर्वाधार विकास कार्यालय र डिभिजन दुवैले प्रदेशको सडकको काम गर्दै आएको कारण प्रदेश सरकारलाई पनि ओएण्डएम गर्न नैतिक दबाब परेको छ ।

गत पुस ९ गतेको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर १ का इलाम र लुम्लिङटार, प्रदेश नम्बर २ का लाहान र चन्द्रनिगाहापुर, प्रदेश नम्बर ३ को खुर्कोट र नुवाकोट, गण्डकी प्रदेशको दमौली र बागलुङ, प्रदेश नम्बर ५ को शिवपुर र प्यूठान, कर्णाली प्रदेशको चौरजहारी र जुम्ला तथा सुदूरपश्चिम प्रदेशको साँझेबगर र बैतडी डिभिजनलाई प्रदेश सरकार मातहत रहने गरी हस्तान्तरण गरेको थियो । ती सबै डिभिजनमा लेखा र प्रशासनका केही कर्मचारी प्रदेशले पठाए पनि सबै कर्मचारी संघकै छन् ।
भौतिक मन्त्रालयले देशभर केन्द्रको सडक हेर्ने गरी २७ वटा सडक डिभिजन राख्ने गरी छलफल चलाए पनि टुंगोमा पु¥याउनसकेको छैन । २७ वटा सडक डिभिजन पनि कहाँ राख्ने भन्ने विषयमा मन्त्रिपरिषद्मै मन्त्रीहरुबीच विवाद रहेको छ । यद्यपि भौतिकले तयार पारेको प्रस्ताव पास हुनेछ । डिभिजनहरुको पुनर्संरचना गर्दा कम विवाद होस् भन्ने उद्देश्यले भौतिकले सूक्ष्म तरिकाले छलफल अगाडि बढाएको हो ।

 

 

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com