पर्वतारोहण पर्यटन क्षेत्रको कमाइ स्रोत

निनाम कुलुड. 'मंगले'
हुन पनि विश्वमा हालसम्म मान्यता पाएका आठ हजार मिटरभन्दा माथिका १४ वटा हिम पर्वत रहेका छन् । बाँकी छवटाले हिम पर्वतले पनि निकट भविष्यमै आठ हजार मिटरभन्दा माथिको हिम पर्वत भनी मान्यता पाउँदै छन् । संयोगले ती छवटै नयाँ हिम पर्वत नेपालमै रहेका छन् । हाल विश्वमा मान्यता प्राप्त भएका १४ वटा आठ हजार मिटरभन्दा माथिका हिम पर्वतहरुमध्ये आठवटा त नेपालमै रहेका छन् । ती आठ हजार मिटरमाथिका हिम पर्वतहरु पर्वतारोहण पर्यटन र नेपालको पर्यटन उद्योगका लागि मेरुदण्ड नै हो भन्दा फरक पर्दैन । जुन हिम पर्वतहरु हामी नेपालीहरुलाई प्राकृतिक रुपमै सित्तैमा प्राप्त भएको छ ।

जब कि विश्वका अधिकांश देशहरुले आफ्नो देशमा विश्वभरिका पर्यटकहरुलाई आकर्षित गर्न अनेक खाले कृत्रिम सुन्दरता र पर्यटकीय आकषर्णका चिजबिजहरु निर्माण गरेर आफ्नो देशमा पर्यटन व्यवसायलाई टेवा दिन्छन् । जे होस्, हाम्रो देश नेपाल पर्वतारोहण, पदयात्रा, जलयात्रा, क्यानोइङ, बन्जी जप्पिङ, जिप फ्लाइङ, हट एयर बालुनिङ, रक क्लाइम्बिङ, प्यारा ग्लाइडिङ, वाल क्लाइम्बिङ, कायाकिङ आदिका लागि उत्कृष्ट गन्तव्य हो । त्यसैले त हामीले विश्वका अधिकांश देशले जस्तो विदेशी पर्यटकलाई आकर्षित गर्नका लागि कृत्रिम वा भनौं मानव निर्मित पर्यटकीय आकर्षणका चिजबिज निर्माणमा खासै लगानी गर्नुपरेको छैन । बरु हामीसँग भएका सयौं नयाँ अर्थात् भर्जिन हिम पर्वतहरुलाई सक्दो छिटो खुल्ला गर्दै र निजी क्षेत्रका पर्यटन व्यवसायीहरुले आकर्षक प्याकेज बनाएर पर्वतारोहण वा हिमाल आरोहणमा धेरैभन्दा धेरै विदेशी पर्वतारोहीहरुलाई आकर्षित गर्नका लागि छिटोभन्दा छिटो सरकारीस्तरमा कदम चालिहाल्नुपर्ने र प्रचारप्रसारमा ध्यान दिनुपर्ने देखिन्छ । 

हुन पनि नेपालमा हिमरेखाभन्दा माथि लगभग १७ सय वटा हिम पर्वतहरु रहेका छन् भने तीमध्ये नेपाल सरकारले पटक–पटक गरेर चार सय १३ वटा (५,५५० मिटर अग्लो छुकुङ–रीदेखि लिएर ८,८४८ मिटर अग्लो सगरमाथा लगायतका) हिमालहरु पर्वतारोहणका लागि खुल्ला गरेको छ । त्यसमध्ये धेरै अघिदेखि तत्कालीन श्री ५ को सरकारले ३३ वटा स–साना हिमाललाई ‘ट्रेकिङ पिक’को रुपमा मान्यता दिएर नेपाल पर्वतारोहण संघ (एनएमए) लाई रेखदेख गर्ने, ती स–साना हिमाल चढ्न चाहने आरोहीलाई परमिट दिने, शुल्क उठाउनेलगायतको जिम्मेवारी दिएर सुम्पेको छ ।

त्यस्तै पर्वतारोहणका लागि खुल्ला गरिएका बाँकी हिमालहरु भने नेपाल सरकारको मातहतमा छ । हुन त नेपालमा रहेका हिमालहरु नेपालका लागि मात्रै नभएर छिमेकी देशहरु भारत, बंगलादेशलगायत छिमेकी देशहरुका लागि स्वच्छ खानेपानी, सिँचाइ, बिजुली बत्ती, जल विहार आदिका लागि मुहान अर्थात् मुख्य स्रोतको रुपमा पनि रहेको छ । अझ पछिल्लो समयमा विश्वभरि नै आएको मौसम परिवर्तनको समस्यका कारण त्यही स्वच्छ खानेपानी, सिँचाइ, बिजुली बत्ती, जल विहार आदिका लागि मुख्य स्रोतको रुपमा रहेको हिमालहरु पग्लेर हाम्रा लागि वरदान होइन कि अभिशाप र दुःखको स्रोत पनि बन्दै जाने दुःखद स्थिति पनि विद्यमान छ ।

निश्चय नै यसमा निर्दोष, निश्चल र अटल ती हिमालहरु दोषी नभएर हामी मान्छेहरु नै दोषको मुख्य भागीदारी हौं भन्नेमा दुईमत छैन । त्यसमा पनि विकसित देशहरु मुख्य रुपमा दोषी छन् भन्ने त विभिन्न समयमा विभिन्न देशका अनुसन्धानकर्ता र विषय विज्ञहरुले गर्ने गरेको अध्ययनपछि निकालेको प्रतिवेदनहरुले नै बताउने गरेको छ ।

एकै छिन विश्वमा रहेका १४ वटा ८ हजार मिटरभन्दा अग्लो हिम पर्वतहरुमध्ये नेपालमा रहेका छवटा आठ हजार मिटरभन्दा अग्लो हिम पर्वतहरुबारे छोटकरीमा चर्चा गरौं । विश्वकै अग्लो हिम पर्वत हो सगरमाथा । ८ हजार ८ सय ४८ मिटर अग्लो यो हिम पर्वत खासमा चीन–नेपाल सिमानामा रहेको छ । तर, पानी ढलोको आधारमा यसलाई नेपालको मान्ने सहमति चीनसँग भएको थियो । त्यस्तै विश्वका १४ वटा ८ मिटरभन्दा माथिको हिम पर्वतमा सबैभन्दा कम उचाइ अर्थात् ८ हजार १३ मिटर अग्लो सिसा–पाङमालाई चीनको मान्ने भनी सहमति भएको थियो । सो हिम पर्वत पनि लाङटाङ क्षेत्रमा नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको भित्री भागसम्म नै पुगेको छ । तापनि मान्ने गरिएको छ ।

त्यसो त कञ्चनजंघा हिम पर्वतले त तीन देशहरु नेपाल, चीन र भारत (सिक्किम) लाई छुन्छ । त्यस्तै ल्होत्से, मकालु र चो ओयु हिम पर्वतले पनि चीनलाई छुन्छ । धौलागिरी र मनास्लु हिम पर्वतहरु भने विशुद्ध रुपमा चारैतिर नेपाल भूमि छोएको हिमाल हुन् ।

विश्वका बाँकी ५ वटा ८ हजार मिटरभन्दा अग्लो हिम पर्वतहरु भने पाकिस्तान र चीनको सीमामा रहेको छ । ती हुन्, ८ हजार ३४ मिटर अग्लो गासेर ब्रुम–२, ८ हजार ६ सय ११ मिटर अग्लो के–टु, ८ हजार १ सय २५ मिटर नांगा पर्वत, ८ हजार ६८ मिटर अग्लो गासेर बु्रम–१, ८ हजार ५६ मिटर अग्लो ब्रोड पिक । माथि उल्लेखित हिम पर्वतहरु पर्वतारोहीहरुले चढ्दा लाग्ने शुल्क नेपालको दाँजोमा ज्यादै कम छ । त्यसैले नेपाल सरकारले पनि पर्वतारोहीहरुले कुनै पनि स–साना हिमालदेखि लिएर ठूला हिमालहरु चढ्दा लाग्ने शुल्क अर्थात् सलामी तस्तुर घटाउनेलगायत अन्य अफिसियल झन्झटहरु हटाउनेतर्फ सोच्नैपर्ने देखिन्छ ।

हुन त पर्वतारोहीहरुले हिमाल चढ्दा लाग्ने शुल्कको कुरो गर्दा नेपालको सुदूर पश्चिम क्षेत्रमा रहेका केही हिमालहरु नेपाल सरकारले विगत लामो समयदेखि निःशुल्क र केही हिमालहरु ५० प्रतिशतसम्म छुट दिएर हिम पर्वतारोहीहरुलाई प्रोत्साहित गरेको छ । तर, अचम्म के छ भने ती निःशुल्क चढ्न पाइने भनिएको केही हिमालहरु चढ्न पाऊँ ! भनी अनुमति लिनका लागि अहिलेसम्म कुनै विदेशी पर्वतारोही दल वा व्यक्तिले नेपाल सरकार, पर्यटन मन्त्रालय, पर्यटन विभाग, पर्वतारोहण शाखामा निवेदन हालेका छैनन् !

तापनि यो वर्षको वसन्त ऋतुमा सगरमाथा लगायत हिमालमा देखिएको पर्वतारोहीहरुको भीडले पनि नेपाली पर्वटनमा पर्वतारोहणको योगदान त्यसको महत्व बढ्दै गएको देखाउँछ । यो वर्षको वसन्त याममा मात्रै सगरमाथा, ल्होत्से, कञ्चनजंघा, मकालु, चो ओयु, अन्नपूर्ण लगायत २७ वटा विभिन्न हिम पर्वत आरोहण गर्न गएका ९८ वटा पर्वतारोही टोलीका ८ सय २० जना सदस्यबाट सलामी वापत मात्रै (लगभग ४९ करोड) ४८ करोड ७३ लाख ८ हजार १ सय १२ रुपैँया संकलन गर्यो । त्यसमध्मे सगरमाथा चढ्न गएका विभिन्न देशका ३ सय ५३ जना विदेशी र १३ जना नेपाली पर्वतारोहीबाट मात्रै ४३ करोड ६२ लाख ३० हजार ९ सय १२ रुपैँया संकलन गरेको छ ।

त्यसबाहेक आरोहण टोलीसँग जाने सरदार, गाइड, आइसफल डाक्टर, क्लाइम्बिङ शेर्पा, कुक, किचन, हेल्पर, याक, नाक र चौंरीगाई, भरिया आदिले पाउने ज्याला र स्थानीय होटल व्यवसायीहरुले कमाउने रकमको हिसाब अलग्गै छँदै छ । यसरी हेर्दा नेपालका हिम पर्वतहरु र पर्वतारोहण पर्यटन नेपाल सरकार, नेपालका पर्यटन व्यवसायी, पर्वतारोही टोलीसँग जाने सरदार, गाइड, आइसफल डाक्टर, क्लाइम्बिङ शेर्पा, कुक, किचन, हेल्पर, याक, नाक र चौँरीगाई, भरिया आदिका लागि कमाइको राम्रो स्रोत भएकोमा कसैको दुई मत नहोला ! 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com