समृद्धिका लागि साक्षरता र सशक्तीकरण

बाबुकाजी कार्की
साक्षरताले मानवको अन्तरनिहित प्रतिभा प्रष्फुटन गरेर सक्षमता ल्याउँदछ । सक्षमताले पौरखी हातहरूलाई परिमार्जित र परिस्कृत गरेर हरेक व्यक्तिको जीवनमा आमूल परिवर्तन ल्याउँदछ । उसमा सूचना र प्रविधिको जानकारी राख्ने क्षमतामा वृद्धि हुुन्छ । साक्षरताले आत्मबल र आत्मविश्वासमा बढोत्तरी भै एक सफल र सवल नागरिकका रूपमा जीवनयापन गर्न अहम भूमिका खेल्दछ । साथै साक्षरता आधुनिक जीवनको कुञ्जी हो । आर्थिक, सामाजिक, साँस्कृतिक रूपान्तरण गरी देश विकास गर्न साक्षरता प्रतिशत उच्च हुनु पहिलो शर्त हो ।

मानव विकास सूचाङ्कलाई उच्च राख्न आवश्यक शर्तहरू स्वास्थ्य शिक्षा, विद्यालय भर्नादर, मातृ शिशु मृत्युदर, पोषण आदिको आधारशीला पनि साक्षरता हो । अन्तर्राष्ट्रिय, राष्ट्रियस्तरमा प्रतिबद्ध सबै खाले विकासका लक्ष्य हासिल गर्न साक्षरता आधारभूत र अनिवार्य शर्त हो । त्यसकारण राज्यले आफ्ना नागरिकलाई यथाशक्य छिटो साक्षर बनाउन विभिन्न योजना, अभियान र कार्यक्रम ल्याउनुपर्ने हुन्छ । निरक्षरता र गरिबी एकअर्काको परिपूरक हुन् । सहज र सफल जीवन जिउन कम्तीमा साक्षरताको विकल्प छैन ।

विज्ञान र प्रविधिमा द्रुत गतिमा विकास र विस्तार भइराखेको वर्तमान एक्काइसौँ शताब्दीमा पनि विश्वमा ७५ करोड ९० लाख जनता निरक्षर पौढ छन् । जसमा करिब हरेक तीन निरक्षरमध्ये दुई जना महिला पर्छन् । नेपालको साक्षरता प्रतिशत ५३.७४ छ जसमध्ये पुरुष ६५.०८ र महिला ४२.४७ प्रतिशत साक्षर भएको वि.सं. २०५८ को जनगणनाले पुष्टि गरेको छ । महिला पुरुषबीचको साक्षरताको खाडल २२ प्रतिशत रहेको देखिन्छ । अशिक्षाका कारणले विपन्नता अन्धविश्वास, बेरोजगार, परालम्बी तथा कमजोर स्वास्थ्य आदि नकारात्मक प्रवृतिले महिलालाई बढी गाँजेको हुन्छ । जबसम्म महिला र पुरुषलाई शिक्षामा पहुँच उनीहरूको क्षमताका आधारमा सुनिश्चित गरिन्न तबसम्म विकासको गति तीव्र नहुने यथार्थता हो ।

त्यसमा पनि यो दूरी पिछडिएको जातजाति, दुर्गम तथा निर्धनहरूको बसोबास क्षेत्रमा अधिक छ । नेपाल गाउँ नै गाउँले भरिएको देश हो । यस्तो विसम परिस्थितिमा साक्षरतालाई सुगमतापूर्वक निरक्षरको पहुँचभित्र ल्याउन निश्चय नै ठूलै अठोट चाहिन्छ । महिला जनसङ्ख्या बढी भएको हाम्रो जस्तो देशलाई नयाँ नेपाल बनाउन महिला साक्षरतालाई विशेष महत्व दिएर सघन कार्यक्रम ल्याउनुपर्ने हुन्छ । आधा आकाश ढाकेका महिलाको सशक्तीकरण नगरिकन समृद्ध समाजको अपेक्षा गर्न सकिन्न ।

युनेस्कोले यस वर्षको अन्तर्राष्ट्रिय साक्षरता दिवस महिला र सशक्तीकरणका लागि साक्षरतामा केन्द्रित गरेको छ । सशक्तीकरण भन्नाले प्राप्त सूचनाहरूको सही जानकारी गरी निर्णय गर्ने क्षमताको विकास गर्नु हो । किनकि महिलाले समान अधिकार र अवसरको उपयोग जबसम्म गर्न पाउँदैनन् तबसम्म दिगो विकासको कल्पना पानीको फोकाजस्तै हुन्छ । भनिन्छ एकजना पुरुष शिक्षित भए आफूमा मात्रै सिमित हुन्छ तर एक जना महिला शिक्षित भए परिवार नै शिक्षित हुन्छन् । त्यसकारण महिला शिक्षित हुनु भनेको पारिवारिक सक्षमता आउनु हो, आयआर्जन बढेर आत्मनिर्भर बन्नु हो, इलममा बढोत्तरी गरी सम्पन्नतातिर लम्कनु हो । आफ्नो हक, अधिकार र कर्तव्यप्रति सजग र सचेत भई स्वाभिमानिपूर्वक जीवनयापन गर्न कम्तीमा साक्षरताको विकल्प छैन । नेपालमा पनि महिला साक्षर र सशक्तीकरणका कार्यक्रम ल्याउने धेरै निकाय र संघसंस्था छन् । जसमा अनौपचारिक शिक्षा केन्द्र सानोठिमीले अग्रणी भूमिका खेल्दै आएको छ ।

यस केन्द्रले महिला सशक्तीकरणका लागि विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । उदाहरणार्थः महिला साक्षरता प्रथम द्वितीय, आयआर्जन समूहमार्फत आफूले अंगालेका र सम्भाव्य पेशाहरूलाई परिस्कृत गरेर आत्मनिर्भर बनाई आफ्नो खुट्टामा उभिन सक्ने सक्षमता प्रदान गर्ने नीति लिएको छ । त्यसैगरी आयआर्जनमा वृद्धि गरी महिलाको जीवनस्तर उठाउन, आफ्ना कुराहरू निर्धक्कसँग राख्न अभ्यस्त बनाउन र संगठित भई हक र अधिकार सुनिश्चित गर्ने खालका कार्यक्रमहरू सामुदायिक अध्ययन केन्द्रमार्फत आयआर्जन समूह गठन गरी सञ्चालन गरेको छ ।

हाल यस्ता समूह दुई हजार पाँच सय ५० सञ्चालनमा छन् । त्यस्तै स्वास्थ्य र सरसफाइसम्बन्धी जनचेतना फैलाउने कार्यक्रमहरू पनि सञ्चालन गरेको छ । विगत दुई वर्षदेखि राष्ट्रव्यापी साक्षरता अभियान सञ्चालन गर्दे आएको छ । अभियानमा महिला सहभागितालाई प्रोत्साहित गरेको छ । साक्षरता कक्षा केन्द्र तोक्ने स्वयमसेवक एवं स्थानीय निरीक्षक नियुक्ति तथा व्यवस्थापनमा समेत महिला सहभागीको सुनिश्चित गरेको छ । फलस्वरूप महिला सहभागिता ८० प्रतिशतभन्दा बढी भएको प्रारम्भिक प्रतिवेदनले पुष्टि गरेको छ । आधारभूत साक्षरता सीप हासिल गरेपछि महिलाको निरन्तर शिक्षाका लागि अनौपचारिक प्रौढ विद्यालयहरू विकास र विस्तार हुने क्रममा छन् । जहाँ महिलाले एसएलसीम्म पढ्न पाउने अवसर पाउँछन् । त्यस्तै नौ सय ३१ सामुदायिक अध्ययन केन्द्रमार्फत पायक पर्ने ठाउँमा आयआर्जन समूह गठन गरी उत्पादन वृद्धि र प्राप्त आर्जनलाई सामूहिकरूपमा बचत गर्ने अभ्यास गराउँदै आएको छ ।

सामाजिक रूपान्तरण गरेर समृद्ध नयाँ नेपाल बनाउने सपनालाई यथार्थतामा बदल्न आधा आकाश ओगटेका महिलाहरूको सशक्तीकरणको विकल्प छैन । साक्षरता सशक्तीकरणको पहिलो खुड्किलो हो । यसै वास्तविकतालाई आत्मसात गरेर अनौपचारिक शिक्षा केन्द्रले महिलालाई विशेष ध्यान दिएर कार्यक्रम सञ्चालन गर्दे आएको छ । साक्षरता अभियानका स्वयंसेवक, स्थानीय निरीक्षक तथा पढ्न आउने निरक्षरसमेतमा महिलालाई प्राथमिकता दिनुपर्ने प्रावधान राखेको छ । जसको कारण महिला साक्षरतामा उल्लेख्य वृद्धि भएको छ । मातृ तथा बाल मृत्युदर घटेको छ । राज्यका विभिन्न निकाय र कार्यक्रममा महिलाको पहँच क्रमिकरूपमा बढेको छ ।

साक्षरत शिक्षित एवं सचेत महिला आमा भएको परिवारको वालवालिकाको पढाइको स्तर स्वभावैले बढ्न जान्छ । उल्लिखित कार्यक्रमहरू निश्चय नै हात्तीको मुखमा जिरा भएको छ । कार्यक्रमको सफलताको लागि पर्याप्त साधन स्रोतको तर्जुमा, प्रभावकारी कार्यान्वयन एवम् सेवाग्राहीको अनुगमन निरीक्षण कार्य प्रगतिको आधारमा पुरस्कारको र दण्डको व्यवस्था गर्ने कार्यमा सबैको साथ सहयोग भएमा निश्चय नै हामी आफ्नो लक्ष्यमा पुग्न सक्छौँ । त्यसकारण महिला साक्षरतालाई प्रत्येक नेपालीले घर घरबाट सुरु गरेर पारिवारिक साक्षरतालाई प्रोत्साहित गर्नुपर्दछ । अरुले के ग-यो भन्दा पनि मैले के गरेँ भन्ने कुराले महत्व राख्दछ । त्यसकारण यो संसारलाई बदल्नु छ भने आफैबाट सुरु गरौँ । यही वास्तविक्तालाई मध्यनजरमा राखेर भविष्यमा पनि महिला सशक्तीकरणलाई प्रवर्द्धन गर्ने खालका कार्यक्रमलाई प्रोत्साहित गर्नु भनेको समृद्ध नयाँ नेपाल बनाउन होस्टेमा हैँसे गर्नु हो भन्दा अन्यथा नहोला ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com