यार्सागुम्बाको मूल्य प्रतिकिलो १० लाखले घट्यो

आशिषबहादुर सिंह
बझाङ, साउन २९
यार्सागुम्बाको मूल्य घटेपछि बझाङका स्थानीय बासिन्दाले संकलन गरेको यार्सागुम्बा बेच्न पाएका छैनन् । गएको वर्षको तुलनामा यस वर्ष यार्सागुम्बाको मूल्यमा निकै कमी आएपछि यार्सागुम्बा संकलकहरूले यार्सागुम्बा बिक्री गर्न आनाकानी गरेका छन् । गतवर्ष बिक्री गरेको यार्सागुम्बाको पैसा अहिलेसम्म पनि नपाएका संकलकहरू यार्सागुम्बाको मूल्य घटेको खबरले झन् चिन्तित बनेका छन् । ठूला व्यापारीहरूले गएको वर्षभन्दा प्रतिकिलो १० लाख मूल्य घटाएर यार्सागुम्बाको भाउ कायम गरेपछि उनीहरू चिन्तामा परेका हुन् । गएको वर्ष प्रतिकिलो १७ लाख २० हजार रूपैयाँमा जिल्लामा बिक्री भएको यार्सागुम्बाको मूल्य यस वर्ष प्रतिकिलो सात लाख रूपैयाँ मात्र कायम गरेका कारण धेरैजसो संकलकहरूले यार्सागुम्बा बिक्री गर्न मानेका छैनन् ।

अप्रत्याशित ढंगले यार्सागुम्बाको मूल्यमा आएको गिरावटले तीन महिनासम्म जोखिम मोल्दै उच्च हिमाली क्षेत्रमा गएर यार्सा संकलन गरेका उनीहरू झस्किएका छन् । गएको वर्ष व्यापारीहरू यार्सागुम्बा लिन जिल्लामै पुग्नेगरेको तर यस वर्ष भने व्यापारीहरू नै नआएको जयपृथ्वी नगरपालिका वडा नं. एकका रमेश सिंहले बताए । त्यस्तै सुर्मा गाँउपालिका दौलिचौरका गोरखबहादुर बोहराले भनेः ‘गएको वर्ष संकलन गरेर बिक्री गरेको तीन किलो यार्सागुम्बाको रकम मैले अहिलेसम्म पाएको छैन ।

यस वर्षको यार्सागुम्बा कहिले बिक्री हुने हो भनेर संकलकहरू चिन्तित बनेका छन् ।’ यार्सागुम्बाको मुख्य बजार मानिने चीनबाट माग कम भएका कारण मूल्यमा गिरावट आएको ठूला व्यापारीहरूले बताएका छन् । ‘अघिल्लो सालको सामान पनि बिक्री नभएर काठमाडौंमा थन्किएको छ ।’ बझाङबाट प्रतिवर्ष एक सय किलो बढी यार्सागुम्बा चीन निर्यात गरिरहेका व्यापारी फुन्चोक लामाले भने, ‘मूल्य घट्नुका पछाडि धेरै कारण छन् । मुख्य कारण भनेको अमेरिका–चीन व्यापारयुद्ध हो ।’ यार्सागुम्बाबाट निर्मित विभिन्न औषधि तथा खाद्य पदार्थहरू अमेरिका निर्यात हुनेगरेको र अमेरिकाले चीनमा निर्मित सामग्रीमा करवृद्धि गरेका कारण यार्सागुम्बामा असर पुगेको उनले बताए । यद्यपि यार्सागुम्बा संकलकहरू भने यार्सागुम्बाको मूल्य बढ्नेमा आशावादी रहेको र दुई तीन महिना पर्खने बताएका छन् ।

अघिल्लो वर्षकै २८ करोड रूपैयाँ यार्सागुम्बा संकलकले लिन बाँकी :- गएको वर्ष बेचेको यार्सागुम्बाको रकम अहिलेसम्म पनि नपाउँदा यार्सागुम्बा संकलकहरू आर्थिक संकटको सामना गरिरहेका छन् । यार्सागुम्बा बेचेको रकम नपाउँदा पैसाको अभाव भएको र खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्रीहरूको जोहो गर्नसमेत समस्या हुन थालेको उनीहरूको गुनासो छ । बझाङको हिमाली भेगमा पर्ने दुर्गम सुर्मा र साइपाल गाउँपालिकाका बासिन्दाहरू पूर्णरूपमा यार्सागुम्बाको कमाइमा निर्भर छन् । वर्षमा एक बाली मात्र खेती हुनेगरेका कारण यहाँका बासिन्दाहरू समयमै यार्सागुम्बाको रकम नपाउँदा स्वास्थ्य उपचार गर्न, विवाह, व्रतबन्धजस्ता काम गर्न पनि समस्या भैरहेको उनीहरू बताउँछन् ।

त्यस्तै मस्टा, तल्कोट, दुर्गाथली र छविस पाथिभेरा गाउँपालिका तथा बुंगल जयपृथ्वी नगरपालिकाको माथिल्लो भेगमा बस्ने संकलकहरू पनि यार्सागुम्बाको रकम नपाएका कारण समस्या भएको बताउँछन् । गएको साउनको पहिलो हप्ता यहाँका व्यापारीहरूले प्रतिकिलो १७ लाख २० हजारका दरले संकलकहरूबाट उधारोमा यार्सागुम्बा किनेका थिए । जिल्लाभरिका झन्डै २० हजार संकलकहरूबाट स्थानीय व्यापारीले तीन सय किलोभन्दा बढी यार्सागुम्बा उधारोमा लिएको भए पनि अहिलेसम्म रकम दिएका छैनन् ।

व्यापारीहरूले जिल्लाभरिका यार्सा संकलकबाट ५२ करोडभन्दा बढी मूल्यको यार्सागुम्बा उधारोमा किनेको व्यापारी शेरबहादुर बोहराले बताए । बझाङका स्थानीय व्यापारीहरूले संकलकहरूबाट किनेको यार्सागुम्बा काठमाडाँै लगेर चिनियाँ व्यापारीहरूलाई बेच्ने गर्दछन् । जिल्लामा आफूहरूले तिरेको मूल्यमा चिनियाँ व्यापारीहरूले किन्न नमानेपछि हालसम्म पनि यार्सागुम्बा बिक्री नभएको र संकलकहरूको रकम तिर्न नसकिएको व्यापारीहरूको भनाइ छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com