अनुत्पादक क्षेत्रमा बिजुली खपतको योजना

खाना पकाउन र गाडी खरिद गर्न आह्वान

काठमाडौं, साउन २९
देशमा उद्योग खोल्न नसकेपछि नेपाल विद्युत् प्राधिकरणले खाना पकाउने चुलो र विद्युतीय गाडीमा चार्ज गरेर बिजुली खपत गराउने योजना अगाडि सारेको छ । यी दुई योजनाले देशको आन्तरिक उत्पादन, निर्यात प्रवद्र्धन तथा आर्थिक वृद्धिदर बढाउन भने खासै योगदान गर्नेछैन । ‘बिजुली उत्पादन बढ्दो छ । आन्तरिक रुपमा बिजुली खपत बढाउन खाना पकाउने विद्युतीय चुलो प्रयोग गर्न र विद्युत्बाट चल्ने गाडी खरिद गर्न प्राथमिकता दिन आग्रह गर्दछु’, सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुनले भने, ‘बिजुली विदेश निर्यातको प्रयास पनि जारी छ । तर, तत्काल आन्तरिक खपत बढाउन खाना पकाउने चुलो र विद्युत्बाट चल्ने गाडी किन्नुपर्छ । विद्युतीय गाडी धेरै आएमा सरकारले देशभर चार्जर स्टेसन बनाउनेछ ।’

विद्युत्बाट खाना पकाउने काम गर्दा ग्यास आयातमा सामान्य गिरावट आए पनि त्यसले देशको अर्थतन्त्रमा ठूलो योगदान दिन सक्तैन । त्यस्तै, डिजेल र पेट्रोलबाट चल्ने गाडी थन्क्याएर बिजुली गाडी किन्ने आर्थिक हैसियत नेपालीमा छैन । ‘उद्योग र कलकारखानामा बिजुली खपत गर्न नसकेसम्म त्यसले उत्पादन दिँदैन’, नेपाल विद्युत् प्राधिकरणका एक अधिकारीले आर्थिक दैनिकसित भने, ‘उद्योगमा बिजुली खपत गर्न सकेमा आयात रोकिने मात्र होइन, निर्यात पनि बढाउन सकिन्छ । खाना पकाउन चुलोमा बिजुली खपत गर्नु र गाडी किन्न लगाउनु भनेको बिजुली खपतका वैकल्पिक उपाय मात्र हुन् ।’

प्राधिकरणले प्रसारणलाइन बनाउन नसेकको कारण नेपालगञ्ज, पूर्वी नवलपरासीलगायतका क्षेत्रका उद्योगलाई नै मागेजति बिजुली दिनसकेको छैन भने नयाँ खुल्ने उद्योगलाई बिजुली दिने कुरा सपनाजस्तै छ । यस्तै, सोही पत्रकार सम्मेलनमा ऊर्जामन्त्री पुनले आफूले तत्काल प्राधिकरणको अध्यक्ष छाड्ने सम्भावना नभएको बताए । ‘प्राधिकरणको अध्यक्ष ऊर्जामन्त्री, राज्यमन्त्री वा सरकारले तोकेको विशिष्ट श्रेणीको कर्मचारी रहने अन्तरिम व्यवस्था छ’, मन्त्री पुनले भने, ‘मैले अध्यक्ष छाड्ने/नछाड्ने बारेमा प्रधानमन्त्रीसँग सल्लाह गरेर मात्र हुन्छ ।’ प्राधिकरणको अध्यक्ष जो बनाए पनि मन्त्रीको कुराको प्रतिनिधित्व गर्ने हो भन्दै आफैंले अझै नेतृत्व गर्ने उनले बताए ।

यसैबीच, प्राधिकरण गत आर्थिक वर्ष (आव) २०७५/०७६ मा ७ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्ष ०७४/०७५ मा २ अर्ब ९० करोड रुपैयाँ खुद नाफा कमाएको प्राधिकरणले यसलाई ४ अर्ब ३० करोड अर्थात् १ सय ४९ प्रतिशतले बढाएर ७ अर्ब २० करोड रुपैयाँ पु-याएको हो । विद्युत् चुहावट नियन्त्रण, प्रशासनिक र वित्तीय सुधारका लागि चालिएका कदमबाट प्राधिकरण गत आवमा पनि खुद नाफा कमाउन सफल भएको हो । आव ०७२/०७३ मा ८ अर्ब ८९ करोड घाटामा रहेको प्राधिकरण तीन वर्षदेखि निरन्तर खुद नाफा कमाउँदै आएको छ ।

विद्युत चुहावट १५.३२ प्रतिशतमा झ-यो :- गत आर्थिक वर्षमा विद्युत चुहावटलाई १५.३२ प्रतिशतमा झार्न प्राधिकरण सफल भएको छ । आब ०७४/०७५ मा २०.४५ प्रतिशत रहेको चुहावटलाई गत आवमा ५.१३ प्रतिशत विन्दुलाई घटाएर १५.३२ प्रतिशतमा झारिएको हो । ०७२/०७३ मा कुल चुहावट २५.७८ प्रतिशत रहेकोमा तीन वर्षभित्र १०.४६ प्रतिशतले कामी आएको हो । प्राधिकरणले चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने, महसुल बक्यौता असुलीमा कडाइ गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सबस्टेसनको सुदृढीकरणलगायतका काम अभियानकै रुपमा चलाइरहेको छ । 

 

प्राधिकरणले गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने, महसुल बक्यौता असुलीमा कडाइ गर्ने, मिटर बाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारबाही गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गर्ने लगायतका काम अभियानकै रुपमा चलाइरहेको छ ।

मिटर लिन प्रोत्साहित गर्न सुकुम्वासीलाई पनि मिटर सहज रुपमा दिने, स्थानीय तहको सिफारिसविना नै मिटर जडान गर्ने, अति विपन्नहरुलाई निःशुल्क मिटर वितरण गरिरहेको छ । गत आवसम्ममा ग्रिडमा आबद्ध भई विद्युत् उपभोग गर्ने जनसंख्या करिब ७८ प्रतिशत अर्थात् ४५ लाख पुगेको छ । यो आव ०७४/०७५ को तुलनामा करिब १० प्रतिशतले वृद्धि हो ।

गत आवमा ७ अर्ब ५५ करोड युनिट ऊर्जा प्रणालीमा उपलब्ध भएको थियो । प्राधिकरणको उत्पादन करिब २ अर्ब ५५ करोड, निजी ऊर्जा उत्पादकहरुको २ अर्ब १९ करोड र भारतबाट २ अर्ब ८१ करोड युनिट आयात गरिएको थियो । प्रणालीमा प्राधिकरणको ३४, निजी क्षेत्रको २९ र आयातको ३७ हिस्सा प्रतिशत रहेको छ । भारततर्फ विद्युत् निर्यात ३ करोड ४७ लाख युनिट रहेको छ । निजी क्षेत्रको विद्युत् किन्नका लागि १४ अर्ब १३ करोड र आयाततर्फ २३ अर्ब ३ करोड रुपैयाँ खर्च भएको छ । ३२ करोड रुपैयाँको विद्युत् निर्यात भएको छ ।

गत आवमा ७५७ सर्किट किलोमिटर प्रसारणलाइन निर्माण सम्पन्न भएको छ । त्यसमध्ये ६०६ सर्किट किलोमिटर सञ्चालनमा (चार्ज) आएको छ । ३३ केभी र सोभन्दा मुनिका करिब नौ हजार सात सय २२ सर्किट किमि वितरण लाइन निर्माण सम्पन्न भई चार्ज भएका छन् । प्रसारण तथा वितरण गरी ४० सबस्टेसन नयाँ विस्तार एवं स्तरोन्नति गरिएको छ । करिब ९ सय २० एमभीए क्षमता थप भएको छ । ६ हजार ५ सय ८१ वितरण ट्रान्सफर्मर थप गरिएको छ ।

लामो समयदेखि निर्माण सम्पन्न नभएर रुग्ण बनेका ६० मेगावाटको माथिल्लो त्रिशूली ‘थ्री ए’ र काबेली करिडोर प्रसारणलाइनसहित तीन आयोजना, वितरणतर्फ ३४ गरी ३८ आयोजना सम्पन्न भएका छन् । १३ आयोजनाको ठेक्का सम्झौता रद्द गरी पुनः ठेक्का प्रक्रिया सुरु गरिएको छ । देशभर रहेका थ्री फेज मिटर तथा टीओडी मिटरहरुलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्ने कार्यको थालनी भएको भएको छ । काठमाडौंबाट सिंगल फेज मिटरलाई स्मार्ट सिंगल फेज मिटरले प्रतिस्थापन गर्न प्रारम्भिक कार्य सुरु भइसकेको छ । काठमाडौं उपत्यकालाई ताररहित बनाउने अभियानअन्तर्गत भूमिगत तार बिछ्याउन ठेकेदार छनौट भई प्रारम्भिक तयारी पूरा भइसकेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

लगानीकर्तालाई उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउँछौं

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्ट भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीति सुरु गरे । तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरु नेपाली युवाहरूले भोग्ननपरोस भनेर संघर्षमा लागेका...

त्रिलोचन भट्ट मुख्यमन्त्री – सुदूरपश्चिम प्रदेश
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com